भारतीय लेखक एसपालको एउटा कथा छ:
एक जना सम्पन्न व्यापारी बिहान काममा निस्कनुभन्दा अगाडि उनकी श्रीमतीले भन्छिन्, 'भरे आउँदा मलाई एउटा हिराको हार ल्याइदिनुस्।'
व्यापारीको निम्ति त्यो ठूलो कुरा थिएन। उनले 'हुन्छ भरे आउँदा ल्याउँछु' भने।
साँझ घर आउँदा उनले ल्याउन बिर्सिए। श्रीमती माइत जाने बेला भएको थियो। रात परिसक्यो। पसल बन्द भइसके। अहिलेजस्तो मोबाइलको जमाना थिएन। श्रीमती निकै दु:खी भइन्।
ती व्यापारीले भने, 'भोलि ल्याउँला।'
श्रीमतीलाई यति धेरै पिर पर्यो, संसारको सबभन्दा दु:खी मान्छे मै हुँ भन्ठानिन्। चित्त दुखाएर श्रीमानलाई भनिन्, 'म कति दु:खी मान्छे। एउटा हिराको हार पनि लाउन पाइनँ।'
उनी आँसु खसालेर माइत गइन्।
लोग्नेलाई पनि पिर पर्यो। यति धेरै प्रेम भएको श्रीमतीका लागि एउटा हार पनि ल्याउन सकिनँ भन्ने सोचेर उनी उदास भए। घरमा बस्न मन नलागेर साँझको समय डुल्न निस्किए।
नजिकै सुकुम्बासी बस्तीमा एउटा बच्चा बदाम बेच्न बसेका थिए। रातको करिब १० बजिसकेको थियो। त्यो बच्चा किन बदाम बेच्न बसेको होला? कसले किन्छ उसको बदाम?
ती व्यापारी बालकको नजिक गए र सोधे, 'कति रुपैयाँ?'
बालकले भने, '२, ३ रुपैयाँ।'
'म यो सब लिन्छु, तिमी घर जाउ' भनेर ती व्यापारीले सय रुपैयाँ दिए।
बालकले भोलि पनि यसरी नै बदाम बेच्नुपर्छ भनेर मानेनन्। उनी त्यो सय रुपैयाँ साट्न घरघरै गए। तर कुनै पनि घरमा साट्न सकेनन्। वरिपरि सबै छाप्रा थिए। बस्तीको कुनै छाप्रामा सय रुपैयाँ साट्ने सामर्थ्य थिएन।
ती व्यापारीले बालकलाई हेरिरहे र फर्किए।
बाटोमा उनले सोचे, 'म श्रीमतीलाई हिराको हार ल्याइदिन सकिनँ भनेर दु:खी छु, उनी हार लाउन पाइनन् भनेर दु:खी छिन्। यहाँ सय रुपैयाँ साट्न सक्ने पनि कोही छैन, यहाँ कति दु:ख छ।'
यो कथाको निष्कर्ष के भने, वर्गीय समाजमा दु:खसुख पनि वर्गीय हुन्छ। यहाँ हामी सबैको वर्ग छ। हाम्रा दु:ख वर्गीय छन्। हामी कोही हिराको हार लाउन नपाउँदा वा किन्न नपाउँदा दु:खी हुने वर्गका छौं, कोही सय रुपैयाँको नोट साट्न नसकेर दु:खी हुने वर्गका?
