सामाजिक बहिष्करण र राजनीतिक ध्रुवीकरणको समस्या रहँदा रहँदै नेपाललाई तुलनात्मक रूपमा आज दक्षिण एसियाकै ‘खुला मुलुक’ मान्न सकिन्छ। यस वर्षको ‘फिल्म साउथ एसिया’ वृत्तचित्र महोत्सव ‘क्यूरेट’ गर्ने क्रममा यही बुझियो।
हाम्रो जिम्मा यो खुलापन अझै मजबूत बनाउनु हो, अभिव्यक्ति स्वतन्त्रता नियन्त्रणका नाममा हुने जुनसुकै जोखिम सामना गर्दै जानु हो। नेपालको खुलापन नेपालीका लागि त हुँदै हो, यसले पूरै दक्षिण एसियाकै लागि ठूलो महत्व राख्छ।
गैर-आख्यान वृत्तचित्रले व्यक्ति र समाजको निर्मम समीक्षा गर्छ। वृत्तचित्रले हसाउँछ, रुवाउँछ, आक्रोश जगाउँछ, जागरूक तुल्याउँछ। समाज जति खल्बलियो, आक्रान्त भयो, निस्सासियो, उत्तिकै सशक्त फिल्म बन्छन्। यस अर्थमा गैर–आख्यान फिल्म निर्माणलाई समाज–स्वास्थ्यको परीक्षणको ‘थर्मोमिटर’ पनि मान्न सकिन्छ।
यस दृष्टिकोणले हरेक दुई वर्षमा ललितपुरमा आयोजना हुने ‘फिल्म साउथ एसिया डकुमेन्ट्री फेस्टिभल’ हेर्ने हो भने पूरै दक्षिण एसियालाई सामाजिक र राजनीतिक रोगव्याधले छोपिरहेको देखिन्छ। संसारको झन्डै एकचौथाइ जनसंख्या रहेको दक्षिण एसियामा असहिष्णुता छाएको छ, उग्र–लोकरिझ्याईं (र्याडिकल पपुलिजम्), अतिवाद र अधिनायकवाद मौलाएको छ। नागरिकको आँखाले बोल्छन् तर मुख बन्द छन्। अल्पसंख्यकहरूलाई भित्तामा पुर्याइएको छ। बन्द समाजको यात्रा सर्वत्र जारी छ।
एकातिर राज्य झन्–झन् कठोर हुँदो छ। नयाँ–नयाँ ‘सर्भेलेन्स’ प्रविधिको प्रयोगले नागरिकलाई तर्साएर मौन बस्न बाध्य पारिरहेको छ। अर्कातिर, सामाजिक सञ्जालले दक्षिणपन्थ बहुसंख्यवाद (मेजोरिटेरिएनिजम्) को सेवा गरिरहेछ।
पाकिस्तानी समाज उग्र–इस्लामी प्रचारक र सैनिक दबदबाबीच अल्झिएको छ। श्रीलंका र म्यानमारमा उग्र–बौद्ध खेमा हाबी छ। अफगानिस्तानमा तालिवानले फेरि शक्ति प्रदर्शन गर्दैछ भने बाङ्लादेशमा आवामी लिगको एकतन्त्रीय शासन चल्दैछ, सँगै उग्र इस्लामी जमात पनि सल्बलाउँदैछ।
मुख्यतः दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुक भारतमा उग्र–हिन्दू राष्ट्रवादको सुनामीमाझ इतर विचार राख्नेहरू मौन छन्, अल्पसंख्यक समुदाय चिन्ताग्रस्त। राज्यसँग विमति राख्नेहरू संकेत, बिम्ब र ‘मेटाफोर’ मा बोल्न थालेका छन्। पत्रकारहरू फोनमा नभई एप्को माध्यमबाट संवाद गर्छन्। सञ्चारमाध्यममा ‘सेल्फ–सेन्सरसिप’ हाबी छ। दक्षिण एसियामा सर्वत्र एक या अर्को खालको उग्र–दक्षिणपन्थ छाएको देखिन्छ। ‘फिल्म साउथ एसिया’ मा प्रस्तुत पाँच दर्जनभन्दा बढी फिल्मले पनि यसलाई पुष्टि गर्छन्।
