फिनल्याण्डमा ३४ वर्षकी सन्ना मारिन प्रधानमन्त्री भएपछि नेपालमा पनि उनको चर्चा सेलाएको छैन।
यही बेला लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा ५० वर्ष नाघेका व्यक्तिलाई नेतृत्वमा ल्याउने चलखेल भइराखेको छ।
यस्तो चलखेल हुनुलाई पश्चगामी, अविवेकी र मुर्खतापूर्ण सोच हो भन्ने म अनुमान गर्न सक्छु। राजनीतिमा उमेरभन्दा पनि उत्साहले अर्थ राख्छ भन्ने छ तर दल निर्णय र नैतिकतामा पनि अडिग हुनुपर्छ।
नैतिक प्रश्नले लोकतान्त्रिक र आदर्श राजनीतिलाई टिकाएको हुन्छ। स्वतन्त्रताका निम्ति भएका संसारमा ठूला ठूला आन्दोलन र अभियान नैतिकबलमा नै सफल भएका छन्।
अन्धकारयुगको समाप्तिमा पुनर्जागरण अभियान जसरी युरोपमा ब्यापक बन्यो त्यसरी नै नेपालमा पनि राणाशासनको वर्वर युगको समाप्तिका निम्ति लोकतान्त्रिक उषाकालका लागि त्योभन्दा कम महत्वको संघर्ष भएन।
भारतमा गान्धीको अहिंसात्मक आन्दोलनसंगै नेपालमा भएको सशस्त्र संघर्ष दुबैको अधारभूमि नैतिकबल नै थियो।
कांग्रेस परिवर्तनको संवाहक शक्ति जसले जे बोल्यो त्यो गर्दै आयो। नागरिक स्वतन्त्रका निम्ति आजसम्म कांग्रेस चुकेको छैन। यो नै यसको खासीयत हो।
राजनीतिमा कांग्रेस बोलेको गर्ने पार्टी भनेर चिनिन्छ। समग्र जनताको विश्वासमा पनि अधिकारका निम्ति कुनै सम्झौता नगर्ने पार्टी भनेर नै चिनिन्छ।
कांग्रेस आफ्नो मूल परिचयबाट विचलित हुन खोज्यो भने विपक्षी कम्युनिष्ट पार्टी भन्दा फरक नहुने स्थिति आउँछ।
निर्वाचनका बेला नागरिकहरूका बीचमा कांग्रेसले राख्ने एजेण्डा नै न्याय, स्वतन्त्रता र पारदर्शीताका पक्षमा हुने अडान हो। यिनै एजेण्डालाई आत्मैदेखि नबोक्दा अहिले हामी कमजोर अवस्थामा पुगेका हौं।
यदी यस्तो नहुँदो हो त अहिले कांग्रेसको वैकल्पिक राजनीतिक दल निरंकुश विचार बोकेको न्याय, स्वतन्त्रता र पारंदर्शीता जस्ता एजेण्डा नबोक्ने दल हुने थिएन।
नेपाली राजनीतिमा वैकल्पिक लोकतान्त्रिक शक्ति खडा हुन धेरै कोसिस भए। कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा स्वयं नै वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्न भनी कांग्रेसबाट अलग हुनु भएको थियो।
तर त्यो किन सम्भव भएन? वर्तमान सभापति वैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्ति खडा गर्न फेल भएको व्यक्ति हो।
अहिले उहाँकै नेतृत्वमा नेपालको ऐतिहासिक र शक्तिशाली लोकतान्त्रिक पार्टी कांग्रेस चलिरहेको छ।
कांग्रेसको वर्तमान नेतृत्व अनेक असफलताबाट मौजुद छ। यसले आत्मसमीक्षा गर्नुपर्ने हुन्छ। कांग्रेसका त्यागी, सदाचारी र निष्ठावान नेताहरूको सैद्धान्तिक अडान र ब्यक्तिगत चरित्र र उनीहरूप्रतिको जनताको विश्वासबारे फर्केर हेरेन भने सर्वनाश हुने अवस्थामा यो नेतृत्व छ।
प्रसंग नेविसंघको ३२ बर्ष उमेर हदको हो।
नेविसंघ कांग्रेसको भ्रातृ संगठन भएकोले यसको नीति र निर्देशनलाई यसले मान्ने गर्दछ।
विद्यार्थीहरू स्वभावैले निश्चल, निस्वार्थी, जागरूक, विवेकशील र क्रान्तिकारी हुन्छन्। नेविसंघमा यी चरित्र भएकै कारण राजनीतिक अभियानमा संगठित छ।
विद्यार्थीहरूमा क्रान्तिको उष्मा हुनु स्वाभाविक हुन्छ। कांग्रेसका अहिलेका सभापति देउवा पनि विद्यार्थी राजनीतिमा तानिनुका पछाडी क्रान्तिकारी चेत र अन्यायविरुद्ध लड्ने उत्सह नै हो।
सभापतिमा आफ्नो विद्यार्थीकालको याद अहिले हुने हो भने ५० वर्ष उमेर नाघेकालाई जवर्जस्त तानेर विद्यार्थीको फौजमा पठाउने घृष्टता हुँदैनथ्यो।
‘आत्मन: प्रतिकूलानि परेशां न समाचरेत्’ यो वाक्यांशलाई आत्मसात गरिदिए मात्र पनि यो हठबाट पार्टी सभापति मुक्त हुनुहुनेछ।
आफैँलाई प्रतिकूल हुने ब्यवहार अरु माथि पनि गर्नुहुन्न। विद्यार्थी हुँदा आफूले नेपाल विद्यार्थी संघको नेता हुँदाको निश्छल क्रान्तिकारी भावनाको स्मरण गरिदिए मात्र पुग्छ।
नेविसंघको इतिहासमा प्रायः सबै अध्यक्ष ३२ बर्ष मुनि कै थिए।
निरंकुश सत्ताकाविरुद्ध संघर्ष गर्नु पर्ने जटिल र कठीन क्षणमा बरू पाकै उमेरको भए पनि नेता छान्नु पर्ने हुन्थ्यो। त्यो बेला समेत हाम्रा अग्रज स्वाभाविक उमेरमा नै क्रान्तिचेन र नेतृत्व क्षमताले परिपूर्ण भए भने अहिले त खुल्ला समाज, प्रतिस्पर्धी दुनियामा नयाँ-नयाँ विचारसंगै नवीनवयको विद्यार्थीको नेतृत्व नेविसंघमा हुनु जरुरी मात्र होइन अनिवार्य भएको छ।
र यसको नेृतत्वका निम्ति ३२ बर्ष मुनिकै सयौं विद्यार्थी नेता तयार भइसकेका छन्।
नयाँ-नयाँ हाँक र चुनौतीलाई सामना गर्न र आफ्नो समुदायको नेृतत्व गर्न सोही समूहकै विद्यार्थी आवश्यक पर्दछ। विद्यार्थी संगठन सामुदायिक संगठन हो यो समुह शंकर संगठन होइन समूह, समूदाय, वर्ग आदि सबैको संस्था नेपाली कांग्रेस हो।
विद्यार्थी संगठन विद्यार्थीहरुको मात्र हो, नेविसंघले समयको माग अनुसार विद्यार्थी समुदायको समग्र सक्रियताका निम्ति चर्चा गरिरहँदा मातृपार्टी कांग्रेसबाट ३२ बर्ष उमेरहदको एजेण्डा समेटिएको बिधान अनुमोदन भइसकेको छ।
पार्टीकै निर्णय र निर्देशनमा सोही विधानको पालना गरि लगभग ७० प्रतिशत जिल्ला र क्याम्पसहरुमा नेविसंघका अधिवेशन सम्पन्न भइसके।
यसरी पार्टीकै इच्छामा ३२ बर्ष उमेर समेटिएको विधान पूर्णतया कार्यान्वयन भइसकेको परिस्थितिमा पार्टीकै निर्णय विपरीत हुने गरी, विधानको बर्खिलाप हुने गरी आम विद्यार्थीहरुको भावना विपरीत ३२ बर्ष भन्दा माथिका गैर विद्यार्थीहरुलाई नेविसंघको नेतृत्व थोपर्न खोज्नुले नेतृत्व नै कांग्रेस नर्सरी मास्न खोजेको भन्ने बुझिन्छ। या त आफ्नो निरङ्कुश हैकम सिर्जनशील विद्यार्थी शक्तिमाथि लाद्दैछ भन्ने बुझिन्छ।
नेपालका प्रचलित राजनीतिक पार्टीहरुमा यस्तै छद्मभेषी तरिकाले आफ्ना इसारमा नाच्ने कठपुतलीलाई विद्यार्थीको नेतृत्व थोपर्ने चलनकै कारण समग्र राजनीति प्रति नयाँ पुस्ताको आक्रोश बढ्दै गएको छ।
राजनीतिजस्तो सम्मानित कार्यलाई घृणाको दृष्टिले हेर्ने युवापुस्ताको वर्तमान अवस्थालाई परिवर्तन गर्न विद्यार्थी समुदायको नेतृत्व बिद्यार्थी समुदायबाट मात्रै गराउनु पर्ने हुन्छ।
विद्यार्थी संगठनलाई आफ्नो भ्रातृसंस्थाको रुपमा संचालन गर्दा राजनीतिक दलले के भुल्नु हुँदैन भने यो समुदाय भोलि राष्ट्र निर्माणका सबै अंग र आयाममा सहभागी हुने शक्ति हो।
त्यसैले यसलाई अलिक स्वतन्त्र, मौलिक, चरित्रवान, संस्कारयुक्त र क्रान्तिकारी बनाइरहनु पर्दछ। पार्टीका सैद्धान्तिक विचार र दृष्टिकोणलाई अझ प्रभावकारी, निष्पक्ष र निर्भयतापूर्वक यो शक्तिले प्रवाह गराउन सक्छ भन्ने बुझ्नु जरुरी छ।
विद्यार्थी राजनीतिमा उमेरहदको चर्चा हुनु स्वभावक हो किनकि विद्यार्थी जीवन, उत्साह र चेतना उमेरसंग पनि सम्वन्ध राख्दछ। युग, समय र परिवर्तनको अवस्थाले यसको उमेर र सीमा बारे चर्चा हुने गर्दछ।
यो सन्दर्भअनुसार उठ्ने पनि बिषय हो। उमेरहदको बिषय जिम्मेवारीपूर्वक नै उठ्यो। पार्टीले सोही बमोजिम निर्णय र निर्देशन गर्यो।
३२ बर्ष उमेरहद भएको नेविसंघको विधान पूर्वतः कार्यान्वयन भइरहेको छ। यस अवस्थामा यसको पालना गराउनपट्टि नै पार्टी लाग्नु पर्ने हुन्छ।
केही ब्यक्तिको दुषित स्वार्थले यसमा अन्यथा भयो भने यसको केवल नकारात्मक असर मात्र पर्नेछ, नेपाल विद्यार्थी संघको इतिहासमा।
३२ बर्ष उमेर पार गरेका पूर्व विद्यार्थी नेताहरूलाई पार्टीका अनेक सांगठानिक निकायमा क्रियाशील गराउन सकिन्छ।
तरुण दल, पार्टीका विभाग, जिल्ला र अन्य एकाइमा तरुण युवालाई समेट्ने हो। यस्तो प्रकारको कार्यकर्ता ब्यवस्थापनले पार्टीको समग्र उन्नति र प्रभाव बढाएर लैजान्छ।
लेखक: नेविसंघका निवर्तमान महामन्त्री हुन्।