सम्माननीय प्रधानमन्त्रीज्यू,
नमस्कार।
तपाईंको सु-स्वास्थ्यको कामना।
मेरो नाम प्रकाश चन्द। म अहिले चितवन मेडिकल कलेजमा एमबिबिएस इन्टर्नसिप गर्दैछु। वैचारिक हिसाबले म पनि एक सच्चा कम्युनिष्ट सेवक हुँ।
पारिवारिक हिसाबले म प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को छोरा हुँ।
विभिन्न सञ्चारमाध्यममार्फत् तपाईंको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको हुन्छु। तपाईंका अभिव्यक्ति पनि सुन्छु। म आफैं स्वास्थ्य क्षेत्रमा भएकाले पनि होला तपाईंको स्वास्थ्य अवस्थाबारे अलि बढी नै चासो दिन्छु।
तपाईंको स्वास्थसँगै मुलुकमा स्वास्थ्य सेवाको स्थितिप्रति पनि हामी चिन्तित छौं। मुलुकमा स्वास्थ सेवाको स्थिति भयावह र बिकराल नै छ। त्यस्तै समस्याग्रस्त छ, चिकित्सा शिक्षा।
विद्यार्थीहरूले भोगिरहेको यही चिकित्सा शिक्षाको समस्यालाई लिएर सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंलाई यो पत्र लेख्दैछु।
यो संवेदनशील विषयमा तपाईंलाई पुरै जानकारी नहुन सक्छ। तपाईंलाई यो विषयको सही जानकारी नगराइएको पनि हुन सक्छ। विषयवस्तु तोडमोड गरिएको पनि हुन सक्छ। किनभने, मेडिकल शिक्षा क्षेत्रका माफिया धेरै बलिया छन्। सही मुद्दालाई गुमराहमा पार्ने क्षमता उनीहरू राख्छन्। सत्तामा भएका मानिसहरूसँगको मिलिभगतमै उनीहरूले यस्तो गरिदिन्छन्।
मैले ‘माफिया’ भनेको के हो सुनेको थिएँ। थाहा भने थिएन। चितवन मेडिकल कलेजलगायत देशैभरिका निजी मेडिकल कलेजहरूमा विद्यार्थीमाथि चरम शोषण हुन थालेपछि मैले ‘माफिया’ भनेको के रै’छ भनेर खोजें। हामीमाथि दमन भएपछि पनि खोजें।
माफिया इटलीबाट उत्पत्ति भएको शब्द रैछ। माफियाको प्रभाव सडकदेखि सत्तासम्म हुँदो रहेछ। उनीहरूको पहुँच कर्मचारी, प्रशासन, प्रहरी, राजनीतिज्ञ सबैसम्म हुँदो रहेछ। सत्ता पनि उपयोग गरेर उनीहरू आफ्नो स्वार्थ पूरा गर्दा रहेछन्। उनीहरूविरूद्धका आवाज दबाउँदा रहेछन्।
प्रधानमन्त्रीज्यू, नेपालको मेडिकल माफिया पनि त्यस्तै छ। उसको पनि पहुँच व्यापक छ।
उनीहरूविरूद्ध हाम्रो संघर्ष आज महिना दिन नाघ्यो। पठनपाठन नै रोकिएको दुई साताभन्दा बढी भइसक्यो। दिनहुँजसो विरोध सभा चलेको छ। प्रहरी प्रशासनले हामीलाई न्याय दिनुको सट्टा उल्टो दमन गरेको छ। यो अवधिमा हामीलाई धेरै पटक प्रहरीले लाठी हाने। लगेर थुने। धेरै धम्की आयो।
अझै विडम्बना नै भनौं प्रधानमन्त्रीज्यू, समाजवाद उन्मुख सरकारको प्रधानमन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, डिनको कार्यालय चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षाको संसदीय समितिको वरपर लहरै बसेर मेडिकल माफियाले विद्यार्थीको आवाज दबाइरहेका छन्।
