भर्खरै मात्र एक दम्पतीकहाँ पुगेकी छु। कुराकानीमा छौं। 'सिन्धुली भिमान' कसैले आफ्नो परिचय दिन्छ। भिमानले सबैलाई 'नोस्टाल्जिक' बनाइदिन्छ। बस्, म सुन्छु मात्र।
आमासँग खेतमा गएर फर्किएको केहीबेरमै पड्किन सुरू गरेका बन्दुकका आवाजसँग ऊ आजपर्यन्त त्रसित छ। अहिले वयस्क भइसकेको छ। समृद्धिको यात्रामा एउटा सुन्दर पाइला हो ऊ।
कामरेड ! तपाईंले सुरू गरेको क्रान्तिको साक्षी हो ऊ। आफ्ना भिनाजु त्यही क्रान्तिमा होमिएको सुनाउँछ। सशस्त्र युद्ध उत्कर्षमा पुग्दै गर्दा वैचारिक स्पष्टता र निष्ठामा रहेर राजनीतिक युद्ध गरिरहेका थुप्रै योद्धाहरूलाई आफू अगाडिको बाधक ठानेर आफ्नै योद्धा साथीहरूले सफाया गरिदिए। यो देखेर उसका भिनाजु विरक्तिए। शान्तिप्रक्रियामा आउनु अघि नै आफूलाई सशस्त्र युद्धबाट अलग्याए।
उसलाई सुन्ने केही थान स्रोता छौं। उसलाई सुनिरहेका स्रोतामा सशस्त्र द्वन्द्वका भोक्ताहरू छन्, योद्धाहरू छन्।
आफ्नो बाटोका काँडा ठानेर थुप्रै व्यक्तिहरूको सफाया गरिएको खबर तपाईं सशस्त्र युद्धको उपल्लो कमान सम्हाल्ने 'सुप्रिमो'सामु पनि पक्कै आइपुगेको हुनुपर्छ। ती विचार र निष्ठाका पक्का कामरेडहरूलाई सम्झिएर म हुरुक्कै भएकी छु। तपाईंसँग उहाँहरूलाई सम्झिने फुर्सद छ कि छैन कामरेड सुप्रिमो ?
भिमानको आक्रमणका घाइतेलाई उपचार गरेकी अर्की योद्धा सुनाउँछिन्– 'कतै केही हुने भयो कि लगिहाल्थे, पढ्न पनि कहाँ पाइयो र राम्रोसँग? सुइ लगाउनेदेखि प्राथमिक उपचारका थुप्रै सीप सिकाइएको थियो।'
भिमानका घाइतेसँग सर्लाहीसम्म पुगेको अनुभव छ त्यसबेलाकी किशोरीसँग।
'प्रचण्ड र बाबुराम त देउतैजस्तो लाग्थ्यो ...'। पहिलोपटकको सार्वजनिकीकरणमा देखा परेका क्रान्तिका नायक पुष्पकमल दाहाल प्रचण्डलाई टेलिभिजनमा देख्दा दसौंपटक ढोगेको सुनाउँछिन् उनी। यो अन्तिम हरफ दोहोर्याएर पढ्नुस् है कामरेड !
भर्खरै तपाईंले नेपाली कम्युनिस्ट, कम्युनिस्ट नरहेको बताउनुभयो। उनीहरू स्खलित हुँदै गएकोमा तपाईंको मन दुखेको छ। आफैंलाई पनि फर्केर हेरिरहनुभएको छ सायद। त्यसैले म कस्तो थिएँ, के भइरहेको छु भन्नुभएको छ।
एकपटक हेर्नुहोस् आफैंलाई। बर्जुवा शिक्षाको विरोध गर्नुभएका तपाईं खुल्ला राजनीतिमा आउनेबित्तिकै तपाईंका नातिनातिना सरकारी विद्यालय गएनन् कामरेड ! सरकारी क्याम्पसमा पनि उनीहरूको भर्ना भएन। स्वदेशमै पनि पढिरहेका नहोलान् ! तपाईं मात्रै होइन थुप्रै कामरेडहरूका सन्तान यो सहर मात्र होइन देशमै नभेटिन सक्छन्।
नेपाली कम्युनिस्टको पतन हेर्न अरूकातिर नजर नलाउँदै बेस कामरेड ! आफैंलाई हेर्नुस्। आफ्नालाई नै हेर्नुस्, अन्त कहीँ जानै पर्दैन।
के हतारो थियो त्यस्तो कि सिंगो निर्वाचन प्रक्रिया मिचेर कानुनलाई मुठ्ठीमा लिएर छोरीलाई मेयर बनाउनैपर्ने? अघिल्लोपटक उनी संविधानसभामा उम्मेदवार बनेकी थिइन्। हारिन्। हार्नु जित्नु स्वाभाविक प्रक्रिया न हुन् निर्वाचनका। को हारेन? कसले जितेको छैन कामरेड? तपाईंमा मात्रै त्यत्रो हतासा किन?
नेपाली कांग्रेसले आफ्नो लामो राजनीतिक करिअर दाउमा राखेरै भए पनि रेणुजीलाई सहयोग गरेकै थियो। हार्दा पनि त सामान्य मतको फरक न आउने थियो। तपाईंले यस्तो हतार गरिदिनुभयो कि रेणु दाहाललाई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी मात्रै बनाइदिनुभयो।
तपाईंले गरेको भूमिगत हिंसात्मक राजनीति समग्र महिलाको उत्थानका लागि होइन रहेछ। छोरी, बुहारी, भाइ, भतिजा, ज्वाइँ, सम्धी आदिका लागि रहेछ। रेणु दाहाल आफ्नै तागतमा चुनाव लडेको र जितेको हेर्ने हाम्रो चाहना तपाईंको कारण पूरा हुन सकेन कामरेड ! सायद हुने पनि छैन !
राजनीतिमा तपाईं परिवारको घेराबाट बाहिर आएको हेर्न मन छ। के तपाईं त्यति क्षमता राख्नुहुन्छ?
फेरि तपाईं भनिदिनुहुन्छ कि म सक्कली माओवादी होइन। त्यो त हेरेरै थाहा हुन्छ कि अब तपाईं नक्कली माओवादी पनि रहनुभएन।
तपाईंको पचासौं विवाहको वर्षगाँठका लागि जब कुनै निजी व्यापारीको आँगन प्रयोग हुन्छ, त्यसमा पनि राज्यलाई अर्बौंको कर छलेको आरोपमा डामिएको व्यापारी। तपाईं भन्नुहुन्छ बिरामी पत्नीको इच्छाको कदर गरेको। सन्तान वियोगको पीडाले थलिएकी तथा रोगले गलेकी महिला जो आफैं राम्रोसँग उभिन सक्दिनन्, बस्न पनि गाह्रो छ, उनलाई त्यत्रा मान्छेका अघि रमिता हुने रहर कसरी हुनसक्छ?
उमेर र शरीरको दुर्बलतासँगै मानिसले खोज्ने उसको परिवार हो। सीताजीका अगाडि त्यत्रा मानिस बटुल्नु अघि तपाईंले थाहा पाउनुपर्थ्यो, अब सीताजीको घेरा साँघुरिइसक्यो। उहाँका लागि आफ्नो जीवनसाथी, सन्तान, नातिनातिनीभन्दा पर अब अन्य आफन्तै पनि अर्को घेरामा पर्छन्। ती तमाम देशीविदेशी व्यक्ति सीताजीका सरोकारका विषय थिएनन्। होइनन्। तर तपाईंले बुझ्नुभएन।
श्रीमतीले रहर गरिन् भन्नुहुन्छ र विदेश सयरमा निस्कनुहुन्छ। यसरी पत्नीको बिरामी पनि दिल्लगीको साधन बनिदिनु कत्तिको जायज हुन्छ कामरेड?
कठोर पञ्चायतीतन्त्रका विरुद्ध जनताको बोलीलाई आवाज दिने गायक जीवन शर्मा दसैंताका गम्भीर संकटमा परे। बिरामी छोरालाई बचाउन उनलाई हम्मेहम्मे पर्यो।
अध्यक्ष कामरेड ! वर्षौंअघि सिंहदरबार अगाडि तपाईंसँगै नाचेकी सानी नानी ठूली भएर कोठाभरि पानी भरेर मायालू खोज्दै गीत गाउलिन् भन्ने कहाँ थियो र? खुसीराम पाख्रिन, जीवन शर्मा, जेबी टुहुरे, माइला लामाको विरासत थाम्ने तपाईंको घरभित्र कसरी हुर्किन सकेन? नातिनी स्मिताले वर्गसंघर्षका गीत यो जुनीमा गाउँछिन् कि गाउँदिनन् कामरेड?
सिंगो काठमाडौंको तिर्खा कालोसूचीका ठेकेदारका हातमा कसरी गयो कामरेड? के यो घरभाडा वापतको शोधभर्ना हो?
सिस्नुपानीले बर्सेनि देउसी गाउँछ तपाईंहरूका अघिल्तिर। त्यो राजनीतिको 'बोर' हटाउन तपाईंहरूका लागि तयार गरेको मनोरञ्जन मात्रै होइन। तपाईंहरू सुध्रिन सक्नुहुन्न भने नजानुस्। नसुन्नुस्। सुनिसकेपछि व्यवहारतः मनन पनि गरिदिनुस्।
दसैं आयो गयो। तिहार आयो गयो। सक्नेले नयाँ लुगा फेरे होलान्। मीठोमसिनो खाएर स्वाद पनि फेरे होलान्। नसक्नेको दसैं उस्तै निस्तो रह्यो होला।
स्खलनको महायात्रामा कम्युनिस्टहरू त गएकै हुन्। सक्कली त हामी कहाँ केही नहोला पनि। तर तपाईंलाई एउटा मौका भने अझै छ– के तपाईं घरबेटी फेर्ने हिम्मत गर्न सक्नुहुन्छ कामरेड?
नातिनीहरूसमेत कमाउने भैसके। मेयर छोरी, मन्त्री बुहारी, तपाईंको आफ्नै सांसदको तलबभत्ताले यो सहरमा पालिने हिम्मत गर्नुस् कामरेड!स्खलनको तीव्रतामा कमी पक्का आउनेछ।