जननायक बीपी कोइराला स्मृति प्रतिष्ठानबाट 'बीपी साहित्य सम्मान'ले सम्मानित भएपछि मनमा अनेक कुरा खेले। मेरो के थियो त्यस्तो योगदान? न त बीपी कोइरालासँग नै नजिकको चिनजान? किन होला...जस्ता प्रश्न मनमा खेलिरहे।
केटाकेटी छँदा गाउँका बूढापाकाहरूले भन्दथे, 'विश्वेश्वर भन्ने त अहिले यहाँ हुन्छ अरे, एकछिनमा अर्कै ठाउँमा देखापर्छ रे।'
श्री ३ सरकारले जति खोजे पनि पक्रन सक्दैन रे। छलिहाल्छ रे। यो दन्त्यकथा जस्तो मिथक सात सालअघि हाम्रा गाउँघरमा चर्चित थियो। सात सालको जनक्रान्तिले राणाशाही पनि ढल्यो। प्रजातान्त्रिक नेपालको उदय भयो।
जनमत संग्रहताका पाँचथरबाट बर्खामासमा एक हुल युवा उहाँलाई भेट्न झरेका थियौं। त्यस अवसरमा कोइराला निवासमा ३/४ मिनेटको एक्लो भेटमा मेरो परिचयसम्म दिएको छु। नजिकबाट देखेको झापाको विर्तामोडमा उहाँको राजनीतिक भ्रमणको सिलसिलामा हो र अन्य अवसरमा त टाढाबाट देखेको मात्रै।
त्यसपछि नजिकबाट देखेको उहाँको देहान्त भएपछि चाबहिलको निवासमा श्रद्धाञ्जली अर्पण पुग्दा र आर्यघाटमा अन्तिम दाह संस्कारका बखत।
२००८ सालतिर गृहमन्त्रीका हैसियतमा इलाम आउनु भएका केटाकेटीका नजरले मिथक भइसकेका बीपी कोइरालालाई परबाट देखेको थिएँ।
सो अवसरमा भरलिम्बूवानका लिम्बू सुब्बाहरूलाई इलाममा बोलाएर उहाँले भेट र छलफल गर्नुभएको थियो।
इलाम गौंडाको पटाङ्गिनीमा लिम्बू सुब्बाहरूसँग त्यतिबेला खिचेको सामूहिक तस्बिर मेरो माइला ठूलाबुवाको सिकुवामा टाँगिएको हुन्थ्यो।
सात सालको जनक्रान्तिमा मेरा बुवाले मुक्तिसेनालाई दिएका टोटाबाल बन्दुक, राइफल र पेस्तोल आदि हतियार इलाममा फिर्ता गर्दा बीपी कोइराला स्वयंमले धन्यवाद दिएर लेखेको पत्र मेरो घरमा पछिसम्म थियो।
बीपी कोइराला लिखित 'दोषीचश्मा' कथासंग्रह नेपाली साहित्य सम्मेलन, दार्जिलिङबाट प्रकाशन गर्न महत्वपूर्ण भूमिका खेल्ने श्रद्धेय सूर्यविक्रम ज्ञवाली म पढ्न पुगेको दार्जिलिङ सरकारी हाइस्कुलका प्रधानाध्यापक हुनुहुन्थ्यो।
नेपाली भाषा प्रकाशन समिति, नेपालले छापेको गद्यसंग्रहमा संकलित बीपी कोइरालाको दोषीचश्मा सिनियर (नौ र दश) कक्षाका विद्यार्थीहरूले पढ्नुपर्दथ्यो। यसरी उहाँहरूबाट बीपी कोइरालाको साहित्यप्रति चासो र रुची बढ्न थालेपछि विभिन्न साहित्यिक गोष्ठीमा भाग लिने र रचना पाठ गर्ने काम बढ्दै गयो।
तर हामी, त्यसबेलाको प्रचलित स्वच्छन्दवादी धार, शैली र शिल्पभन्दा माथि जान सकेका थिएनौं।
वि.स. २०१५ (सन् १९५८) सालको आमनिर्वाचनका प्रचार र प्रसारका लागि बीपी कोइराला पूर्वी नेपालको इलाम तथा पाँचथर जिल्ला जाने क्रममा दार्जिलिङ आइपुग्नु भयो।
उक्त अवसरमा दार्जिलिङका प्रबुद्ध व्यक्तिहरू, समाजसेवी तथा बुद्धिजीवीहरू, साहित्यकार र कलाकर्मीहरूले उहाँको स्वागत सम्मानमा यौटा भव्य कार्यक्रमको आयोजना गरेको थियो।