हामी हाम्रो कुराभन्दा जाँदा सरोकारवाला निकाय किन माफियाको खल्तीमा लुकेझैं गर्छन्? किन हाम्रो कुरा सुन्दैनन्। आमनागरिकले तिरेको करको पैसाले चलेको न्यायालय, प्रशासन र सरकारी निकायलाई उनीहरूले पनि ठूलो वैकल्पिक बजेट छुट्याउँछन् कि के हो, हाम्रो कुरै सुन्दैनन्। हामीलाई न्याय दिँदैनन्। हामी विद्यार्थीले त अन्याय भयो भन्ने ठाँउ पनि पाएनौं।
प्रधानमन्त्रीज्यू, तपाईंकै मन्त्रिपरिषदले एमबिबिएस, नर्सिङ पढ्ने विद्यार्थीले मेडिकल कलेजलाई कति शुल्क तिर्ने भनेर अंक तोकेको छ। विद्यार्थी भर्ना हुन कलेज पुग्दा सरकारले तोकेको शुल्कले हुँदैन, तिमीहरू थप पैसातिर भन्छन्।
‘तिमीहरूले नतिरे अर्काले तिर्छ, सिट सीमित छ,’ भन्छन्।
विद्यार्थी र अभिभावकलाई चेपुवामा पारेर अतिरिक्त शुल्क तिराउँछन्।
यसरी एमबिबिएस पढ्ने एकजना विद्यार्थीबाट १२ लाख रुपैयाँ ठगिएको छ। १०० जना विद्यार्थी भर्ना हुँदा वर्षेनी १२ करोड भयो। यो एक किसिमको डकैती नै हो। किनभने यो प्रहरी, प्रशासन, न्यायालय र सरोकारवाला निकायको अगाडि हाकाहाकी गरिएको छ। कुनै डर र निसंकोच गरिएको छ।
गण्डकी मेडिकल कलेजमा हाम्रा विद्यार्थी साथीहरूले झन्डै दुई महिना आन्दोलन गरेपछि शिक्षा मन्त्रालयले मेडिकल कलेजहरूले लिएको शुल्क फिर्ता गर्न लिखित निर्देशन दियो। त्यो निर्देशन दिएको आज छ महिनाभन्दा बढी भयो। कार्यान्वयन भएको छैन। मेडिकल माफियाहरू त शिक्षा मन्त्रालयको निर्देशन नै अवैधानिक हो भन्दैछन्।
यहाँ माफिया वैधानिक, सरकार अवैधानिक हो र?
यही ताल हो भने प्रधानमन्त्रीज्यू नेपालको चिकित्सा क्षेत्र तपाईंले सोचेजस्तो सागरमाथा हेर्दै औषधी खाने र सगरमाथाको काखमा शल्यक्रिया गर्ने विश्वको उदाहरणीय क्षेत्र बन्न सक्दैन। लुटतन्त्रको उदाहरण भने यो अहिले नै बनिसक्यो।
प्रधानमन्त्रीज्यू, हामी हृदयदेखि तपाईंलाई अनुरोध गर्न चाहन्छौं-कृपया पत्रलाई अन्यायमा परेका विद्यार्थीको उजुर मानेर तपाईंले पहल गरिदिनोस्। सबै सरोकारवाला निकाय र पीडित विद्यार्थीलाई सँगै राखी हामीलाई न्याय दिनुहोस्।
विद्यार्थी र अभिभावकलाई मेडिकल माफियाको पन्जाबाट छुटकारा दिलाइदिनुहोस्। तपाईंमा अडिएको हाम्रो आशलाई मर्न नदिनुहोस्। नत्र न्याय मर्नेछ। देश मर्नेछ।
अन्यायमा परेका विद्यार्थीहरूको प्रतिनिधि।
प्रकाश चन्द।
यी पनि पढ्नुस:
चितवनमा सल्किएको विद्यार्थी आन्दोलन
मान्यता थापाको भिडिओ ब्लग : म अब डराउँदिनँ
कला अधिकारीको भिडिओ ब्लग : अवैधानिक शुल्कको विरोध गर्दा फेल बनाइयो