इस्लामाबाद डायरी
केही दिनदेखि इस्लामाबाद सुनसान छ। उसै पनि भिडभाड कम भएको र तुलनात्मक रूपले शान्त, सानो सहर हो इस्लामाबाद। त्यसमाथि कोरोना भाइरसको संक्रमण रोक्न स्कुल, कलेज गएको साता नै बन्द भइसकेका छन्। अधिकांश सरकारी र व्यापारिक कार्यालय आउने साताबाट बन्द रहनेछन्। खुद्रा बजार र स्थानीय स-साना रेस्टुरेन्टहरूमा फाट्टफुट्ट मात्र मानिस देखिन्छन्। सडकमा गाडीहरू आधाभन्दा कम गुडिरहेका छन्।
मस्जिदबाट बिहान, बेलुकी निस्किने फजर र मगरेब प्रार्थनाका अजान उस्तै होलान्। तर, तिनीहरूमा आजभोलि एकप्रकारको मलिनता पाउँछु। कुनै संकटको उद्घोषजस्तो। त्रासदीपूर्ण समयका लागि तयार रहन गरिएको विरहपूर्ण धुनजस्तो।
यो क्षेत्रका लागि संकट नयाँ कुरा होइन। गत वर्ष फेब्रुअरी महिनामा श्रीनगरको पुल्वामामा भएको आतंककारी आक्रमणलाई लिएर भारत र पाकिस्तानबीच द्वन्द्व चुलियो। दुवै देशले आणविक हतियार प्रयोग गर्नेसम्मका धम्की साटिरहँदा इस्लामाबाद सम्भावित संकटबाट त्रसित थियो।
यो वर्षको सुरुआतमा पाकिस्तानसँग सीमा जोडिएको इरानमाथि अमेरिकी आक्रमणको खतरा एक्कासि चुलियो। अमेरिका र इरानबीचको तनावले बृहत् युद्धको रूप लिएको भए त्यसबाट पाकिस्तान प्रत्यक्ष रूपमा प्रभावित हुने थियो।
दुवै संकट कुनै ठूलो क्षतिबिना टरेर गए। मस्जिदमा प्रार्थनका अजानहरू बजिरहे। मानिसले आफ्ना नियमित काम गरिरहे।
एक वर्षअघि पाकिस्तानमा दिगो विकास र शान्तिका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो। उक्त सम्मेलनमा मैले नेपालका स्थानीय सरकारले कस्ता प्रकारका कर उठाउँछन् र यसबापत आम जनतालाई कस्ता सेवा प्रदान गर्छन् भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेको थिएँ। उक्त छलफलमा नेपाल लगायत पाकिस्तान र जर्मनीका स्थानीय सरकारका अनुभव प्रस्तुत गरिएका थिए। छलफलको अध्यक्षता पाकिस्तानका प्रसिद्ध अर्थशास्त्री र पूर्व अर्थमन्त्री हफिज पाशाले गरेका थिए।
छलफल क्रममा सहभागीमध्ये एकले प्रश्न गरे, 'हामी विकेन्द्रीकरण र स्थानीय स्वायत्तताको कुरा गर्छौं तर पाकिस्तानजस्ता देश सधैं युद्धको खतरा सामना गरिरहेका छन्। हामीले सामरिक शक्ति बलियो नबनाउने हो भने आफ्नो अस्तित्व रक्षा कसरी गर्ने?'
