मुक्तिनाथ अधिकारी पहिले मेरा शिक्षक र अभिभावक दुवै थिए। पछि सहकर्मी। लमजुङको पाणिनी संस्कृत माविमा मैले उनीसँगै पढे, पछि चार वर्ष सँगै पढाए।
मैले चिनेका मुक्तिनाथ अधिकारी स्वाभिमान, अहिंसा र न्यायका पक्षमा उभिने दृढ इस्पात खम्बा थिए। आफ्नो विश्वासमा उनले कहिल्यै सम्झौता गरेनन्।
उनी अत्यन्त थोरै बोल्ने। सरल जीवनशैली र कठोर अनुशासनले उनको समग्र व्यक्तित्व झल्काउँथ्यो। समाजमा निस्कने हरेक जटिल प्रश्न तथा समस्याका सहज उत्तर दिन सक्ने खुबी भएका व्यक्ति थिए मुक्तिनाथ।
१० वर्षे माओवादी द्वन्द्वमा स्वतन्त्रता र न्यायका पक्षधर निहत्था नागरिकहरू राज्य र विद्रोही दुवैको निशानामा परिरहे। माओवादी युद्धमा संलग्न कतिलाई सुरक्षा फौजले पक्रँदै मार्ने गरेको थियो। २०५७–५८ सालाताका एम्नेष्टी इन्टरनेशनलले यस्तो गैरन्यायिक हत्या अन्त्य गर्न सरकारलाई दबाव दिन अभियान चलायो। 'समूह ७९' को संयोजकको नाताले मुक्तिनाथले त्यो अभियानको नेतृत्व गरे।
दूर्भाग्य, त्यसको केही समयपछि माओवादीहरूको हातबाटै मुक्तिनाथको गैरन्यायिक हत्या भयो।
१८ वर्षअघि माघ ३ गते, अर्थात् आजैका दिन माओवादीहरूले मुक्तिनाथलाई पढाइरहेको कक्षाकोठाबाट निकालेर लगे। हात बाँधेर अपहरण गरिँदासम्म मृत्युको पूर्वाभास पाइसकेपछि उनले सहकर्मीहरूलाई भने, 'साथीहरू, म नफर्किन सक्छु। स्कुल र आफ्नो ख्याल राख्नू।'
तर पनि उनी रत्तिभर आत्तिएनन्। आफ्नो विचारमा अडिग रहे। अपहरणकर्तासँग जीवनको भिक मागेनन्। मुक्तिनाथ जुन आदर्शमा बाँच्थे, त्यहाँ सम्झौता अटाउँदैन्थ्यो। उनले शिर झुकाउन चाहेनन्। बरु हिंसा र आतंकको विरोध गर्दै खुसीसाथ मुत्यु अँगाले।
साधारण जीवन बाँच्ने तर मृत्युसँग पनि नडराउने, त्यो दृढ इच्छाशक्ति, साहस र आदर्श मुक्तिनाथहरूले कहाँबाट पाए होलान्?
ऐतिहासिक सन्दर्भमा हेर्दा, २००७ को क्रान्ति नेपालको आधुनिक इतिहासको कोशेढुंगा हो। सोही क्रान्तिले शिक्षा र चेतनाको उभार ल्यायो। विश्व राजनीतिको स्वभाविक प्रभाव स्वरुप नेपालमा प्रष्ट तीन राजनीतिक धार विकास भए— राजपरिवार केन्द्रविन्दुमा रहेको दक्षिणपन्थ, विश्वेश्वरहरूले नेतृत्व गरेको ‘प्रजातान्त्रिक धार’ र पुष्पलालहरूले विकास गरेको ‘वामपन्थ’।
राजनीतिक उतार चढाव बेहोर्दै राजशाही र संस्थापन पक्षसँग लड्दै कांग्रेस र कम्युनिष्टहरूले आफ्नो सैद्धान्तिक मूल्यहरू जनतासम्म स्थापित गर्न सके। राजनीतिक आस्थालाई आफ्नो प्राण ठान्ने सिद्दान्तनिष्ठ नेता, कार्यकर्ता देशैभरी निस्किए। धेरै नागरिकले पनि त्यो चेतना र आदर्श ग्रहण गरेका थिए। आजको राजनीति तिनै युगपुरुषहरूको त्याग र बलिदानको विरासतमा अडेको छ।
लोकतान्त्रिक चेतना र त्यसका लागि बलिदान गर्ने सामर्थ्य दुवै बोकेका नागरिक थिए, मुक्तिनाथ।
दिनभरी पढाएर स्कुलबाट निस्किएपछि अन्य सहकर्मीजस्तै उनी पनि चिया पसलमा गफ गरेर बस्न सक्थे। तर उनी आफ्नो बचेको समय गाउँमा पुस्तकालय चलाउन खर्च गर्थे। सामाजको विकासमा लगाउँथे। विद्यार्थीहरूको पढाइमा लगाउँथे। बाँकी समय परिवारलाई दिन्थे।
उनको हत्याको १८ वर्षपछि पनि मुक्तिनाथ अधिकारीको क्रुर हत्याको फोटो १० वर्षे द्वन्द्वमा भएका मानवअधिकारका जघन्य उल्लंघनहरूको प्रतिनिविम्ब बनेको छ। उनको फोटो देख्ने सबैले मनमनै प्रश्न गर्छन्- निहत्था निर्दोष एक शिक्षकको किन निर्मम हत्या गर्यौ?
