मैले मानव बसोवास भएका छ वटा महादेशमध्ये चारवटाका २० वटा देशको भ्रमण गर्ने अवसर पाएँ। केही देशमा छोटो समय बस्ने अवसर पनि पाएँ।
यी २० वटा देशमध्ये अति पुँजीवादी, लोककल्याणकारी, अति गरिब र पुँजीवादी अर्थतन्त्रमा साम्यवादी व्यवस्था भएका देशहरू पर्छन्। यिनमा साम्यवादी राजनीतिक व्यवस्था अपनाएका तर हाल बहुदलीय लोकतन्त्र भएका मुलुकहरू पनि पर्छन्।
यी सबै देशहरूबारे मेरो आफ्नो अनुभव छ। यता नेपालको ठूलो जनमत अहिले पनि कम्युनिस्ट भन्ने पार्टीहरूलाई विश्वास गर्छ।
मेरो भ्रमण अनुभवका आधारमा नेपालीको यो विश्वास एउटा दिवास्वप्न मात्रै हो भन्न मैले कुनै ठूलो दार्शनिक आधार लिनुपर्छ जस्तो लाग्दैन।
मैले उत्तर कोरियाको भ्रमण गर्ने अवसर पाएको छैन। तैपनि मेरा एकजना मित्रको भनाइ यहाँ राख्न चाहन्छु।
उनी साम्यवादी विचारधाराका कट्टर समर्थक त हुन् नै, राम्रो कलाकार र साहित्यकार पनि हुन्। उनी दलित समुदायका व्यक्तिलाई केन्द्रीय पात्र बनाएर साहित्य सिर्जना गर्ने व्यक्ति हुन्। त्यस हिसाबले उनी मेरा लागि आदरणीय छन्।
उनले एउटा कार्यक्रममा उत्तर कोरियाको बारेमा बडो मार्मिक ढंगले आफ्नो भनाइ राखे।
उत्तर कोरिया पुग्न हरेक हिसाबले असहज छ। त्यो देशलाई त्यहाँको शासन व्यवस्थाले बन्द राखेको छ। कनेक्टिङ उडानहरू पनि अत्यन्त सीमित छन्, त्यो पनि चीनबाट मात्रै।
मेरा ती मित्र धेरै किसिमका मुश्किलहरू झेल्दै उत्तर कोरिया पुगेका रहेछन्।
व्यक्तिगत कामका आधारमा उत्तर कोरिया पुग्न सकिँदैन। कुनै न कुनै तरिकाको सरकारी पाहुना भएर मात्र पुग्न सकिन्छ। यसरी पुग्दा भ्रमणको सबै चाँजोपाँजो त्यहाँका सरकारी निकायले नै गर्ने रहेछन्। सरकारी निकायले भ्रमणको प्रबन्ध मिलाएपछि उनीहरूले देखाउने ठाउँ राम्रो हुनु पर्ने भन्ने सोच्नु स्वाभाविक हो।
यस विपरीत मेरा मित्रलाई अनिकाल र भोकमरीले ग्रस्त एउटा गाउँमा पुर्याएछन् जहाँ झन्डै तीन वर्षदेखि पानी नपरेर खडेरी परेको रहेछ। खेतीको जमिन चिराचिरा परेको रहेछ। त्यस्तो ठाउँमा एउटा परिवारसँग विदेशी पाहुनाहरू राखिएछन्। उनीहरूसँग कुरा हुँदा आफ्ना समस्या बताउँदा रहेनछन्। कुरा गराउने दोभासे सरकारी मान्छे हुने भएकाले उसले गुप्तचरको काम पनि गर्दो रहेछ।
परिवारको मूलीले भनेछ– हामी अति भाग्यशाली छौं। हाम्रो यो गाउँमा हाम्रा महान नेताले टेक्नुभयो। उहाँले हाम्रो जमिन टेक्नु हाम्रा लागि गौरवको कुरा हो।
यस्तो कुरा सुनेर मेरा मित्र अचम्ममा परेछन्।
उनले कार्यक्रममा भने– जीवनभर साम्यवादी विचारको बखान गर्ने मार्क्सवादको रटान लगाइयो। मार्क्सवादी व्यवस्था अपनाएको देशका जनताको हालत यस्तो हुँदा पनि त्यहाँका मान्छेले आफ्ना नेताको देवत्वकरण गर्नुपर्ने रहेछ। धिक्कार छ त्यस्तो मार्क्सवाद र त्यस्तो साम्यवादी विचारधारालाई।
