'तीसरी कसम' - लकडाउनले घरभित्र थुनिएकाहरूलाई यो सिनेमा हेर्नुस् भनेर म सिफारिस गर्दिनँ। यसअघि सिफारिस गरेका कतिपय दर्शकबाट मैले सकारात्मक प्रतिक्रिया पाएको पनि छैन। तर, केही कुराहरू छन्, जसले मेरो निम्ति यो जीवनकै सबभन्दा बढी प्रभाव पार्ने सिनेमा बनेको छ।
बितेका केही साताको फुर्सदमा धेरैले जस्तै मैले पनि उपलब्ध भएसम्म संसारभरिका राम्रा सिनेमा हेर्ने कोशिस गर्दै आएँ। यसबीच केही दिनअघि फेरि ‘तीसरी कसम’ हेरेँ। यसले मेरो मथिंगल फेरि खलबल्याइदियो।
किन त?
सबभन्दा पहिले त, यो सिनेमाले ओगटेको भावभूमि मेरो आफ्नो थियो।
यो सिनेमा भारतका प्रसिद्ध लेखक फणीश्वरनाथ रेणुको कृति ‘मारे गए गुलफाम’ मा आधारित छ। प्रेमचन्दपछिका उम्दा भारतीय लेखकका रूपमा चिनिन्छन् रेणु। विशेष गरी आफ्नो परिवेश अर्थात् गंगा नदीको उत्तरवर्ती समथर भेगमा उनका सिर्जना उभिएका हुन्छन्, जुन मेरो पनि आफ्नो भेग (वीरगन्ज र रौतहटको देहातस्थित मामाघर) हो।
रेणु विहारको पूर्णिया जिल्लाका हुन्। उनको यस सिनेमाका नायक (राज कपुर) पनि आफूलाई पुरैनिया (पूर्णिया) कै भनेर चिनाउँछन्।
मेरो थलोभन्दा पूर्वतिर केही पर सीमावर्ति भेगमै यो सिंगो सिनेमा उभिएको छ। राजनीतिक सीमाले नकाट्ने हो भने कहाँबाट नेपाल सुरू हुन्छ र कहाँबाट भारत आइपुग्छ भनी पत्तो नपाइने साझा दृश्य र स्वाद बोकेका छन् यी भेगले।
सिनेमाको सुरूआत नै राज कपुरले बोर्डरमा तस्करीको सामान ओसार्दै गरेको दृश्यबाट हुन्छ। यसले नेपाल-भारतकै सीमानाको कथा पुष्टि गर्छ। यसले उभ्याएको देहातमा मेरै वरपरको ज्यूँदोजाग्दो दृश्य छ।
मैले बाल्यकालभरि बयलगाडीमै यात्रा गरेर घुम्ने गरेको सिमरौनगढ र गढीमाईका मेलाहरूको झल्को यो सिनेमामा पनि भेट्छु। सिनेमामा गाउँलेले बोल्ने मैथिली, बज्जिका र भोजपुरी भाषाले त झनै स्थानीयता अनुभूत गराउँछ।
भावभूमिपछि अर्को मुख्य कारण यस सिनेमामा जोडिएका एक से एक हस्ती हुन्।
सबभन्दा पहिले रेणुकै कुरा गरौं। इन्दिरा गान्धीले संकटकाल लगाएपछि साहित्यका लागि पाएको 'पद्मश्री' फिर्ता गर्ने रेणु ज्यूँदाजाग्दा विद्रोही थिए।
उनीसँग हाम्रो आफ्नै सम्बन्ध पनि छ। विश्वेश्वरप्रसाद कोइरालाको पछि लागेर विराटनगर आएपछि उनी कोइराला निवासमै बसेका थिए। कृष्णप्रसाद कोइरालाले स्थापना गरेको स्कुलमा पढेका थिए। सबभन्दा मुख्य त, नेपालको स्वतन्त्रता आन्दोलनमा सरिक भएका रेणुसँग ‘पाठकत्व’ जत्तिकै बलियोसँग हाम्रो ‘आफन्तपन’ पनि जोडिन्छ।
वास्तवमा सिनेमा हेरेपछि आफ्नै मस्तीमा आनन्दित भइरहँदा मलाई लेखिहाल्ने जाँगर थिएन। पत्रकार चन्द्रकिशोर झाको ट्वीटले शनिबारै रेणुको पुण्यतिथि भएको जानकारी दिएपछि भने मनमा हलचल मच्चियो र लेख्न कस्सिएँ।
