मन्त्रीज्यू,
सर्वप्रथम त महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याणको समेत जिम्मेवारी बोकेको महत्वपूर्ण मन्त्रालयको बागडोर सम्हाल्ने अवसर प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको पूर्वसन्ध्यामा तपाईंलाई असाध्यै महत्वपूर्ण मन्त्रालयले स्वागत गरेको छ। त्यो मन्त्रालय हामी सबैको साझा आस्था हो र तपाईं हाम्रो आस्थाको धरोहर। त्यसैले पनि यो पत्र कोरेकी छु।
कहीँ पढेकी थिएँ– राजनीति गर्नुपर्दैन तर देशको सच्चा नागरिकले आफ्नो मुलुकमा के भइरहेको छ वा आफूले चुनेर पठाएका नेताहरूले के कसो गरिरहनुभएको छ, चासो र चिन्ता चाहिँ गर्नुपर्छ।
मसँग सरकारले दिएको नागरिकता छ। त्यसैले पनि मेरो सरकारले के, कसो गरिरहेको छ, बुझ्नैपर्यो। सोह्र वर्षदेखि सरकारले रक्षा नेपाल संस्थामार्फत् महिला तथा बालबालिकाको हितमा अभियान चलाउन अनुमति दिएको छ। तसर्थ, महिला मन्त्रालयमा को आयो- कस्तो आयो चाख लाग्छ।
मंसिर ४ गते बुधबार बेलुकी एक अनलाइनमा ‘बिदा भएर जाने र नवनियुक्त भएर आउने’ मन्त्रीको सूचीमा आँखा ठोक्कियो। अन्तिमतिर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री ‘पार्वत गुरुङ’ लेखिएको देखेँ। मनमनै सोचेँ– कति गैरजिम्मेवार काम होला! पार्वती गुरुङलाई पार्वत गुरुङ लेखेर अपमान गर्ने!
भोलिपल्ट थाहा पाएँ, पार्वती गुरुङ होइन, पार्वत गुरुङ नै रहेछ। महिला मन्त्रालय सम्हाल्न महिला नै आउनुहुन्छ भन्ने मेरो बुझाइ फेल खायो। ठिकै छ, जो आए पनि असल र योग्य व्यक्ति आओस् भन्ने हाम्रो चाहना रहन्छ।
निर्वतमान मन्त्री थममाया थापाले राम्रो काम थालनी गर्नुभएको देखेकी छु। यदाकदा बैठकमा उहाँलाई भेट्दा भद्र, शालीन र दुरगामी पाउँथेँ। उहाँले गर्नुभएको योगदानको जोड–घटाउ कसले, कसरी गर्छ मलाई थाहा भएन। जे जति सक्नुभयो, आफ्नो तर्फबाट राम्रो गर्नुभयो भन्ने बुझाइ छ।
नवनियुक्त मन्त्रीज्यू,
तपाईंले अझै राम्रो गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। किनकि, तपाईं एक पुरुष भए पनि तपाईंलाई यो सुन्दर धर्तीमा पदार्पण गराउने एउटी महिला हुन्। ती महिलाले तपाईंलाई हुर्काउन, बढाउन गरेको संघर्ष, त्याग र बलिदान सम्झिदिनुभए तपाईंकी आमाजस्तै अन्य महिलाका लागि के–कसो गर्न सके साँच्चै सिंगो महिलामाथि न्याय हुन्छ, त्यो थाहा हुनेछ।
तपाईं पनि ग्रामीण भेगको बस्तीबाट उठेको बालक। हिजोको त्यो बालकलाई आजको यो उच्च तहमा पुर्याउन वा पुग्न के–के खाँचो पर्दो रहेछ, एकपटक आफ्नो बाल्यकालमा फर्किनुभयो भने सिंगो बालबालिकाको क्षेत्रमा के गर्नुपर्छ वा के अपुग छ, छर्लंग हुनेछ।