छलफलको अध्यक्षता गरिरेका हफिज पाशाले यो प्रश्नको गम्भीर जवाफ सामान्य शब्दमा दिए, 'जनता बाँच्न पाए भने मात्र उनीहरूको रक्षा सेनाले गर्ने हो। स्वास्थ्य, शिक्षा, रोजगारका अवसर पहिलो प्राथमिकतामा पर्नुपर्छ। यसका लागि स्थानीय सरकारलाई सेवा प्रदायकका रूपमा बलियो बनाऊ।'
कोरोना भाइरसबाट उत्पन्न संकटले संसार आक्रान्त भएका बेला हफिज पाशाको भनाइ मेरो मनमा खेलिरहन्छ। वास्तवमा सबैभन्दा मुख्य कुरा जनताको जीवन हो। यसको सुरक्षा भए मात्र अन्य कुराको अर्थ रहन्छ।
पाकिस्तान लगायत संसारका अन्य राष्ट्रका अहिलेसम्मका प्राथमिकता सम्भवत: गलत थिए। अर्थतन्त्र बलियो बनाउने, बजार प्रवर्द्धन गर्ने, प्राकृतिक स्रोत सुनिश्चित गर्ने र सामरिक शक्ति विस्तार गर्ने कुरा उच्च प्राथमिकतामा राखिरहँदा राष्ट्रहरूले प्रकृतिबाट उत्पन्न हुनसक्ने असुरक्षाको सम्भावना हेरेनन्। आफू-आफू लडिरहे तर जनताको जीवन रक्षाका लागि नभई नहुने आधारभूत सेवा र पूर्वाधारमा ध्यान दिएनन्।
पाकिस्तानमा आजसम्म चानचुन पाँच सय मानिसमा कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको छ। त्यसमध्ये तीन जनाले ज्यान गुमाएका छन्। पाकिस्तानको व्यापारिक केन्द्र मानिने सिन्ध, ठूलो जनसंख्या रहेको पञ्जाब र अफगानिस्तानसँग सीमा जोडिएको खेबर पख्तुन्ख्वा प्रान्तमा संक्रमण फैलिँदैछ।
इस्लामाबादमा समेत अहिलेसम्म १० जना मानिसमा संक्रमण देखिएको छ। संक्रमितमध्ये अधिकांश इरान, अफगानिस्तान र अरबका विभिन्न मुलुकमा रहेका पाकिस्तानी नागरिक छन्, जो त्यस क्षेत्रमा फैलिएको महामारीपछि केही दिनअघि स्वदेश फर्केका थिए।
स्वाधीन मुलुकका रूपमा पाकिस्तानको इतिहास छोटो छ, तर उथलपुथलहरूले भरिएको छ। आन्तरिक राजनीतिको इतिहास द्वन्द्व र अनिश्चितताबाट गुज्रेको छ। जातीय र धार्मिक आधारमा संगठित समूहका अराजक गतिविधिसँग पाकिस्तान निरन्तर जुधिरहेको छ। अफगानिस्तान र इरानसँग सीमा जोडिएका कारण क्षेत्रीय तनावमा पाकिस्तान प्रत्यक्ष वा परोक्ष रूपले प्रभावित भइरहनुपर्छ।
घरभित्र पनि पाकिस्ताना चुनौती साना छैनन्। आम्दानी र खर्चबीचको खाडल अत्यन्त ठूलो छ, जसले यति बेला पाकिस्तान सरकार अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण सहयोगमा निर्भर छ। कुल ग्राहस्थ उत्पादनमा करको अनुदान १२ प्रतिशतभन्दा कम छ। परिणामस्वरूप सेवा प्रवाहमा सरकारको क्षमता कमजोर छ। मानव विकाससँग सम्बन्धित केही महत्त्वपूर्ण सूचकहरूले पाकिस्तानका चुनौती थप प्रस्ट पार्छन्।
उदाहरणका लागि, पाकिस्तानमा साक्षरता प्रतिशत ६० भन्दा कम छ। एक हजार जीवित जन्मेका शिशुमध्ये ५८ शिशुले विभिन्न कारणले ज्यान गुमाउँछन्। महिला साक्षरता दर ५० प्रतिशत हाराहारी छ।
वर्तमान प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा आमूल सुधारको थालनी गरेका छन्। अर्थतन्त्र ठीक ठाउँमा ल्याउने र सँगसँगै सामाजिक विकास तथा मानव सुरक्षामा काम गर्ने उनको घोषित नीति छ। यसका लागि उनले सेवा क्षेत्र सुधारको अभियान चलाएका छन्। गरिबलाई रोजगारी र राहतका कार्यक्रम ल्याएका छन्। वातावरण संरक्षणका लागि एक अरब रूख रोप्ने र वृक्षारोपण अभियानलाई ग्रामीण गरिबको जनजीविकासँग जोड्ने कार्यक्रम छ।
पाकिस्तानमा ठूलो समस्याका रूपमा रहेको पोलियो उन्मूलन गर्न उनको सरकार कडा मेहनत गरिरहेको छ। सरकारको कामलाई छिटो र प्रभावकारी बनाउन इमरान खानको सरकारले ‘डिजिटलाइजेसन’ लाई उच्च प्राथमिकतामा राखेको छ।
आफ्ना बरालिएका सूचकांकलाई सही ठाउँमा ल्याउन प्रयत्नशील पाकिस्तानलाई यति बेला कोरोना भाइरसको त्रासदीपूर्ण संकटले छोपेको छ। भाइरस संकटले उग्र रूप लिए स्वास्थ्य सेवा प्रवाहको अवस्था कमजोर रहेको पाकिस्तानले बिरामीको उपचार कसरी गर्ला? अस्पतालका बेड र भेन्टिलेटर कसरी जुटाउला? स्वास्थ्यकर्मीलाई सुरक्षित रूपले कसरी परिचालित गर्ला?