राजनीतिक सीमानालाई एकछिन बिर्सौं, चुरे र गंगाबीच बस्नेहरूका निम्ति रेणुका कृतिहरूले जत्तिको देहाती अपनत्व सायदै अरूले दिलाउँछन्।
अब आउँ सिनेमाका अर्का पात्र राज कपुरतिर।
मलाई संसारकै अभिनेतामध्ये सबभन्दा मनपर्ने आँखा राज कपुरका लाग्छन्। अनि मैले हेरेका राज कपुरका एक से एक महान सिनेमामध्ये ती आँखाले सबभन्दा बढी भाव प्रकट यसै सिनेमामा गरेको म पाउँछु।
एउटा दूरदराज देहातमा बाँचेको अत्यन्त सरल र साधारण बयलगाडी हाँक्ने मानिसको भूमिका छ यसमा, राज कपुरको। गाउँका बढाबूढाले र आफ्नै भाउजूले पनि ‘असल मानिसले नौटंकी हेर्न हुँदैन’ भनेर उनलाई वर्जित गरेका छन्। तर, उनकै बयलगाडीमा एक साँझ नौटंकीकी बाई सवार हुन्छिन्, जसलाई चौबीस घन्टा लगातार यात्रा गरेर बीस कोस टाढाको मेलासम्म पुर्याउनु छ।
जंगलको बाटो मध्यरात बयलगाढा हाँक्दै गर्दा जब पछाडिबाट पाउजू बजेको सुनिन्छ, उनी झसंग हुन्छन्। एकैछिनमा युवतीको खुट्टा देख्दा त डरले खुत्रुक्कै पर्छन्। जंगलबीचको देउतालाई आफ्नो ज्यान जोगाइदिन पूजा आराधना गर्छन्।
कहाँ ‘श्री ४२०’ र ‘आवारा’ का राज कपुर कहाँ यी लाजका पोका भोलाभाला राज कपुर!
जसरी सिनेमाका नायक असाध्यै कम संसार देखेको अबोध सिधासाधा छ, नायिका भने नौटंकीको बाईका रूपमा संसार र दुनियाँदारीलाई चाहिनेभन्दा बढी नै भोगेकी पात्र। यो ‘कन्ट्रास्ट’ बीचको सामीप्य र दुरीलाई सुन्दरताका साथ देखाउन सक्नु नै यो सिनेमाको महत्वपूर्ण पक्ष हो।
दुनियाँ देखेकी कम्पनीकी बाई बजारको रमझमभन्दा पर एउटा अत्यन्तै अवोध र लजालु युवकसँग लगातार पराजित हुँदै जान्छिन्। यी दुईबीच बुनिएका क्षणहरूले सिनेमाको प्रत्येक फ्रेम एउटा गजबको चित्रकारिताजस्तो लाग्छ। कुनै इम्प्रेसनिस्टका पुरानो तैलरंगजस्तै।
आँखामा झल्किने अवोधपनाबाटै नायिकालाई पराजित गर्ने राज कपुरबारे त भनिहालियो, नायिका छिन् वहिदा रहमान। यहाँ उनले निर्वाह गरेको हिरा बाईको चरित्रमा यो सिनेमाकै अर्को गजब विषयवस्तु छ।
चलचित्रभरि एउटी लोककथाकी पात्र उभ्याइएको छ। हाम्रो भेगतिर अनेक देहाती लोककथा हुन्थे। हिजोआज बिजुली, मोटर, टेलिभिजन र मोबाइल सबैतिर पुगेपछि देहात भन्ने चिज नै अलप भइसकेको छ। त्यो अनकन्टार जीवन अहिले विरलै भेटिन्छ। हामीले बाल्यकालतिर भोगेका देहातमा त्यस्ता थुप्रै लोककथा सुनिन्थे। त्यसैमध्येकी एक पात्र हुन्- ‘महुवा घटवारिन’।
ताडी खाएरै जीवन बिताउने बाबुबाट बेवास्ताको शिकार महुवाकी सौतिनी आमाले उनलाई सौदागरका हातमा बेचिदिन्छिन्। त्यसपछिको घटना भने रेणुले लेखेको कथा र वासु भट्टाचार्यले निर्देशन गरेको यो सिनेमामा केही फरक छ। तर, जतिसुकै फरक भए पनि दुवैले देखाउने भनेको त्यस लोककथाकी अत्यन्त साधारण पात्र ‘महुवा घटवारिन’ भित्रको स्त्रीत्व, मातृत्व, प्रेम र विद्रोहको झलक हो।