धेरैले वर्ग भन्नाले सम्पत्तिको मात्र कुरा गर्छ। म त्यसरी बुझ्दिनँ। आफ्नो भाषामा जीवन चलाउन पाउने कि नपाउने? सम्मानपूर्वक बाँच्न पाउने कि नपाउने? त्यो पनि वर्गको कुरा हो।
धेरै पर नगइकन जंगबहादुरको मुलुकी ऐनबाट देखिन्छ, वर्गको कथा। त्यहाँ प्रत्येक मानिसका निम्ति उसको जातका आधारमा सजाय तोकिएको छ। जातको कुरा गर्दा, कतिपयलाई कन्चटबाट धुँवा छुट्छ नेपालमा। यो मैले गरेको होइन, जंगबहादुरले गरेको हो। यो समाज मैले होइन, जंगबहादुरले बनाउन सुरू गरेको हो। जात व्यवस्था नै वर्ग निर्माणको निर्णायक तत्व हो नेपालका निम्ति।
अहिले पनि धनी र गरिब वर्गको निर्माणमा सबभन्दा बढी जातले भूमिका खेलेको छ। पृथ्वीनारायण शाहभन्दा अगाडिदेखि हेर्दा जमिन नै सम्पत्तिको मुख्य स्रोत थियो। त्यति बेला जमिन वितरण पनि जातकै आधारमा हुन्थ्यो।
दलितले कहिल्यै बिर्ता पाएनन्। दिनै मिल्दैनथ्यो। मतवालीले पनि पाएनन्। छथरीका जनजाति बाहेकलाई मासिने मतवालीभित्र राखिएको थियो। उनीहरूलाई दिन मिल्दैनथ्यो। नमासिनेले जमिन पाए। अरू सबै जमिनमा काम गर्ने रैती थिए। कानुनमा व्यवस्था गरी राज्यले किटान गरेर यो जातका मानिस गरिब हुनुपर्ने, यो जातको मानिस धनी हुन पाउने भनेको थियो। निर्णायक कुरा जमिन थियो। त्यसमा कुन जातको हक हुने भन्नेले वर्ग निर्माण गर्यो।
अर्को जातीय उत्पीडनले भूमिका खेल्यो।
मैले बलात्कारका १० वर्षको तथ्यांक हेरेको थिएँ। १३ प्रतिशत दलित जनसंख्या भएको देशमा १६ प्रतिशत बलात्कार दलितमाथि रहेछ। यस्तै, ३६ प्रतिशत जनजाति भएकोमा ३२ प्रतिशत बलात्कार रहेछ भने खस आर्यको जनसंख्या ३१ प्रतिशत रहेकोमा बलात्कार ९ प्रतिशत रहेछ।
अपराध गर्नेहरू हेर्ने हो भने पनि जात व्यवस्थाको चित्र देखिन्छ।
अर्को, नेपालमा क्षेत्रीय उत्पीडन रहेछ। भेरी र कर्णालीपारिकाेलाई राज्यले उपेक्षा गरेको रहेछ। कर्णालीपारि दमन नै गरेको रहेछ। कर्णालीको बाहुन काठमाडौंको दलितभन्दा तल छ, यो सत्य हो।
अर्को हिमाली क्षेत्रमा पनि उत्पीडन छ। वास्ता नगर्ने हो भने पनि उत्पीडन हुने रहेछ। बेवास्ता गर्नु पनि ठूलो उत्पीडन रहेछ। हिमाली क्षेत्रमा भएको त्यही हो। मधेसीमाथि तीन किसिमको उत्पीडन छ- क्षेत्रीय, भाषिक र रंगभेद।
पश्चिम नेपालका दलितसँग जमिन हुने कुरा थिएन। बाली प्रथा थियो- यसबाट जमिन मिल्ने कुरा थिएन। आफ्नो जमिन हुने स्रोत नै थिएन। जब उनीहरू विष्टको घरमा फलाम ठटाउन नपरेका बेला मुग्लान जान थाले, त्यसपछि जमिन जोड्न थाले।
मुग्लानमा कसैले दलित भनेर चिन्दैनथे। त्यहाँबाट नगद ल्याएर उनीहरूले जमिन जोड्न थाले। भेरीपारि कोही दलितको धान खाने जमिन कहीँबाट आयो भने त्यो मुग्लानबाट आयो।
अर्को राणाहरूले नेपालका केही जातिलाई भारतीय सेनामा पठाउन सन्धि गरे। अंग्रेजको सेवा गर्न गोर्खा भर्ती सन्धि भयो। नेपाली गए। एकातिर हेर्दा यो नेपालीका लागि अपमान थियो। गल्लावालले छानेर लानुपर्ने, हामी मरिदिनुपर्ने। हामी मरेपछि तिनीहरूले वीर गोर्खाली भनेर छातीमा तक्मा झुण्डाइदिने। अनि हामी वीर भनेर रेडियो नेपालमा गीत घन्काउने।