तर कमैले प्रश्न गर्छन्– ‘मुक्तिनाथ, तिमी त्यो कुन विश्वासको मेरूदण्डमा उभिएका थियौ, जसले तिमीलाई सम्झौता गरेर झुक्न दिएन र सजिलै मृत्यु रोज्न लगायो?’
मुक्तिनाथले बाँचेको राजनीतिक चेत र आदर्शको मर्म हामीले बुझ्न जरुरी छ।
किनकि मुक्तिनाथहरू जन्माउने, बस्ती-बस्तीमा चेतनाको बत्ती बाल्ने राजनैतिक नेताहरू अहिले ‘दलाल पुँजीपति’हरूको पृष्ठपोषण गरेर आफ्नो सत्ता जोगाउन तल्लीन छन्।
नैतिकताबाट स्खलित नेताहरूको बोलीमा प्राण छैन। दाउपेचमात्र देखिन्छ। यही लोकतान्त्रिक सिद्धान्त, व्यवस्था र यी नेताहरूलाई स्थापित गर्न ज्यान हत्केलामा राख्ने जीवित मुक्तिनाथहरू अहिले आत्मग्लानी अनुभव गरिरहेका छन्। सत्ताको भर्याङ बनाइएका ती असहाय नागरिकहरूको पीडाप्रति सरकार र अहिलेको राजनीति अति क्रुर र बेइमान बनेको छ।
सुमन अधिकारी (मुक्तिनाथका छोरा)हरू आफ्नो पिताको हत्याको सत्यतथ्य थाहा पाउन १८ वर्षदेखि संघर्ष गरिरहेका छन्। पुलिसका लाठी खाइरहेका छन्। राज्य आलटाल गर्छ। पीडितको दबावमा गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले परिणाम दिन सक्दैन। कार्यकर्ता भर्ती केन्द्र मात्र बन्छ। अहिलेको तीतो सत्य यही हो।
यतिका वर्षसम्म पनि इष्टमित्र र प्रियजनले त्यो पाशविक हत्या भएको दिन बिर्सन सकेका छैनन्। परिवारले त झन् भुल्न सक्ने कुरै भएन।
आज माघ ३ मा मुक्तिनाथका परिवार र प्रियजन फेरि भेला हुनेछन्।
मानवअधिकारकर्मी र राजनीतिज्ञलाई साक्षी राखेर फेरि पनि मुक्तिनाथका जेठा छोराले पीडितप्रतिको दायित्वका बारे गैरजिम्मेवार बनेको राज्यलाई १८ वर्षदेखिका उही प्रश्न गर्नेछन्- मेरा पिताजस्तै द्वन्द्वमा सहभागी नभएका नागरिक किन मारिए? सत्यको जानकारी कहिले दिन्छौ? पीडकलाई कहिले दण्ड दिन्छौ? द्वन्द्वपीडितका परिवारलाई परिपुरणको व्यवस्था कहिले गर्छौ? यो राजनैतिक परिवर्तनमा मेरा पिताजस्ता हजारौं निर्दोष नागरिकको रगत र हजारौं परिवारको पीडा र आँशुको स्थान कहाँ छ?
१८ वर्षसम्म नओभाएका आँखा लिएर मुक्तिनाथकी पत्नी इन्दिरा एक मात्र प्रश्न गरिरहनेछिन्– निर्दोष मेरा पतिलाई किन मार्यौ?
सरकार, द्वन्द्वपीडितको आँसु र पीडामाथिको उदासिनता कहिलेसम्म?
शान्ति सम्झौता भएको १३ वर्ष पुगिसक्यो, तर पीडित झन् पीडामा तड्पिरहेका छन्। न्याय कहिले दिन्छौ? समस्या आलटाल गरेर समय गुज्रिन्छ मात्र, न्याय टार्न सकिन्न।
सरकारले पीडितलाई न्याय दिन भनेर अगाडि सारेको अहिलेको प्रक्रियाप्रति पीडित स्वयंले नै विश्वास गरेका छैनन्। पीडितको नै विश्वास र सहकार्य नभएको प्रक्रिया कसरी सफल होला? कसरी पीडितले न्याय महशुस गर्लान्?
त्यसैले पीडितले अपनत्व नलिएको यो प्रक्रिया तत्काल पुनरावलोकन गरी पीडित समुदाय समेतको विश्वास, सहकार्य र अपनत्वमा संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढाऊ, ताकि पीडितहरू आश्वस्त हुन सकून्।
पीडित, मानवअधिकारवादी तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित मान्यताका आधारमा संक्रमणकालीन न्यायको समयसीमा सहितको कार्ययोजना बनाइयोस्। जसमा सर्वोच्च अदालतको परमादेश, हस्ताक्षर गरिएका मानवअधिकारका महासन्धिहरू, शान्ति सझौता तथा पीडितहरूको सहमतिमा ऐन संशोधन गरी सहकार्यको वातावरण सिर्जना गरियोस्।
दलीय इशारामा चल्ने र पीडितको भावनासँग खेल्ने व्यक्ति छानेर पीडितको घाउमा राज्यले नुनचुक नछरोस्। कम्तिमा मुक्तिनाथहरूको आदर्शको धज्जी नउडाइयोस्।