हेपिइएकी, दबाइएकी अनि स्वतन्त्रतापूर्वक सास फेर्न छटपटाइरहेकी एउटी नारी।
अन्तिममा चाहे खलनायकका रूपमा होस्, चाहे नायकका रूपमा उपस्थित पुरुषहरूलाई छाडेर उसले आफ्नै स्वतन्त्रताको बाटो समात्छे। त्यही लोककथाकी पात्रलाई नायिका अर्थात् नौटंकीकी बाईको भोगाइसँग मिलाउँदै सिनेमा अघि बढाइएको र सिध्याइएको छ।
यो आफैंमा एउटा गजब प्रयोग हो। जसरी महुवा घटवारिनले न सौदागरलाई पछ्याउँछे न उसलाई डुब्नबाट जोगाउन खोज्ने (सिनेमामा चाहिँ परदेश जाने प्रेमी) लाई, त्यसैगरी हिराबाईले पनि न आफूलाई बाईका रूपमा भोग्न खोज्ने जमिनदारलाई स्वीकार्छिन् न सतिसावित्री बनाएर घरमा राख्न खोज्ने बयलगाढा हाँक्ने नायकलाई। किनभने, दुवैको चाहना त उनलाई आफूले तयार पारेको ‘दृष्टिकोण’ को बन्धनमा राख्ने हो। उनी दुवैलाई अस्वीकार गर्छिन्।
यस्तो चूनौतीपूर्ण भूमिका अत्यन्त लोभलाग्दो पाराले निर्वाह गरेकी छन् वहिदा रहमानले।
यस हिसाबले नायिकाको कामै खलनायकबाट जोगिएर कुनै नायकको हातमा पुग्नु हो भन्ने आज पनि सबैतिरका सिनेमामा जारी ‘स्टेरियो टाइप’ हरूबाट सन् १९६६ मै बनेको यो फिल्म बिल्कुल अलग देखिन्छ।
नायक-नायिका मात्र होइन, यस सिनेमाका प्रत्येक पात्र जीवन्त छन्।
धेरै फिल्मी परम्परा नकारेर आफ्नै हिसाबले अघि बढेको यस सिनेमामा वासु भट्टाचार्यले एउटा ‘बहादुर’ पात्रलाई चाहिँ उही बम्बईया हेराइबाटै उभ्याएको देख्दा त्यो एक ठाउँमा नेपाली मनलाई उदेक लाग्छ। नत्र, सबै आफैंमा उदाहरणीय छन्।
सत्यजीत रेको 'पाथेर पान्चाली' बाट प्रभावित भई सिने क्षेत्रमा लागेका भट्टाचार्यको यो नै निर्देशकका रूपमा पहिलो सिनेमा थियो, जसका लागि निर्माता शैलेन्द्रले उनलाई विश्वास गरेका थिए।
शैलेन्द्र, हसरत जयपुरी, शंकर जयकिशनजस्ता हिन्दी फिल्मी गानाका प्रतिभा एउटै सिनेमामा अटाएको हिसाबले पनि यो एक ऐतिहासिक फिल्म हो।
मोटामोटी सवा दुई घन्टाको सिनेमामा चालीस मिनेट त गीतै बजिरहने सिनेमा हो यो। अनि एक से एक गीत। एकातिर संगीतको धनी उबेलाकी नौटंकीकी बाई अनि अर्कातिर दुरदराजका लोकगीतको खजाना समेटेको सिनेमा भएपछि यसो हुनुमा कुनै आश्चर्य पनि रहेन।
चराका चिरबिर अनि गोरूका घाँटीमा झुन्डिएका घन्टीलाई निरन्तरता दिँदै बढ्ने शंकर जयकिशनका संगीतले चुरे र गंगाबीचका ग्रामीण बस्तीको मौलिक आवाजलाई माटैबाट उठाएर हावामा गुञ्जाइरहेको प्रतीत हुन्छ।