यसको उल्टो फाइदा भयो। तन्नम गरिब देशमा उनीहरूले विदेशी पैसा बोकेर आए। भारू ल्याए, पाउण्ड स्टर्लिङ ल्याए। त्यसपछि उनीहरूले धरानमा पक्की घर बनाउन थाले। पोखरा सहर पनि यसरी जन्मिए। माछापुच्छ्रे हिमालले मात्र पोखरा बनेको होइन। लाहुर जानुपर्ने नेपालीको कथाले पोखरा बनायो।
वर्गीय समाजलाई यसले विस्तारै विस्तारै चर्कायो। राणालाई धरानमा लिम्बूले, पोखरामा मगर र गुरुङले चटक्कको घर बनाउँछ भन्ने थाहा हुन्थ्यो भने राणाले गोर्खा भर्तीसम्बन्धी सन्धि गर्दैनथे।
लाहुरे प्रथाले पुरानो संरचना फैलाइदियो। त्यसबाट सुनारको जन्म भयो। यहाँका सुनार बाली प्रथामै सुन बनाउँथे। जब विदेशी पैसा लिएर लाहुरे आए, उनीहरूले सुन लगाउने चाहना पनि लिएर आए। भैरहवा, धरानमा बोलाएर सुन बनाउन लगाए।
सुन त सुनै भइहाल्यो। लाहुरेले सुनारलाई बेस्सरी काम दिए। भैरहवामा सुनारको ५ तले घर बन्यो। त्यो सुनारलाई ५ तले घर बनाउने अधिकार कहाँ थियो? अहिले जंगबहादुर भए कहाँ दिन्थे?
जात व्यवस्थाले बनाएको बन्धन लाहुरे प्रथाका कारण थोरै टुट्न गयो। पहाडको थकाली र तराईको कायस्थ यो प्रक्रियामा छलियो, मासिन्या जात भनेर। अहिले देशभर थकालीले रेस्टुरेन्ट खोल्लान् भनेर त्यति बेला कहाँ थियो र?
तराईको कायस्थ पनि मतवाली हो। त्यो अहिले नेपाली समाजको पहिलो लहरमा आइपुग्यो। जात व्यवस्थाले कज्याउन खोजेको मुन्सी बनाए। त्यति बेला शिक्षाको महत्व थिएन। हिसाब गर्न उनीहरूलाई पढाइयो। त्यसकै कारण उनीहरू अहिले अगाडि आए।
एउटा प्रसंग छ- सगरमाथा। युरोपियनले सुरू गरेको साहसिक यात्रा, हिमाल चढ्ने। उनीहरू नेपाल आए। सगरमाथालाई एभरेष्ट नाम राखे। भारी बोकाएर लगियो शेर्पालाई। हिमाल चढाउँदै जाँदा शेर्पाको सानो खलक काठमाडौंदेखि अमेरिका पुग्यो। यसले पनि अलिकति वर्ग संरचना भत्काइदियो। यो नेपालको डिजाइनमा होइन, विदेशी यहाँ आएर भत्कियो।
अर्को प्रसंग छ मनाङको। माथिल्लो मनाङमा ५ गाविस थिए। २०२१ सालतिर राजा महेन्द्र सिंगापुर गए। मनाङ मुस्ताङका अनुहार देखिने मानिसले जडिबुटी बेचेको देखेछन्। उनले खोजबिन गर्दा उनीहरूले मर्स्याङ्दीको शिरबाट हामी आएका भनेछन्। भारत हुँदै सिंगापुर जाने चलन रहेछ।
महेन्द्रले उनीहरूलाई सिंगापुरमै भनेछन्, 'नेपाल आऊ।'
उनीहरूले 'तिमीलाई राजा मानेर हामीलाई के हुन्छ?' भनेछन्।
महेन्द्रले 'मर्स्याङ्दीमाथिका ५ गाउँले मेरो शासन मान्नुपर्छ' भने। यसको बदलामा उनीहरूलाई विशेष अधिकार दिलाए- विदेश गएर आउँदा सामान ल्याउँदा भन्सार छुट हुने।
त्यहाँबाट माथिल्लो मनाङीका खलक विशेष अधिकार पाएर माथि गए।
नेपालको परम्परागत राज्यले निर्माण गरेको वर्ग संरचना यसरी केहीले तोडेर, छलेर, छिर्के हानेर बदले।
मूल चरित्र बदलियो त ?
