लोक संस्कृतिको राजनैतिक सीमाना हुँदैन रहेछ। लोक संस्कृतिभित्र पर्ने परिकारका स्वाद, साहित्यका शब्द र संगीतको धुन सबै हाम्रा डाँडाकाँडा हुँदै यात्रीसँगै यात्रा गर्दा रहेछन्। खोलानाला हुँदै जलचर अर्थात् माछाजस्तै सललल बग्दा रहेछन्।
चरा सधैं हिउँदमा दक्षिण झर्दा रहेछन्, बर्खामा उत्तर उड्दा रहेछन्...र नयाँ ठाउँको नयाँ परिवेश भेटेपछि नयापँन थपेर परिस्कृत भएर बाँच्दा रहेछन्।
हामी दक्षिण एसियाली चलचित्र महोत्सवको बहानामा काठमाडौंमा छौं। हामी सबैजना कहाँ-कहाँबाट सीमा र सीमाना पार गरेर माछा जस्तै कति खोला र नाला तरेर, चरा जस्तै स्वछन्द उडेर यहाँसम्म आएका छौं।
अबका केही दिन हामी दक्षिण एसियाको साझापनमा भुल्नेछौं, यहाँका रमाइला कथासँगै रमाउने छौं, यहाँका दुखसँगै दुखी हुनेछौं। एकअर्काका दुःख सुख आत्मसात गर्नेछौं। किनकी हामी सबै सदियौंदेखि एकआपसका सुखदुःखका साथी हौं।
भूराजनीति र परिवेशले हामीबीच सीमा कोरे पनि, साँस्कृतिक हिसाबले हाम्रो विचार र भाइचारामा विभेद ल्याए पनि हाम्रा सम्बन्ध युगौंयुगदेखि बलियो र मजबुत छ। त्यसैले त हाम्रो लोक गीत र कथामा हालको पाकिस्तानको लाहोर अटाएको छ, बर्माको मुग्लाङ बसेको छ, इस्टइन्डिया कम्पनीको सम्झना भएर कम्पनी माला झल्केको छ, ल्हासाको सुन गडेको छ।
नेपाली लोक संस्कृति पछ्याउँदै मैले नेपालका धेरै गाउँ डुल्ने सौभाग्य पाएँ। धेरै भञ्जयाङबाट सूर्योदय र सूर्यास्त हेरेँ। पुलको के कुरा तुइन अभावमा खोलानाला तरेको छु। कयौं भाइबहिनी, अग्रजसँग बात मार्दै बाटो काटेको छु। उनीहरूलाई सुनेको छु। गाउँठाउँको भूगोल र परिवेशमाझ दुःखसुख बुझ्ने कोशिश गरेको छु।
यी सबै भावना मैले गीतमा समेट्ने प्रयास गरेको छु। त्यहाँका लोक धुन आत्मसात गरी हामीले बजाउने बाजामा स्थानीय मर्म नमर्ने गरी प्रयोग गर्ने प्रयत्न गरेका छौं।
लोक गीतमा म मौलिक बिम्ब र सरलपन भेट्छु, मौलिक दर्शन भेट्छु, एउटा बेग्लै स्वस्फूर्त नयाँपन भेट्छु।
प्रायः आधिकारिक अक्षर लेखपढ गर्न नसक्ने लोक गायक, लोक कवि अझ भनौं लोक सर्जकको सिर्जना, बाह्य प्रभावबाट नितान्त मुक्त हुँदो रहेछ। आफू जुन समाज र पर्यावरणमा बाँचेको हुन्छ, उनका गीतसंगीतमा उनले बाँचेको समय र कालखण्ड प्रतिबिम्बीत हुनेरहेछ। ठ्याक्कै भन्दा ठेट र गज्जबको आफ्नोपन अभिव्यक्त हुँदोरहेछ।
लोक लय र गीत सिर्जना गर्ने व्यक्ति, समूह प्रायः अज्ञात रहेछन्। ती सर्जकले यो लोकलाई श्रुती परम्परामार्फत् छाडेको नासो हामीले सुन्ने तिनै लोक गीत हुन्। यसलाई कसैले निजी बनाउन पनि खोज्छन्, यसबाट हामी लोक संस्कृतिका अनुयायीहरू सजग रहनुपर्छ र यो बेला पनि आएको छ।