सिनेमाको सुरूआतै ‘सजन रे झुठ मत बोलो, खुदाके पास जाना है’ जस्तो सर्वकालीक हिट गीतबाट हुन्छ। त्यसैगरी नायकको मौलिक देहातीपन अघि बढाउँदै लोककथामै आधारित ‘सजनवा बैरी हो गइ हमार’ र ‘दुनियाँ बनाने वाले क्या तेरी दिलमे समाइ, काहेको दुनियाँ बनाई’ जस्ता गीत गुञ्जिन्छन्।
लोककथाको चित्रण मनन गर्दै शैलेन्द्रले तयार पारेको गीत ‘सजनवा बैरी’ त यस सिनेमाकै प्राण हो। यसमा उल्लेख गरिएको एउटा अन्तराले आज पनि कमाउन परदेशिने यस भेगका तन्नेरी र तिनका प्रियाहरूको कथा भन्छ।
‘जाये बसे परदेश सजनवा, सौतनके भरमाए
ना सन्देश ना कोइ खबरिया, रुत आए रुत जाए
डुब गएँ हम बीच भँवरमे करके सोलह पार’
त्यसैगरी शैलेन्द्रकै कलमबाट लोककथामै आधारित अनि निख्खर आञ्चलिक स्वाद बोकेका ‘चलत मुसाफिर मोह लियो रे पिँजरेवाली मुनिया’ होस् वा घोषणा नभए पनि भित्रभित्रै आपसमा जोडिएका दुई प्रेमी-प्रेमिकाको मनको बहलाई गति प्रदान गर्ने ‘लाली लाली डोलियामे लायी रे दुल्हनियाँ’ जस्ता गीतले यो सिंगो भेगकै स्वर लहरी अनुभूत गराउँछ। कथाकार रेणुजस्तै शैलेन्द्र आफैं पनि विहारकै हुन्।
नौटंकीकी नर्तकी हिराबाईका आफ्नै यथार्थ हुँदाहुँदै एउटा सुधो टायरगाढा हाँक्ने देहातीले उसलाई देवी देखिरहेको हुन्छ। हिराबाई यदाकदा त्यस देहातीको भाव समात्न लालायित हुन्छिन्। अर्कातिर उनको आफ्नै यथार्थले उनैलाई पछाडि तानिरहेको हुन्छ। त्यस्तो बेला गुञ्जिने यस गीतले दर्शक आत्मालाई बेग्लै सन्तुष्टि प्रदान गर्छ।
मेरै हकमा पनि देहातस्थित मामाघर गएका बेला त्यसरी दुलही लिएर आएको टायरगाढा देख्दा हामी केटाकेटीको भिड त्यसलाई पछ्याउँदै निकै परसम्म जाने गर्थ्यौं। यसरी धेरै कुरा एकसाथ मिसिएर त्यो परिस्थितिले आनन्दित पारिरहेको हुन्छ।
यस चलचित्रका दसमध्ये दसवटै गीत वर्णन गर्ने हो भने हरेकको बेग्लाबेग्लै लेखै बन्न सक्छन्। त्यति गहिरा र मधुर छन्।
अब यस सिनेमाको अर्को गहिरो चोट।
यो कथा जति बेला रेणुले लेखेका थिए, यसको नाम थियो ‘मारे गए गुलफाम’। भारतीय सिनेमा जगतकै आजसम्मका सबभन्दा राम्रा गीतकार मानिन्छन् शैलेन्द्र। यसरी गीतकार भएर बाँचिरहेका मानिसलाई यो कथाले के आकर्षित गर्यो र उनलाई सिनेमाको निर्माता बन्ने सोचाइमा लगिदियो भन्ने आफैंमा आश्चर्यलाग्दो देखिन्छ। जबकि ‘मारे गए गुलफाम’ लाई ‘तीसरी कसम’ बनाएपछि जे-जस्तो घटना भए त्यसले त्यो ‘मारे गए गुलफाम’ खुद शैलेन्द्र नै बन्न पुगे।
त्यसको पनि हृदयस्पर्शी भोगाइ छ।
शंकरदास केसरीलाल (पछि शैलेन्द्र) सायद अलि पछिसम्म चोक चौराहामा कविता सुनाएरै बाँचिरहने थिए। मायानगरी मुम्बई आइपुगेका उनलाई कविहरूको जमघटमा पहिलोपटक राज कपुरले देखेका थिए। सायद त्यो रेल्वे स्टेसनमा आयोजित कुनै मुसायरा थियो।
