पोखरामा जारी नेपाल साहित्य महोत्सवमा गायक प्रकाश सपुतले बोलेका कुराको सम्पादित अंशः
पहिला पहिला सबैले चिनून्, दुई-चार जनाले 'नोटिस' गरून् भनेर चर्चित हुनकै लागि गाइन्थ्यो।
तर म ठ्याक्कै गीत गाएरै चर्चित हुन्छु भन्ने थिएन। जे गरेर भए पनि मान्छेले 'नोटिस' गर्ने हुन्छु भन्ने थियो। बीचमा केही समय भात खानलाई पनि गीत गाइयो। गीत गाउँदा धेरै अवसर पाइने, प्रतियोगिताहरूमा जितिने र पैसा पाइने। त्यसले कोठाभाडा तिर्न सकिने।
जीवनकालमा समयअनुसार आफ्नो रूचि, बाध्यता, आफ्ना सपना परिवर्तन हुँदै जानेरहेछन्। आठ-नौ वर्षको हुँदा फिल्म खेलेर हुन्छ कि, किताब लेखेर हुन्छ कि गीत गाएर हुन्छ, कसैले चिनोस् भन्ने थियो। प्लस टु पढ्ने बेला हाम्रो समाजै त्यस्तो भइदियो कि लोक गीतबाट मैले छिटो अवसर पाएँ।
हाम्रोमा साहित्यिक सम्मेलन, पुस्तक, पत्रपत्रिका निकाल्ने धेरै थिएन। फिल्म खेल्न पहुँच थिएन। त्यहाँ हुन्थ्यो के भने, लोकगीत कार्यक्रम र प्रतिस्पर्धा हुन्थ्यो। मेला महोत्सव हुन्थ्यो। त्यहाँ बढी लोकगीतका दर्शक-स्रोता हुन्थे।
त्यही पनि लोकगीत गाएर हिट हुन्छु भन्ने थिएन। स्वतस्फूर्त म लोकगीत-संगीततिर धकेलिएको हुँ।
मैले पहिलोचोटी गीत सुन्दा कुनै रेडियो वा सञ्चारमाध्यम वा टेप रेकर्डरबाट सुनेको हैन। मेरै गाउँमा मेरो हजुरबाले गाएको कुनै एउटा भजन सुनेको हुँ। मेरी आमाले गाएका रत्यौली सुनेको हुँ।
हाम्रो देशको सञ्चार र प्रविधिको गति यति छिटो परिवर्तन भइदियो कि मैले उत्ति नै खेर, केही महिनापछि टेपरेकर्डरबाट गीत सुन्न थालेँ। मेरो सानो मस्तिष्कमा समाजका गीतहरूले प्रभाव पारिरहेको थियो। भजन, रत्यौली र त्यहाँको पञ्चेबाजामा बजाइने लोकलयहरू बसिरहेको थियो। कालान्तरमा रेडियाबाट जे सुने, त्यहीँबाट सिक्न थालेँ।
ती गीत 'ओरिजिनल' लोकगीतभन्दा अलि परिमार्जित र परिष्कृत थिए। अहिले पनि धेरै ठाउँमा लोकगीत गाउने-बजाउने चलन छ, तर पहिलाकै जस्तै छैन। तर मैले गीत बनाउँदा यो-यो ठाउँ घुम्छु र यो-यो भाका टिपेर रेकर्ड गर्छु भनेँ । यो मैले दुःख पाउने काम थियो हो। किनकी, हाम्रो क्षेत्र बाग्लुंगतिर यो चलन धेरै घटिसकेको छ।
पहिला जस्तो कम्तिमा हप्ताको एकचोटी भजन, रत्यौली वा पञ्चेबाजा गाउने चलन कम भइसकेको छ। चोखो भाकाहरू अहिले पाइँदैनन्। हामी पुरानो भाकाबाट प्रभावित हुन्छौं। मैले हरिदेवी कोइरालाको 'पाइनँ खबर' सुनेँ भने 'ए लोकगीत भनेको यस्तो हुन्छ' भन्ने हुन्छ। र मैले कुनै नयाँ गीत बनाएँ भनेँ उहाँले लमजुङको परिवेशमै बसेर बनाएजस्तो गीत बनाउन सक्दिनँ।