अतिवादको यस क्षेत्रीय यात्रामा नेपालको अवस्था अहिलेसम्म अलि पृथक देखिन्छ। दक्षिण एसियाको सबैभन्दा निर्धक्क समाज हामी नेपालमै पाउँछौं। यहाँ पनि खुला समाज, स्वतन्त्र अभिव्यक्ति र प्रेसमाथि खतरा नआएको होइन, तर दुई–दुई वटा जनआन्दोलन, नयाँ संविधान लेखन, सामाजिक–राजनीतिक ध्रुवीकरण पार गरेका जनतालाई कुनै पनि खालको अलोकतान्त्रिक अभ्यास स्वीकार्य छैन र सतर्क छन्।
आमनागरिकलाई थाहा भइसक्यो– मुलुकको उन्नति अँध्यारो निर्देशित राज्यबाट होइन, उज्यालो कोठाको लोकतान्त्रिक कोकोहोलोमाझ सम्भव छ।
सिंहदरबारभित्र कसै-कसैलाई ‘अलि कसकास पारौं’ भन्ने विचार पनि होला। तर सत्ता, प्रतिपक्ष र नागरिक समाजमा लोकतान्त्रिक अभ्यास र मान्यताप्रतिको समर्पणको कमी छैन। यही समर्पण र विभिन्न ऐतिहासिक कारकतत्वका कारण, आज तुलनात्मक रूपमा नेपाल ‘खुला’ छ। तर, यो खुलापन अहिले जसरी नै सधैं बचिराख्ने होइन, निरन्तर सतर्कताको आवश्यकता छ।
गैर–आख्यानको खडेरी
कराँचीमा सांस्कृतिक अभियन्ता सविन महमुद र बैंगलोरमा पत्रकार गौरी लंकेशको हत्या हुन्छ। महाराष्ट्रमा दलित परिवारले जमिन नपाएर मृतक आफन्त भान्साकोठामुनिको भुइँमा गाड्दछन्। म्यानमारले १० लाखभन्दा बढी रोहिंग्यालाई विस्थापित गरेर ‘राज्यविहीन’ बनाइदिएको छ। पाकिस्तानमा लोकगायन र लोकबाजा धरापमा छन् सार्वजनिक प्रस्तुति गर्न पाइँदैन।
मणिपुरमा पितृसत्ता कायम छ भन्छ एउटा वृत्तचित्र। बसाइँसराइले उत्तराखण्डका पहाड रित्तिएका छन् भन्छ अर्को। पुश्कर (राजस्थान) मा धर्मको राजनीतीकरण गरिएको छ। काबुल सहरको बेथितिले सर्वसाधारण आक्रान्त छन्। इस्लामाबादमा अहमदिया पन्थको नोबेल पुरस्कार विजेता अब्दुस सलामबारे कोही खुल्न चाहँदैन, काचिन (म्यान्मार) मा दर्वेसनले पूरै समाज ध्वस्त बनाइँदैछ, आदि इत्यादि।
‘फिल्म साउथ एसिया’ का प्रस्तुतिले यी भिन्न भूगोलको एक हिसाबले हेर्दा समान पीडा राम्ररी उजागर गरेका छन्।
तुलनात्मक रूपमा नेपालको अवस्था यत्तिकै ‘राम्रो छ’ भन्ने हुँदै होइन। एक त नेपाली समाजको विभिन्न अनुभवबारे सशक्त गैर–आख्यान फिल्म बन्न छाडेको भान हुन्छ, र जर्जर कतिपय सामुदायिक, सामाजिक मुद्दाहरूको सम्बोधन भएको छैन, अथवा हुन छाडेको छ।
दुई–तीन दशकका लागि जसरी गैर–आख्यान फिल्म बनेका थिए, त्यस्ता सशक्त र जुझारु फिल्म निर्माता किन आजभोलि देखिंदैनन्? केसाङ छेदेन अझै फिल्म निर्माण गरिरहेका छन्, तर मोहन मैनाली, प्रणय लिम्बू, छिरिङरितार शेर्पा, दीपेन्द्र भण्डारी, किरणकृष्ण श्रेष्ठको पदचाप पछ्याउने पछिल्लो पुस्तामा देखिएन।
पुराना बल्झिरहेका समस्या अथवा नयाँ चुनौतीबारे गैर–आख्यान फिल्म निर्माण गर्न धेरै अग्रसर देखिँदैनन्, यो दुर्भाग्यपूर्ण हो। यस्तो किन भएको होला?