यसपटक हिउँदमा इस्लामाबादमा निरन्तर वर्षा भयो। रैथानेहरूका अनुसार, हिउँदमा यति धेरै वर्षा भएको अनुभव उनीहरूसँग थिएन। यही वर्षाका कारण यसपटकको जाडो अलि लम्बिन गयो। जाडो साटसुट्ट हराएर गर्मी मौसम सुरु हुँदा यहाँ चाडपर्व पनि सुरू हुनेछन्। अबको चानचुन एक महिनापछि अप्रिल २४ तारिखमा रमादान सुरू हुनेछ, जसको एक महिनापछि इद-उल-फित्रको ठूलो चाड आउँछ।
पाकिस्तानमा बस्ने नेपालीहरूको संख्या ठूलो छैन। यकिन तथ्यांक नभए पनि नेपाली राहदानी लिएर पाकिस्तानमा अस्थायी रूपले बसोबास गरिरहेकाहरू दुई सयभन्दा कम छन्। इस्लामाबादमा हामी चानचुन ४० नेपाली नागरिक छौं, जसमध्ये विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गर्नेहरूको बाहुल्य छ।
अन्तर्राष्ट्रिय नियोगमा काम गर्ने नेपालीहरूमध्ये केही सरसफाइ, महामारी तथा मातृ शिशु स्वास्थ्यका विशेषज्ञ हुनुहुन्छ, जसले पाकिस्तान सरकारलाई अहिलेको कोरोना भाइरसको महामारी सामना गर्ने प्रयासमा प्रत्यक्ष सघाइरहनुभएको छ।
यसअतिरिक्त चिकित्सा शिक्षामा विशेषज्ञता हासिल गर्ने क्रममा यहाँका शिक्षण अस्पतालमा कार्यरत केही नेपाली चिकित्सक पनि कोरोना भाइरस सामना गर्ने पूर्वतयारीमा पाकिस्तानलाई सघाउँदै हुनुहुन्छ।
कोरोना भाइरसको प्रभाव पाकिस्तानमा कस्तो होला? यस्तो बेला कसरी सुरक्षित रहने? एकअर्कालाई कसरी सहयोग गर्ने? आजभोलि यहाँका नेपालीबीच हुने कुराकानीको मुख्य विषय यही हो।
आजको दिनसम्म इस्लामाबादमा दैनिक उपभोग्य सामग्री हाहाकार भइसकेको छैन। खानेकुरा लगायत सरसफाइका सामान जहाँतहीँ सजिलै किन्न पाइन्छ। भाइरस सबैतिर फैलिँदा बजार जानु नपरोस् भनेर हामीले केही साताका लागि यस्ता सामान जोहो गरेका छौं। के कुरामा पनि सचेत छौं भने, अचाक्ली सामान किनिदिँदा अरूले तिनै सामान नपाउने सम्भावना नहोस्।
कोरोना भाइरसले उब्जाएको संकट कुन रूपमा विकास होला भनेर यकिन गर्न गाह्रो छ। एउटा कुरा भने निश्चित छ- यसले संसारभरको सामाजिक-आर्थिक संरचनालाई जरैसम्म हल्लाउने छ। भोलिको अर्थतन्त्र र राजनीतिको संरचना हिजोको जस्तो रहने छैन। उत्पादन र उपभोगका प्रवृत्ति फेरिने छन्।
अझ महत्त्वपूर्ण त के भने, हाम्रो आजसम्मका दिनानुदिनका ‘रुटिन’ अब यही रूपमा रहने छैनन्। प्राथमिकताहरू फेरिने छन्। व्यवहार र सम्बन्धहरू फेरिनेछन्। बाँच्ने र मर्ने तरिकाहरू फेरिनेछन्।
रमादान पाकिस्तानको विशेष पर्व हो। यो एकमहिने पर्वमा मुस्लिम धर्मका अनुयायी आपसमा दिनभर सँगै ब्रत बस्छन्। साँझ घाम डुब्न लाग्दा टोल, छिमेकका मानिस जम्मा भएर इफ्तार खान्छन्। रमादान र इदको समय जताततै सामान किन्ने र रमाइलो गर्ने मानिसको घुइँचो हुन्छ।
