संघर्षको मैदानमा लडेर अजर हुनेहरू नै रमाउँछन्,
मरेर अमर हुनेहरू नै बाँच्दछन्,
समर्पणलाई मेरूदण्ड ठान्नेहरू चौबाटामा उभिएर,
परिवर्तनको ऐलान गर्नेहरू आफ्नै बलीमा पनि हाँस्दछन्,
सगरमाथाजस्तै आन्दोलनका परिभाषा खोज्नेहरू र
महासागर मै गणतन्त्र रोज्नेहरू निरंकुशताको अन्त्य खोज्दछन्,
हृदयको सलाम! अनि अलबिदा उनै सेतुहरूलाई, जो हाँसीहाँसी मृत्युलाई रोज्दछन्।- कवि सरोज दिलु विश्वकर्मा।
नेपालमा राजनीतिक इतिहासका घटना र आन्दोलनहरूमा दलित समुदायको गौरवमय हिस्सेदारी छ।
राजनीतिक परिवर्तनको नेतृत्व गर्ने दलको एक्लो प्रयासले मात्रै कुनै पनि आन्दोलन सफल नभएको कुरा धेरै घटनाक्रमले पुष्टि गरेको छ। आमजनताको सहभागिता नभएको आन्दोलन सफल भएको छैन। आमसहभागितामा दलित समुदाय नहुने कुरै भएन।
राजनीतिक आन्दोलनमा बलिदान गर्नेमा आमसर्वसाधारण नै हुन्छन्। नेताहरूले त बलिदानीको भाषण गर्ने मात्रै हुन्।
२०६२/६३ सालमा भएको दोस्रो जनआन्दोलनमा पनि त्यस्तै भयो। उन्नाइस दिनको संयुक्त जनआन्दोलनमा कुनै पनि स्थापित नेता वा कार्यकर्ताको सहादत भएन, भयो त आम सर्वसाधारणको। उक्त आन्दोलनका घोषित शहीदहरूको सूचीमा दलित समुदायका तीन जना परेका छन्।
काठमाडौंको कलंकीमा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा दीपक कामी मारिए। काठमाडौंकै त्रिपुरेश्वरमा चन्द्रबहादुर वयलकोटी मारिए। नेपालगञ्जको ज्ञानेन्द्र चोकमा सेतु बिक मारिइन्।
सेतु विक राजनीतिक रूपमा सचेत तर सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्ने महिला थिइन्। आन्दोलन र राजनीतिमा एकपछि अर्को सहभागिताले सामान्य मानिसलाई पनि उत्साहित गराउँछ र ज्यानको बाजी थापेर अघि बढ्ने जोखिमका लागि तत्पर बनाउँछ।
मेरी आमा २००७ सालको राणाशाही विरूद्धको आन्दोलनको समयमा सामान्य गृहिणी हुनुहुन्थ्यो। उहाँको काखमा दूधे बालक पनि थियो। जब नेपाली कांग्रेसको फौजले पाल्पा कब्जा गर्यो र विजय जुलुस निस्कियो तब सहरभरिका मान्छेहरूसँगै आमा पनि बालक बोकेरै जुलुसमा जानुभयो। तीन दिन त घरमा चुलो नै बलेन रे!
राणाशाही ढलेर प्रजातन्त्र आएको जितको हर्ष यति थियो कि मानिसले घर र खानपिन पनि बिर्सेका थिए।
दोस्रो जनआन्दोलनको उत्कर्षको बेला थियो। नेपालगञ्जको विभिन्न ठाउँहरूमा ठूला जुलुसहरू निस्किरहेका थिए। तीमध्ये एउटामा सेतु बिक पनि थिइन्। जुलुसमा राजतन्त्र र तत्कालीन राज ज्ञानेन्द्र शाहका विरूद्धमा नारा लागेको थियो। हजारौंको जुलुस तितरबितर पार्न प्रहरीले अश्रुग्यास चलायो, हवाई फायर गर्यो। अश्रुग्यासको एउटा सेल सेतु बिकलाई लाग्यो। उनी बेहोस भइन्। जुलुसमा जम्मा भएका केहीले उनलाई अस्पताल पुर्याए।
सेतुको उपचार त्यहाँ हुन नसक्ने भयो। भारतको लखनउ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो। उनी दोस्रो जनआन्दोलनमा शहीद हुनेहरूको सूचीमा थपिइन्।
राज्य र समाजका तर्फबाट सेतु र उनको परिवारलाई सम्मान र केही नगद सहयोग प्राप्त भयो। जनआन्दोलनका शहीदहरूमध्ये कति जनाको शालिक बन्यो, त्यो त्यति स्पष्ट छैन। त्यति बेला शहीद भएकाहरूको फोटो भने धेरै सरकारी र गैरसरकारी कार्यालयहरूमा देख्न पाइन्छ।
सेतु बिकले सहादत प्राप्त गरेको दिन थियो २०६३ वैशाख ५ गते।
नेपालगञ्जमा अहिले जहाँ सेतु बिकको शालिक छ त्यहाँ पहिले ज्ञानेन्द्र शाहको शालिक थियो। ठाउँको नाम थियो ज्ञानेन्द्र चोक। जनआन्दोलनले उग्र रूप लिएका बेला ज्ञानेन्द्रको शालिक तोडफोड भयो।
त्यो शालिक तोडिनु सामान्य घटना थियो। लोकतन्त्रमा बोल्न, लेख्न तथा संगठित हुन पाउने सबै अधिकार खोसिएका थिए। इन्टरनेट र टेलिफोन सेवा बन्द गरिएको थियो। राजाले सुशासन त दिन सकेका थिएनन् नै, जनताले २०४७ सालदेखि प्राप्त गरेका प्रजातान्त्रिक अधिकार समेत खोसेका थिए।