गोर्खा दु:ख निवारण भवनको सभाकक्षमा। हामी धेरै विद्यार्थीहरू पनि उपस्थित थियौं।
मन्तव्य राख्दा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आइरहेको परिवर्तनले कला र साहित्यमा पारेका प्रभाव, विचार र प्रवृत्तिहरूको चर्चा गर्नु भयो।
त्यही क्रममा उहाँले अल्बेयर क्यामुको नोबेल पुरस्कारले पुरस्कृत उपन्यास प्लेग र त्यसपछि स्ट्रान्जर उपन्यासको विशेषता उल्लेख गर्नु भएको सम्झना छ।
दोस्रो विश्वयुद्धपछि चर्चाको शिखरमा पुगेको अस्तित्ववाद बारेमा पहिलोपटक त्यहीँ सुनेँ मैलै।
अस्तित्ववादको चर्चा गर्दा बीपीले क्यामुको विसंगतिवादको विशद् चर्चा गर्नुभएको थियो।
राजनीतिक व्यक्तित्व बीपी कोइरालालाई विशेषत: साहित्यकारका रूपमा प्रस्तुत गरिएको उक्त सभामा उहाँले भनेका दुई कुरा मेरा मानसपटलमा अझै ताजै छन्।
अल्बेयर क्यामुको प्रसंग उल्लेख गर्दै साहित्य लेखन गर्दाका क्षण आफू त राजनीतिक व्यक्ति हुँ र साहित्यकार त होइन म .. को महशुस हुने र राजनीतिक दायित्व निर्वाह गरिरहेका क्षणमा आफू राजनीतिक नभएर साहित्यिक व्यक्ति हुँ भन्ने महशुस भइरहने विसंगत स्थिति र अजनविपनको अनुभव भइरहने बताउनुभयो।
त्यस सभामा बीपीले यसरी व्यक्त गर्नुभएको यौटा व्यक्तिभित्रको निरन्तरको अजनभी वा परदेशीपनको विसंगतिपूर्ण बोधको प्रभाव नै म लगायतका कतिपयको साहित्य लेखनमा लाग्नेका लागि टर्निङ पोइन्ट थियो।
मन्तव्यका क्रममा राजनीतिक सिद्धान्त र साहित्यिक आस्थाका प्रसंगमा उहाँले त्यस सभामा भन्नु भयो 'राजनीतिमा म प्रजातन्त्रवादी हुँ, अर्थनीतिमा मार्क्सवादी हुँ र साहित्यमा अराजकतावादी हुँ।'
नेपाली साहित्यमा धेरै प्रचलित उहाँको यो उद्गार सायद त्यही सभामा पहिलोचोटि व्यक्त भएको थियो।
एउटै व्यक्तिमान्छे भित्र कत्रो विरोधाभाष?
ठिटा उमेरका हाम्रो मात्र नभएर वयस्क र प्रौढूरुका मथिङ्गलसमेत घुमाइ दिने विचारत्तेजक अभिव्यक्ति थियो, बीपीको त्यो भनाइ।
बीपी कोइरालाको विचारले पछिसम्म नै खल्बलिएका हामीले निकै वर्षपछि निकालेको 'तेस्रो आयाम' पत्रिका (वि.स.२०२०) साहित्य सृजनका लागि निर्माण गरेको दार्शनिक धरातल 'अबको साहित्यले सम्पूर्णतालाई उचाल्नु पर्छ। सम्पूर्णता हराएको हाम्रो सम्पद् हो। सम्पूर्णता लेखौं' मा हाम्रा अवचेतनमा बीपी कोइरालाको साहित्यमा अराजकतावादी हुँ भन्ने विचारको आंशिक प्रतिबिम्ब थियो कि? भन्ने पनि लाग्दछ।
साहित्यकार, चिन्तक, राजनेता बीपी कोइराला नयाँलाई सदा स्वागत र अंकमाल गर्ने गुण भएका खुला व्यक्ति हुनुहुन्थ्यो।
साहित्यमा यौनको मनोविश्लेषणात्मक एप्रोचको शालिन प्रयोग गरेझैं राजनीतिमा नेपालका लागि प्रजातान्त्रिक समाजवाद उहाँकै नयाँ सोच थियो।