त्यसताक शैलेन्द्रको काम फकिरजस्तो डुल्नु र सार्वजनिक थलोहरूमा गीत-कविता सुनाउनु हुन्थ्यो। उनी विचारले कम्युनिस्ट थिए र सडकमै आफूलाई सहज महशुस गर्थे।
त्यो मुसायरामा शैलेन्द्रले सुनाएको ‘जलता है पञ्जाब’ शीर्षकको कविता असाध्यै जोडदार थियो। राज कपुर मान्छे चिन्न खप्पीस। उनी त्यति बेला ‘आग’ बनाउने तयारी गरिरहेका थिए। राज कपुरले शैलेन्द्रलाई आफ्नो सिनेमाका निम्ति गीत लेखिदिन अनुरोध गरे।
शैलेन्द्र जुन विचार राख्थे, त्यो विचारले फिल्मी रमझमको दुनियाँमा उनलाई अघि बढ्न दिँदैन थियो। उनले आफू सडकमै मस्त रहेको बताउँदै त्यो बेलाका त्यत्रा प्रभावशाली राज कपुरको प्रस्ताव अस्वीकार गरिदिए।
त्यति बेला सिनेमामा अवसर निम्ति कस्ता-कस्ता हस्ती पछि लाग्ने राज कपुर एउटा सडकमा हिँड्ने कविका सामुन्नेबाट खाली हात फर्किए।
मान्छेको नियति कहाँनिर गएर बदलिन्छ, थाहा हुँदैन। पछि शैलेन्द्रले दुःख पाए। विशेषगरी श्रीमती गर्भवती भएका बेला राम्ररी खान दिने पैसा पनि नभएपछि उनी एक समय आफूले खाली हात फर्काएको उनै राज कपुरसामुन्ने पुगे।
‘म तपाईंसँग काम गर्न तयार छु,’ शैलेन्द्रले राज कपुरलाई सुनाए। राज कपुरले तत्कालै स्वागत पनि गरिहाले।
त्यसपछि भारतीय चलचित्रको घेरामा एक से एक गीत आउन सुरू भयो। राज कपुर र शैलेन्द्रको संगत अनि शंकर जयकिशनका संगीत।
शैलेन्द्रले गीत त ‘वरसात’ (सन् १९४९) बाटै लेख्न सुरू गरे। तर, लेख्न थालेको दुई वर्षमै सन् १९५१ मा बनेको ‘आवारा’ को एउटा गीतले उनलाई उचाइको हदसम्मै लग्यो।
‘आवारा हुँ
या गर्दिशमे हुँ, आसमानका तारा हुँ
आवारा हुँ’
यो गीत कतिसम्म प्रसिद्ध भयो भने, त्यो बेलाको भाषा र राष्ट्रियताको सीमाना नाघेर संसारभरि फैलियो। राज कपुर पछि तत्कालीन सोभियत संघ गएका बेला रुसीहरूले उनलाई सामूहिक रूपले त्यो गीत गाएर स्वागत गर्दा चकित परेको सन्दर्भ चर्चामा आएको थियो।
शैलेन्द्रका गीत कतिसम्म चर्चित र प्रभावशाली भइदियो भने राज कपुरका निम्ति त उनी ‘ब्रान्ड’ नै भइसकेका थिए। त्यसबाहेक पनि फरक निर्देशकका ‘गाइड’ जस्ता सिनेमामा उनले लेखेका गीत उत्तिकै कालजयी बने।
यसरी फिल्मी दुनियाँमा रमाउँदै गएपछि शैलेन्द्रलाई राम्रैसँग सिनेमाको चस्का बस्न थाल्यो। अब उनी आफू पनि निर्माता बन्ने सपना देख्न थाले।
उनले फणीश्वरनाथ रेणुको कथा छाने, त्यसका निम्ति निर्देशक वासु भट्टाचार्य चयन गरे र नायक-नायिकामा पनि अब्बल छनौट थियो नै। सन् १९६१ बाट उनले सिनेमाको काम अघि बढाए र फिल्म तयार भयो १९६६ मा।
यो सिनेमा बनाउन शैलेन्द्रले जिन्दगीभरिको कमाइ मात्र लगाएका थिएनन्, भारतीय पत्रपत्रिकाले जनाएअनुसार उनले टन्नै ऋण पनि लिएका थिए।
यसरी बनेको थियो ‘तीसरी कसम’।