मेरो अध्ययनमा अहिले पनि मूल चरित्र उस्तै छ। बिहानै म घरमा चारवटा दैनिक पत्रिका पढ्छु। क–कसले लेख लेखेका छन्, हेर्छु। सम्पादक को छ, व्यवस्थापक को छ?
पाना पल्टाउँदै गयो अनि पढ्नै मनलाग्दैन। यसोभन्दा तँ बाहुनविरोधी भन्छन्। मैले सदाकाल भन्छु, बाहुनको नेपालमा धेरै ठूलो योगदान छ। बाहुन सबै शासक भनेको होइन। क्षेत्री ब्राह्मणभित्रबाट शासक जन्मियो भनेको हो। त्यसभित्रबाट मात्र बन्ने स्थिति आयो। त्यसभित्र कति गरिब छ कति।
भनेको के भने, त्यो जातबाट मात्र मुख्य शासक आउने प्रणाली बन्यो। अरूबाट आउन नपाउने प्रणाली बन्यो।
यसो मन्त्रीको नाम हेर्यो, पार्टी हेर्यो, कसरी सुत्ने? हालत चौपट हुन्छ।
अहिलेसम्म जति राजनीतिक परिवर्तन हामीले गर्यौं, जति परिवर्तन भयो, वर्ग निर्माणको जुन प्रक्रिया थियो, त्यसलाई अन्दाज नगरी राजनीतिको कार्यदिशामा नसमेटी अघि बढ्यौं। हाम्रो समाज रुस, चीनको जस्तो सोच्यौं।
निश्चित जातअनुसारको वर्ग निर्माण प्रक्रिया हो नेपालमा। न कम्युनिष्ट न लोकतन्त्र। न पुष्पलाल न बिपी कोइराला, सबैले नेपाली समाजलाई सर्लक्कै जाति व्यवस्था नभएको जस्तो गर्दै आयो।
अहिले पत्रिका पढे पनि, टिभी हेरे पनि, पार्टी हेरे पनि, उस्तै छ।
संविधान जारी भएपछि गहिरो गरी जात व्यवस्था प्रकट भयो। नेपालमा अहिले जो शासक वर्ग जन्मिए, के कारणले उ शासक बन्न पायो त?
जात व्यवस्थाकै कारण।
आफ्नो शासन निरन्तर गर्न त्यो जात व्यवस्था टिकाइ राख्नपर्ने भयो, नयाँ नयाँ तरिकाले टिकाउन पर्यो। जस्तो आजको पुरुष शासक किन भयो?
महिलामाथि उत्पीडन गर्न पाउने पितृसत्तात्मक कारण भयो।
उनीहरू यति बेला महिलालाई अगाडि ल्याउनुपर्छ भन्छन्, तर सधैं उपाध्यक्ष।
'आउनुपर्छ, नआई हुँदैन'भन्छन्। 'आउन हुँदैन' भन्यो भने त भोट पाइँदैन। भोटका निम्ति भन्नै पर्यो तर कहाँसम्म आउनेभन्दा मोटरसाइकल पछाडिसम्म।
किन यस्तो हुँदो रहेछ भने पितृसत्तात्मक विचार र संरचनाका कारण पुरुष अगाडि भयो नयाँ नयाँ कलेबर र रंगरोगनमा यो व्यवस्था र संरचना जारी राख्ने रहेछ।
ठीक यसरी आफ्नो सत्ता जारी राख्न जात व्यवस्था, जातीय उत्पीडन र क्षेत्रीय उत्पीडनलाई जारी राख्दो रहेछ।