प्रजातन्त्र र समाजवाद जुस्ता सिद्धान्तमा अडिग रहे पनि राष्ट्रको सम्प्रभुता अटल रहोस् भन्ने राजनीतिक नेता हुनुहुन्थ्यो। उहाँको यौटा चर्चित अन्तर्वार्ता छ, भोला च्याटर्जीले लिएको। त्यसमा देश र प्रजातन्त्रमा यौटा रोज्नु परेमा के रोज्ने? प्रश्नका उत्तरमा बीपी कोइरालाको सहज उत्तर - 'देश रोज्छु' प्रख्यात छ।
प्रजातन्त्र नभएका देश धेरै छन् र देश बिनाको प्रजातन्त्र कल्पनामात्र हो। तत्कालीन सम्प्रभु सिक्किम राष्ट्रलाई इन्दिरा गान्धीले भारतमा विलय गराएपछि, फाँसीसम्म हुनसक्ने जान्दाजान्दै,मेलमिलापको नीति अंगीकार गरेर निर्वासित साथीहरूसहित भारतबाट देश(राष्ट्र)लाई प्राथमिकतामा राखेर बीपी कोइराला स्वदेश फर्केका थिए।
निरंकुश शासनका विरोधी, प्रजातन्त्रका मसिहा, सदा पीडितका पक्षमा उभिने, तरुणहरूमाथि अगाध विश्वास राख्ने, सामाजिक तथा धार्मिक रूढीगत मूल्यमान्यताका विपक्षमा उभिने सच्चा क्रान्तिकारी र मानवतावादी बीपी कोइरालाको नेपाली साहित्यमा अतुलनीय योगदान छ।
दक्षिण एसियाली क्षेत्रीय राजनीतिमा मात्र नभएर दोस्रो विश्वयुद्धपछिको कालखण्डमा अन्तर्राष्ट्रिय जगतमा समाजवादी क्रान्तिका अभियान्ता र राजनेताका रूपमा बीपीलाई सम्मानित स्थान प्राप्त छ।
राजनीतिमा प्रजातन्त्र र राष्ट्रका लागि जत्रो पनि जोखिम मोल्न सक्ने बीपी कोइरालाका साहित्यसम्बन्धी पनि अनेक विचारत्तेजक मान्यताहरू छन्।
स्रष्टा बीपी कोइरालाका कला अथवा साहित्यलाई राज्यले सुरक्षा दिने होइन, स्वतन्त्रता दिनुपर्दछ भन्ने मान्यताका पृष्ठपोषक हुनुहुन्थ्यो। स्रष्टाले स्वतन्त्र भएर सृजना गर्ने वातावरण पाउनु पर्दछ तर राज्यको ऐन नियम तथा रूढीगत प्रचलनमा हातकलम बाँधिएर होइन।
कला र साहित्यमा स्रष्टाको अनुभूति वा चेतनालाई निर्भयतासँग अभिव्यक्त हुन अवसर नदिएमा त्यस्ता कला वा साहित्य पनि शक्ति (राज्य)को आराधनामा गरिने भजनकीर्तन हुन्छ।
स्रष्टा र साहित्य एवं कलाको सम्प्रभुताका पक्षधर र प्रखर प्रवक्ता बीपी कोइराला हुनुहुन्थ्यो। लामो जेलजीवनमा उहाँले आफूलाई साहित्यमा सृजनशील राख्नु भएर बहुमूल्य साहित्यिक कृतिहरू नेपाली साहित्यलाई उपहार दिनुभएको छ।
महत्वाकांक्षाले युद्ध र विध्वंश निम्त्याएका अनेक अदाहरण इतिहास र विश्वसाहित्यमा पाइन्छ। त्यसैले, राजनीति, इतिहास, दर्शन, अध्यात्म, विज्ञान र भौतिकता बुझेका बीपीले ठूलो हुनु(महत्वाकांक्षी) भन्दा असल हुनु भनेर सबैलाई सुझाउनु भयो।
राजनेता, जननायक र विशिष्ट साहित्यसाधक बीपी कोइरालाको स्मृतिमा स्थापित बीपी साहित्य सम्मानका लागि योग्य ठानिनु मेरो जीवनमा सुखद् घटना हो।
(बीपी कोइराला मेमोरियल ट्रष्टले प्रदान गर्ने यसवर्षको 'बीपी साहित्य सम्मान' बैरागी काइँलाले पाएका छन्। उक्त सम्मान लिने बेला ट्रष्टले आयोजना गरेको कार्यक्रममा उनले गरेको भाषण)