तर, नहुनुपर्ने कुरा भइदियो। सिनेमा भारतभरिका हलमा लाग्न नपाउँदै उत्रियो। ‘फ्लपै’ ठहर गरियो। यसका रिल डब्बामा बन्द भए।
सडकमा गाएर रमाइरहेका शैलेन्द्रलाई फिल्मी दुनियाँले रंगीन आकाशमा उडाएर नराम्ररी भुइँमा बजारिदियो। त्यसको प्रभाव त पर्नु नै थियो। शैलेन्द्र अचानक अत्यन्त रक्सीवाज भइदिए। बौलाहाजस्तै बने। सिनेमा रिलिज भएकै वर्ष सायद हृदयाघातबाटै उनको ४३ वर्षकै उमेरमा निधन भयो।
भाग्यको खेल! फेरि अर्को चमत्कार भइदियो।
शैलेन्द्रको मृत्यु भएको केही समयमै अर्थात् सन् १९६७ मा त्यो सिनेमा तत्कालीन विश्वकै प्रसिद्ध चलचित्र महोत्सव ‘मस्को इन्टरनेसनल फिल्म फेस्टिभल’ को छनौटमा पर्न सफल भयो। सर्वोत्तम चलचित्रको पुरस्कार ‘ग्रयान्ड प्रिक्स’ निम्ति प्रतिस्पर्धामा पुग्नेबित्तिकै संसारभरि चर्चा सुरू भयो।
त्यसले डब्बामा बन्द भइसकेको सिनेमालाई फेरि एकपटक चम्कायो। त्यति मात्र होइन, त्यसै वर्ष भारतको ‘नेसनल फिल्म अवार्ड’ पनि यसै सिनेमाले पाउन सफल भयो।
त्यति बेला निर्देशक वासु भट्टाचार्यले पुरस्कारस्वरुप ५ हजार रुपैयाँ मात्र होइन, निधन भइसकेका निर्माता शैलेन्द्रले जितेको २० हजार रुपैयाँ पुरस्कार पनि ग्रहण गरेका थिए।
यसरी एउटा डब्बामा पुगेको सिनेमा सोभियत संघबाट उठेको तुफान पछ्याउँदै फेरि हलहरूमा खचाखच भीड लाग्न सुरू भयो। सुपरहिट मानियो।
तर, नियति... निर्माता शैलेन्द्रले त्यो दिन देख्नै पाएनन्। एउटा शब्दशिल्पीलाई सिनेमाको रंगीन दुनियाँले यसरी अनाहक सदाका निम्ति मेटाइदिएको थियो।
वीरगन्जस्थित मेरो घरको सादा टेलिभिजनमा जति बेला नेपालका च्यानल आउँदैन थियो, त्यति बेला मैले पहिलोपटक यो सिनेमा हेरेको थिएँ। मध्यरात दुरदर्शनले देखाउँदा।
एउटा टायरगाढा हाँक्ने सोझो गाउँले कसरी दुनियाँदारीको मोहमा फस्दै जान्छ र कसरी कसम खाँदै त्यसबाट निस्कँदै जान्छ भन्ने कुराको अत्यन्त मार्मिक चित्रण गरेर पूरै ग्रामीण परिवेशबाटै कथा अघि बढ्दै जान्छ। अन्तिममा नायकले तेस्रो कसम खाइरहँदा त्यो मध्यरात म एक्लै टेलिभिजन सामुन्ने रोएको अहिले पनि सम्झन्छु।
अहिले पनि राज कपुरको तेस्रो कसमले मलाई छटपटी गराउँछ।
मान्छेलाई कहिलेकाहीँ अनौठो समस्या पर्छ। मलाई त्यस्तो समस्या कोही कोही मानिसले ‘सबभन्दा मनपरेको फिल्म कुन हो?’ भनेर सोध्दा पर्ने गर्छ। किनभने, मैले जतिलाई इमानदारीपूर्वक जवाफ दिने गरेको छु, तीमध्ये अधिकांशले ‘राम्रो त थियो तर बीचैमा छाडेँ’ भनेको सुन्छु।
हुन पनि निख्खड देहातमा एकोहोरो टायरगाढा चढेर हिँडिरहेको दृश्यले अहिलेको नेटफ्लिक्स पुस्तालाई के छुन्थ्यो? त्यसैले सकभर कसैलाई त्यो सिनेमातर्फ बढाउन नपरोस् भन्ने हुन्छ।
यस्तो दोधारमा पार्ने गर्छ मलाई मेरो प्रिय ‘तीसरी कसम’ ले।