अर्को महत्वपूर्ण पाटो, तपाईंले सम्हाल्नुभएको मन्त्रालयको जिम्मेवारी ज्येष्ठ नागरिकका हितमा काम गर्नु हो। ज्येष्ठ नागरिकका हकमा के कसो भन्ने अन्योल हुनै पर्दैन। केही वर्षपछि मन्त्रीज्यू पनि ज्येष्ठ नागरिककै वर्गमा पुग्नु हुनेछ। त्यो बेला तपाईंलाई राज्यबाट के–कस्तो सहयोग खाँचो पर्ला एकपटक सोचिदिए सम्पूर्ण ज्येष्ठ नागरिकप्रति राज्यले तत्काल के गर्नुपर्छ भन्नेमा स्पष्टता आउनेछ।
त्यस्तै, मन्त्रीज्यूले समाज कल्याणको पाटो पनि हेर्नुपर्ने भएकाले तपाईं जन्मिनुभएको, हुर्किनुभएको र बाँचिरहनुभएको समाज कस्तो छ? त्यहाँ राज्यले के कुरामा ध्यान पुर्याउन सकेको छैन? त्यो तपाईंलाई प्रस्टै थाहा छ।
म पनि तपाईंजस्तै एउटा ग्रामीण भेगबाट भोकैनांगै भीरपाखामा लड्दै अगाडि बढ्दै गरेकी हुँ। तसर्थ, निर्धक्क भन्नसक्छु– मेरो देशमा पूरै गर्न नसकिने भयानक समस्या केही छैनन्। तर देशको आधाभन्दा बढी धर्ती ओगटेका महिला साँच्चै मारमा छन्। जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेका बालबालिका चारैतिरबाट प्रहारमा छन्। आफ्नो सन्तानका लागि एक थोपा रगत भएसम्म लड्ने हाम्रा आमाबुबा (ज्येष्ठ नागरिक) असाध्यै पीडामा छन्। चेलिबेटी बेचबिखन, बलात्कार, लुटपाट, हत्या, हिंसा, सामाजिक विभेदजस्ता अमानवीय र असामाजिक क्रियाकलापले मेरो समाजलाई भित्रभित्रै खोक्रो पार्दैछ।
मन्त्रीज्यू,
अब यी क्षेत्रमा भएका रित्तोपन कुशलतापूर्वक सम्हाल्ने र बिचौलियादेखि होसियार भएर कार्य–सम्पादन गरी अन्य मन्त्रीभन्दा अब्बल भई इतिहासमा ओजिलो उपस्थिति जनाउने एउटा सुवर्ण अवसर तपाईंलाई प्राप्त भएको छ।
बलात्कारजस्तो जघन्य अपराधले गलाउँदै लगेको हाम्रो समाज र ढलाउनै लागेको मानवीयताको साख केही हदसम्म भए पनि बचाउन नेपाल सरकारले यो वर्ष ‘समानताको पुस्ता, बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ यही नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् मंसिर ९ देखि २४ गतेसम्म १६ दिने विशेष अभियान चलाउँदै छ।
सरकारले बलात्कारविरुद्ध अभियान चलाउँदै गर्दा उता हाम्रो घरबस्तीमा छोरीहरू जलाउँदै गरेको नहोस्। यसनिमित्त जघन्य अपराधविरूद्ध राज्य खरो रूपमा ओर्लियोस् र वर्षैभरि चनाखो र गम्भीर बनिरहोस् भन्ने अपेक्षा राख्छु।
अन्त्यमा, सडक मन्त्रालयले पहाड–पहाडमा डोजर कुदाएजस्तो वा गृह मन्त्रालयले प्रहरी फेरबदल गरेजस्तो तुरुन्ता तुरन्तै नतिजा देखिने प्रकृतिको काम यो मन्त्रालयअन्तर्गत पर्दैन। यो मन्त्रालयको कार्यक्षेत्र सेवामूखी भएकाले अरूका आँखाले परिणाम नदेख्न सक्छ वा देखिन समय लाग्छ।
तर, तपाईंको मनका आँखाले सदैव देख्नसक्ने र आफैंले आफैंमा गर्व गर्नसक्ने नीतिगत प्रयास सधैं भैरहून्।
मन्त्रीका नाम सार्वजनिक गर्दाको सूचीमा अन्तिमतिर लेखिएको तपाईंको नाम केही महिनापछि बिदा हुँदै गर्दा कार्यकौशलताका आधारमा शिरमै अर्थात् एक नम्बरमै देख्न पाइयोस्। हाम्रो शुभेच्क्षा यही छ।
(लेखक मेनुका थापा रक्षा नेपालकी प्रमुख हुन्।)