मैले त्यहाँको समाज नै देखेको छैन, म त त्यो समाजमा छँदै छैन। म त काठमाडौंमा हुन्छु। मेरो मस्तिष्क र मेरा गीत मिडियाबाट प्रभावित भइसकेको छ। मैले ती गीतबाट प्रभावित हुँदै लोकगीत बनाउँछु। त्यसमा प्राविधिक रूपमा केही परिस्कृत गरेर नयाँ गीत बनाउँछु।
मेरो चर्चित गीत 'गलबन्दी च्यातियो' विवादमा तानिएपछि लोकगीत कसको हो भन्ने प्रश्न पनि उठेको छ। अहिलेको सन्दर्भमा जसले पैसा हाल्यो लोकगीत उसकै हो। तर लोकको अर्थ के हुँदोरहेछ भने कसैको पनि औपचारिक अधिकार नभएको। वर्षौंदेखि पुस्तादेखि पुस्ता हस्तान्तरण हुँदै आएको।
जसरी यो पहाड खोलानाला, घाम र हामी कसरी बन्यौं भनेजस्तै हाम्रो गाउँमा गाइने भजन पहिलोचोटी कसले बनाएको हो? मैले त पहिलोचोटी मेरो हजुरबाले 'मायै मायामा चलेको छ संसार' भन्ने गति सुनेँ। मेरो हजुरबाले पनि आफ्नो हजुरबाबाट सुन्दै आएको भाका हो। तर म आफूलाई व्यक्तिगत रुपमा लोकगीतको विषयमा अभागी पुस्ता सम्झन्छु। किनभने हाम्रो समयमा आउँदा हाम्रो समाजको दृष्टिकोण र जीवनशैली पनि परिवर्तन भएको छ।
तर लोकगीतप्रतिको दृष्टिकोण परिवर्तन भएको छैन। लोकगीत भनेकै चराचुरुंगी कराएको, उकाली-ओराली गरेको, दाउरा, घाँस काटेको, परपर पधेँरीमा पानी लिन गएको, रातभरि जाँतो कुदेर गाउने गीतलाई मानिन्छ।
तर हाम्रो पुस्ताको जीवनशैली र लवाइखवाइ फेरिइरहेको छ। मेरो गीतमा हाम्रै पुस्ताको शैली आउनु स्वभाविक जस्तो लाग्छ। तर मैले भनिहालेँ, हामी अभागी पुस्ता हौं। हामीले लोकगीत गाउँदा अलिकति ट्र्याक छोड्यौं भने गाली खाइन्छ। मैले दोहोरी 'ब्याटल' गरेपछि गीत बिगारेँ भनेर भयंकर गाली खाएँ। यही फेवाताल किनारमा मैले छायांकन गरेको थिएँ। अघिल्लो पुस्ताले गीत बिगार्यो भनेर कति त म हिँडेका बाटै हिँड्नुभएन। तर मेरो पुस्ताले 'क्या दामी यार। ब्रो दोहोरी त खतरा हुँदोरैछ नि' भने।
किनभने लोकगीत भन्नेबित्तिकै म 'कन्फ्युज' हुन्छु। लोकगीत भनेको भाषा हो कि, चालचलन र संस्कार हो कि म आज पनि स्पष्ट छुइनँ। लोकगीत मात्रै हैन, अरू खालका विषयका कुरा पनि भाइरल हुने संस्कार बसिसकेको छ।
पत्रकारिताको माध्यमबाट होस् चाहे लेखनको माध्यमबाट, कुनै सामाजिक चरित्र वा गीत संगीतको माध्यमबाट होस्- विभिन्न माध्यमबाट भाइरल हुने काम भइरहेको छ। यो लोकगीतमा मात्र लागू हुँदैन।