मैले चीनको छोटो भ्रमण गरेँ तर जति समय बिताएँ, त्यहाँको सामाजिक तथा आर्थिक व्यवस्थाको बारेमा बुझ्न पर्याप्त थियो।
साम्यवादी व्यवस्थाको अर्थ एउटा पार्टीको शासन व्यवस्था भन्ने हो। त्यसतर्फ धेरै चर्चा नगरूँ तर अर्थव्यवस्था पुँजीवादी भएको हुँदा त्यसको विशेषता के रहेछ भन्ने थाहा पायौं।
हामी जुन होटलमा बसेका थियौं त्यहाँ हामीले पहिले कोठा भाडामा मोलमोलाई गर्यौं। त्यसपछि जति दिन बस्नु पर्ने हो त्यति दिनको रकम धरौटी राख्यौं। त्यो होटल परिसरमा पार्किङ गर्न आउने जुनसुकै सवारी साधनसँग पनि महँगो पाकिङ शुल्क अशुल गरिँदो रहेछ।
सबैभन्दा अचम्म लाग्ने कुरा के थियो भने हामी बसेका कोठामा युवतीका अर्धनग्न तस्बिर सहितका ससाना कार्डहरू छिराइएका थिए। यसको अर्थ आफ्नै कोठामा युवतीहरूलाई बोलाएर यौनक्रीडा गर्न पाइन्छ भन्ने रहेछ। बेइजिङकै होटलमा यस्तो सुविधा पाइने भएपछि पुँजीवादी अर्थव्यवस्था भएको थाइल्यान्ड र साम्यवादी राजनीतिक व्यवस्था भएको चीनबीच के फरक भयो त?
सडक पेटीहरूमा रहेका रद्दीका टोकरीमा प्लास्टिक बोतल छानिरहेका वृद्धवृद्धाहरू पर्याप्तै देखिन्थे।
पछि बुझ्दा थाहा भयो, चीनले बालबालिकाको राम्रो संरक्षण गरेको रहेछ, बालश्रम उन्मूलन नै गरेको रहेछ। वृद्धवृद्धाको संरक्षण र स्याहारमा भने ध्यान दिएको रहेनछ। यसकारण उनीहरू जीवन धान्न रद्दीको टोकरी उधिन्न बाध्य रहेछन्।
नेपालमा न्युरोड क्षेत्रमा पार्किङ शुल्क उठाउँदा पनि हामी विरोध गर्छौं। चीनका चौडा सडकहरूमा पाइलैपिच्छे उठाइने टोल करलाई त्यहाँका जनताले कसरी लिँदा हुन्, त्यो जान्न पाइएन।
चीन बसाइका क्रममा हाम्रो गाइड युवतीसँग कुरा गर्ने क्रममा थाहा भयो, ऊ बेइजिङभन्दा बाहिरको गाउँबाट आएकी रहिछे। ऊ विद्यार्थी रहिछे र टुरिस्ट गाइडको काम गरेर मासिक सरदर तीन हजार युआन कमाउँदिरहिछे।
यति पैसाले बेइजिङमा एक्लो ज्यान धान्न पुग्ने उसले बताई। आर्थिक हिसाबले यो निकै राम्रो कुरा थियो। राजनीतिक अधिकारको कुरा गर्दा भने निकै अनौठो सुनियो। सर्वहारा र कामदारको अधिकारको जगमा उभिएको राजनीतिक व्यवस्थामा हरेक कार्यथलोमा पार्टीको एक जना नेता हुने रहेछ। सबै कामदार उसकै नियन्त्रणमा हुँदा रहेछन्। अधिकारको कुरा गर्नेलाई त्यही नेताले कारबाही गर्दो रहेछ।
म आयरल्यान्डमा एक वर्ष बसेँ। त्यहाँ एउटा लोक कल्याणकारी पुँजीवादी राज्यव्यवस्था भएको देशको राजनीतिक, आर्थिक र सामाजिक सुरक्षाको निकै राम्रो प्रबन्ध देखेँ।
मार्क्सले आफ्नो साम्यवादी धारणामा वर्गविहीन तथा राज्यविहीन समाजबारे उल्लेख गरेका छन्। साम्यवादी अवस्थाको जनता कस्तो हुन सक्छ भन्ने श्वैरकल्पनामा पुग्न राहुल सांकृत्यायनको ‘बाईसवीं सदी’ भन्ने पुस्तक पढ्नु पर्छ।
आयरल्यान्डमा नागरिकका लागि शिक्षा र स्वास्थ्य सेवा निःशुल्क तथा अनिवार्य छ। म जुन घरमा बस्थेँ त्यो घरका घरवाला माध्यमिक स्कुलका शिक्षक थिए। उनी आठ कक्षा वा सोभन्दा माथि पढ्ने विद्यार्थीहरूका लागि करिअर काउन्सिलिङको काम गर्थे। हरेक स्कुलमा त्यस्ता शिक्षक हुने भएकाले हाइस्कुल शिक्षा पूरा गरेका आइरिसहरू रोजगारीमा जाँदा रहेछन्। मुश्किलले ३०–३५ प्रतिशत मात्रै कलेजको उच्च अध्ययनमा जाँदा रहेछन्।
एक पटक आइरिस सरकारले स्नातकोत्तर तहमा पढ्न कुल शुल्कको केही अंश विद्यार्थीले बेहोर्नुपर्ने नीति बनायो। विद्यार्थी युनियनले त्यसको सामान्य प्रतिरोध गर्नेबित्तिकै सरकारले फिर्ता लियो।
त्यहाँको बेरोजगारी पाँच प्रतिशतभन्दा कम थियो। बेरोजगारहरूलाई टोलटोलमा भएका हुलाक कार्यालयहरूबाट साप्ताहिक रूपमा बेरोजगारी भत्ता वितरण गरिँदो रहेछ। बेरोजगार दर्ता केन्द्रहरूमा नाम दर्ता गराएपछि ढिलोचाँडो रोजगारीको सूचना आउने पनि पक्का थियो।
म त्यहाँका मजदुरहरूको जीवनशैली देखेर अचम्मै परेँ। लोभ पनि लाग्यो।
भर्खरै कलेज उत्तीर्ण गरेको इञ्जिनियरले घन्टाको नौ युरो ज्याला पाउँथ्यो, एउटा मजदुरले १४ युरो। अधिकांश मजदुरहरू आफ्नो कार्यस्थलमा कार चढेर जान्थे जहाँ को मालिक, को ठेकेदार, छुट्याउन कठिन हुन्थ्यो। निर्माणस्थलमा निर्धारित ज्याकेट र हेलमेट लगाएका ठेकेदार र मजदुरहरू एकसाथ काम गर्दै हुन्थे। त्यहाँ ठेकेदारलाई एउटा मजदुरले उसको नाम काढेरै सम्बोधन गर्थ्यो।
सामाजिक सुरक्षाका लागि जतिसुकै दिनको काम किन नहोस्, काम लगाउने व्यक्ति वा कम्पनीले त्यस्ता कोषमा अनिवार्य रकम जम्मा गरिदिनु पर्दो रहेछ। दुर्घटना बीमासहित उपचारको व्यवस्था त सरकारले पहिले नै गरिदिएको हुँदो रहेछ।
त्यस्तो अवस्था त हाम्रो देशमा कल्पना पनि गर्न सकिँदैन।
मैले साम्यवादी व्यवस्थाबाट पुँजीवादी व्यवस्थामा फर्केका युरोपको हंगेरी र एसियाको मंगोलियाको पनि भ्रमण गर्ने अवसर पाएको थिएँ। यी देशका बारेमा अर्को कुनै आलेखमा चर्चा गरौंला।
अहिले यति भन्न चाहन्छु, ती दुवै देशहरूले पुँजीवादको उच्चतम लाभ लिन नपाए पनि उनीहरू साम्यवादी व्यवस्थामा फर्किन नचाहेको थाहा पाएँ।
हाम्रो देश नेपालको ठूलो जनमतले खोजेको साम्यवाद कति यथार्थ र कति भ्रम हो, छुट्याउने जिम्मा पाठकलाई।
(हिरा विश्वकर्माका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)