कुनै लोक गीत, मैले गाएँ भन्दैमा कदापी मेरा हुँदैनन्। ती त लोकको गीत हो र त्यो लोककै रहन्छ। मैले गाएका कयौं लोक गीत, यो लोकको लोक संस्कृतिप्रतिको सम्मान र समर्पणका रूपमा लिएको छु। हाम्रो गाउँ, देश, भेक र संसारभर अहिले पनि लोक परम्परा कायम छ। जहाँ समाज छ त्यहाँ लोक संस्कार बाँचेको हुन्छ।
नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायत देशका गाउँमा लोक परम्परा कायमै छ। हिजोआज धेरै ठाउँमा रेडियो, टिभी, युट्युबबाट बज्ने गीतबाट हाम्रा लोक गीत प्रभावित हुन थालेका छन्। दुरदराजका केही गाउँ भने अझै यी आधुनिक प्रभावबाट टाढा छन्। ती ठाउँ र ती संस्कृतिलाई अभिलेख गर्नुपर्ने अभिभारा अब हामीमा आएको छ।
कला, धर्म, कर्मका अनुयायीलाई बन्देज लगाउने अभ्यासको प्रयास संसारका धेरै समाजमा नभएको होइन। इतिहास साक्षी छ। चाहे त्यो कुनै 'वाद'सिर्जित राजनैतिक सत्तामा होस्, चाहे धार्मिक सत्तामा होस् या बिरासतबाट हस्तान्तरित सत्तामा। जब यी सत्तामा कला, जात, धर्म, कर्मको सीमितता वा बन्देजको गन्ध आउन थाल्छ, त्यो अधिनायकवादतर्फ उन्मुख हुन्छ। दुर्भाग्यवश् आजको संसारमा यो गन्ध आइरहेको छ र बिस्तारै फैलिरहेको छ।
लोक सर्जक चरा जस्तै हुन्। अझ म सोच्छु– सबभन्दा क्रान्तिकारी त चरा हुन्, माछा हुन्। सबभन्दा घुमन्ते पनि यिनीहरू नै। भनिन्छ जसले देश-संसार घुम्छ उसले धेरै देख्छ, धेरै बुझ्छ।
सबभन्दा उग्र क्रान्तिकारी गीत गाउने पनि चरा नै हुन्। ऊतिर तेर्सिने शिकारीको सबै खतरा अन्दाज भएर पनि ऊ हरेक वर्ष आफ्नो यात्रामा अग्रसर हुन्छ। किनकि प्रकृति र पर्यावरणका अदृष्य कुरा सन्तुलन राख्न, युगौंदेखि चलिआएको चक्रलाई आफ्नो धर्म सम्झेर ऊ आफ्नो भूमिका निर्वाह गर्छ।
एउटा संसारको कथाव्याथा अर्को संसारलाई सुनाउनुछ। हामीमध्ये केही भुइँ मान्छेहरू त्यो भाषा बुझ्ने कोशिश गर्छौं र त्यसलाई मान्छेले बुझ्ने भाषामा गाउने प्रयत्न गर्छौं। हाम्रो बोली त बन्द गराइएला, तर के चरालाई चुप लगाउने दुष्साहस कसैले गर्न सक्छ? चरीलाई गीत नगाऊ भन्न कसले सक्छ र?
जबसम्म चरा आकाशमा स्वतन्त्र गीत गाउँछन्, माछाहरू मान्छेले बनाएको सीमा र सीमाना थाती राखेर निरन्तर यात्रा गर्छन् तबसम्म संसार रहिरहने छ।
केही वर्षका पाहुना भएर आएका हामी मान्छेमा सद्बुद्धि र सदविवेक आउनेछ भन्नेमा आशावादी छु। इतिहास साक्षी छ, दलबलको भरमा समाजलाई धेरैबेर थेग्न सकिन्न। समयले कोल्टे फेरेको छ र फेर्छ एक दिन।
(बिहीबार दक्षिण एसियाली चलचित्र महोत्सवको उद्घाटनमा गायक अमृत गुरुङले राखेको मन्तव्यको सम्पादित अंश)