राजा ज्ञानेन्द्रको त्यस्तो निरंकुश कदम आमजनताको लागि सह्य थिएन। उनीप्रतिको आक्रोश शालिकमा पोखिनु कुनै आश्चर्यको कुरा भएन।
हालै, यही जेठ २० गते धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक स्थापना गर्न खोज्ने भिडको एउटा अंश सेतु बिक चोक पुगेर सेतुको शालिक तोडफोड गर्यो। त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। ध्वंशको त्यो काम 'राजावादी' हरूले गरेका हुन् भन्ने कुरा स्पष्ट छ।
राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र पुनर्स्थापनाको नीति घोषितरूपमै लिएको छ। जातको आधारमा नभई गरिबीको आधारमा आरक्षण दिने नीति छ। लिङ्देनको प्रचार अभियान यसमै छ। सेतु बिकको शालिक रापप्रा अन्तर्गतकै समूहले तोडफोड गरेको हो भन्ने अनुमान लगाउन सकिन्छ। तर राप्रपाले उक्त घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन। आरोपको खण्डन गरेको छैन।
सेतु बिकको शालिक तोडफोडको घटना सतहमा सामान्य लाग्न सक्छ। अधिकारको संघर्षमा लागेका हामी दलितकर्मीहरू भने उक्त घटना नियोजित थियो भन्ने निष्कर्षमा पुगेका छौं।
धम्बोजी चोक नेपालगञ्जको सुर्खेत रूपडिया सडकमा पर्छ। उक्त सडकमा लहरै गणेशमान सिंह, बिपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिक राखिएका छन्। यी सबै नेताहरू नेपालको गणतान्त्रिक आन्दोलनसँग जोडिएका छन् तर भिड ती शालिकहरू तोड्न अग्रसर भएन।
त्यो भिड किन दलित समुदायकी शहीदकै शालिक तोड्न गयो? शालिक तोड्ने व्यक्तिको हातमा अकस्मात् कसरी घन आइलाग्यो? शालिक तोड्ने व्यक्ति वयस्क नभएर झोलामा किताब बोकेको 'केटो' थियो भनिएको छ। उसलाई उकास्ने को थियो भन्ने कुरा अनुसन्धानले देखाउला।
शंकाको अर्को कुरा, सामाजिक सञ्जालमा भाइरल भएको उक्त घटनामा घन लिएर एउटा केटोले शालिक तोडेको देखिन्छ। उसलाई अन्य व्यक्तिले तलबाट झन्डा बोकेर सघाएको देखिन्छ। प्रहरीले अरूलाई छोडेर घन हान्ने केटोलाई मात्र हिरासतमा राखेको छ भन्ने पनि सुनिएको छ।
पञ्चायती व्यवस्था र सिंगो राजतन्त्रलाई मात्रै दलितविरोधी भनेर चित्रित गर्नु अन्याय हुन्छ। पञ्चायती व्यवस्थाले नै हामीलाई नयाँ मुलुकी ऐन दिएर कानुनी रूपमा समान बनाएको हो। पञ्चायती संसदमा केही दलितहरू पुगेका पनि हुन्। मन्त्रिमण्डलमा पनि प्रतिनिधित्व हुन्थ्यो। अतः राजतन्त्र मात्र दलित विरोधी थियो भन्ने विश्वास गर्न सकिँदैन।
२०४७ सालको राजनीतिक परिवर्तनपछि स्थापना भएको पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय समितिमा प्रतापराम लोहारलाई सदस्य बनाएको थियो। त्यस बेला अन्य कुनै पनि मुख्य दलले दलितलाई केन्द्रीय समितिमा पुर्याएका थिएनन्।
यस्तो पृष्ठभूमिमा आफूलाई राजावादी भन्ने व्यक्तिहरूले किन सेतु बिककै शालिकको तोडफोड गरे? प्रश्न निकै पेचिलो छ।
राजाको शालिक अन्य ठाउँमा पनि तोडफोड भएको छ। काठमाडौंको कालीमाटी, टंकेश्वरी चोकमा रहेको राजा महेन्द्रको शालिक हटाएर साहित्यकार चित्तधर हृदयको राखिएको छ। बुटवलको चौराहामा वीरेन्द्रको शालिक हटाएर नेपालका प्रथम शहीद लखन थापाको राखिएको छ।
राजा महेन्द्र र राजा वीरेन्द्र त धेरै अर्थमा सम्मानित थिए। तिनका शालिक हटाएकोमा राजावादीहरूले आवाज उठाउन सकेनन् तर दलित समुदायकै शहीद सेतु बिक नै किन घानमा परिन्?
देशका ४० लाख दलितहरूको आत्मसम्मानसँग जोडिएको शहीदको शालिक तोडेर दलित समुदायमाथि जे गरे पनि हुन्छ भन्ने निरंकुश र सामन्ती सन्देश दिन खोजिएको हो भने त्यो दलितद्वेषी घटना हो। दलितमाथिको अपमान निकै महँगो पर्छ भन्ने कुरा हालै पोखरा महानगरपालिकाको निर्वाचन परिणामले पनि प्रष्ट पारेको छ।
राप्रपाका अध्यक्ष लिङ्देनले सेतु बिकको शालिक तोडफोडमा आफ्नो पार्टीसम्बद्ध नेता–कार्यकर्ताहरूको संलग्नता के हो भन्ने कुरा प्रष्ट पार्न आवश्यक छ।
(हिरा विश्वकर्माका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)