हुन सक्छ, दातृ संस्थाको कोष सुकेका कारण, किनकि डकुमेन्ट्री बनाउन ‘फन्डिङ’ को खाँचो पर्छ नै। यो पनि हुन सक्छ, यूट्युबको तलतलले गैर–आख्यान फिल्मका निर्माणकर्ता र दर्शक दुवै पातलिए। तर यो चाहिँ पक्कै हो, पहिलेको सेलुलोइड, भिएचएस र युम्याटिक क्यामरा प्रविधिभन्दा आजको डिजिटल प्रविधि एकदमै सस्तो र स्तरीय भएको छ — तर जति सजिलो भएको छ त्यो अनुपातमा गैर–आख्यान फिल्म बनेनन्, मूल नै सुकेजस्तो भएको छ।
यसरी गैर–आख्यान फिल्मको मुहान सुकेकोमा विलाप गर्न सकिन्छ। तर ‘फिल्म साउथ एसिया’ को तयारीमा थप बुझेको कुरा यो हो, अहिलेको दक्षिण एसियामा ‘खुला समाज’ को दीप कतै बलिरहेछ भने त्यो नेपालमा छ। फिल्म साउथ एसियामा देखाइने कति फिल्महरू तत्तत् देशमा खुला प्रदर्शनसम्म गर्न सकिन्न, तर नेपालमा त्यस्तो समस्या देखिंदैन। कतिपय फिल्म निर्माणकर्ताले नेपालमा बाहेक अन्य देशमा जान र प्रदर्शन गर्न भिसासम्म पाउँदैनन्, नेपालको ‘भिसा रेजिम’ भने संसारकै सबैभन्दा खुलामध्ये हो।
जसरी ‘फिल्म साउथ एसिया’ का लागि दक्षिण एसियाभरिका निर्माणकर्ता काठमाडौं आएका छन्, त्यस्तै धेरै दक्षिण एसियाली र विश्वव्यापी कार्यक्रमहरू नेपालमा आयोजना हुँदै आएका छन्। यसै साता पनि, आउन सजिलो भएकाले, मनको कुरा गर्न पाइने भएकाले विभिन्न गोष्ठी, सम्मेलन आयोजना भएका छन्, ललितपुरदेखि पोखरा र चितवनसम्म। यसरी नेपाल खुलापनको दीप र द्वीप दुवै हुन पुगेको छ।
नेपालको जस्तो समाज लोकतान्त्रिक खुलापनमाझ मात्र हुर्किन्छ। समृद्धि कानुनीराज तथा जवाफदेही प्रणालीबाट सम्भव छ। नेपाल र नेपाली आफैंले यो खुलापनको प्रतिरक्षा गर्नुपर्छ। दक्षिण एसियाकै लागि पनि नेपाल खुला रहनुपर्छ, नत्र सर्वत्र अन्धकार छाउनेछ। यसै कारण ‘फिल्म साउथ एसिया २०१९’ को नारा नै रवीन्द्रनाथ टैगोरको कविताका शब्दबाट लिइएको छ — ‘ह्वेयर द माइन्ड इज् फ्री...’, जहाँ मस्तिष्क निस्फिक्री छ।
महोत्सवमा प्रदर्शन हुने वृत्तचित्रको तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्: 'फिल्म साउथ एसिया २०१९' बिहीबारदेखि, ६३ वृत्तचित्र देखाइने
(दीक्षित फिल्म साउथ एसिया महोत्सवका अध्यक्ष हुन्। यो महोत्सव बिहीबारबाट चार दिनसम्म ललितपुरको यलमाया केन्द्रमा हुँदैछ)