यस वर्ष रमादानको ब्रत पोहोर सालको जस्तो हुने छैन। यस वर्षको इफ्तार पोहोरको इफ्तारजस्तो हुने छैन।
मानिस-मानिसबीचको सम्बन्ध आपसमा नजिक रहँदा जीवन्त हुने हो। हामी सँगै बसेर बात मार्छौं। सभा-सम्मेलन, बैठक, भजनकिर्तन, पूजाआजा, विरोध प्रदर्शन, मायाप्रेम- सबै आपसमा जोडिएर नै सम्भव हुन्छन्। बाझाबाझ गर्दा समस्या सुल्टेन भने कहिलेकाहीँ मुक्कामुक्की पनि गर्नुपर्ने हुन्छ। कोरोना भाइरसले मानिसका यी स्वाभाविक र आधारभूत व्यवहारमाथि चुनौती खडा गरेको छ।
भविष्यमा मायाप्रेम कसरी गरिएला? माइतीघरका विरोध प्रदर्शन कस्ता होलान्? सुकुल भोज कस्ता देखिएलान्? देउसी-भैलो कसरी खेलिएलान्? बिहाको निम्तो पठाउँदा 'भोजमा आउँदा कोरोनाको संक्रमण नभएको प्रमाणपत्र लिएर आउनुहोला' भन्ने सन्देश लेख्नुपर्ने पो हो कि?
हाम्रा लागि खाना बनाइदिने नायलाका लागि हरेक आइतबार विशेष हुन्छ। छुट्टीको यो दिन उनी आफ्ना पतिसँग सेक्टर एफ एटमा रहेको फातमा प्रोटेस्टेन्ट चर्च जान्छिन्। बजारको किनमेल गर्ने, आफ्ना आमाबालाई भेट्ने र सिनेमा हेर्ने उनको दिन पनि यही हो। यो आइतबार भने नाइलाको ‘रुटिन’ रोकिने छ।
इस्लामाबादमा रहेका एक दर्जनभन्दा बढी चर्च सबै बन्द गरिएका छन्। यहाँको ठूलो र प्रसिद्ध फैसल मस्जिद बन्द गरिएको छ। सिनेमा हल बन्द छन्। सबैभन्दा ठूलो सपिङ मल ‘सेन्टोरस’ बन्द गरिएको छ।
नायलालाई आफ्नै नातेदार भेट्न पनि जाँगर छैन। यो आइतबार चर्च जाने कार्यक्रम छैन। उनी हामीलाई भन्छिन्, 'भाइरस खत्म होगा, तब् जाएगें चर्च।'
इस्लामाबादस्थित नेपाली दूतावासका अधिकारी सहृदयी हुनुहुन्छ। उहाँहरू आफैंले बेलाबेला फोन गरेर हालखबर सोधिरहनुहुन्छ। 'केही सहयोग आवश्यक भए सम्पर्क गर्नू है' भनिरहनुहुन्छ। आफ्नो देशका प्रतिनिधिबाट प्राप्त सहयोगको आश्वासन र असल व्यवहार मात्र पनि संकटको घडीमा सन्तुष्टिको ठूलो आधार बन्छ। हामी विगतमा कोरोना भाइरसबाट प्रभावित विद्यार्थीलाई नेपाल सरकारले उद्धार गरेको सम्झन्छौं।
समय बदलिएको छ। संसारभर भाइरसको प्रभाव फैलिसकेको छ। अब कोरोना भाइरसबाट भागेर जाने ठाउँ छैन। यसबाट बच्ने एउटै उपाय अरूसँगको सम्पर्क घटाउने र भाइरसलाई फैलनबाट रोक्ने हो। यसो गरे आफ्नो र अरूको दुःख कम गर्न सकिन्छ।
इस्लामाबादमा बस्ने हामी नेपाली र नायलाको मनोदशा उस्तै छ- जब भाइरस खत्म होगा, तब जाएंगे नेपाल! (जब भाइरस खतम होला, तब गइएला नेपाल!)
सबै तस्बिर: सञ्जीव पोखरेल
यी पनि हेर्नुहोस्: