संस्कृति, इतिहास र समाजसम्बन्धी केही पुराना किताब पाइहालिन्छ कि भनेर काठमाडौंका 'सेकेन्ड-ह्यान्ड' पुस्तक पसल चहारिरहने एक किसिमको 'कुलत' जस्तो भएको छ। त्यसरी खोजखाज गर्दै हिँड्दा नियमित पुस्तक पसलमा नपाइने अति महत्वपूर्ण पुराना किताबहरू खोजिदिने ठमेलको 'सगुन बुक्स' का किरण घिमिरेले एकदिन मलाई सुझाए – एकपटक भृकुटीमण्डपतिरको 'सेकेन्ड-ह्यान्ड' पुस्तक पसलतिर पनि छिर्नोस् न।
उनैको सुझाव मानेर डेढ वर्षअघि केही भेटिई पो हाल्छ कि भनेर भृकुटीमण्डपको पुस्तक पसलमा छिरेको बेला एउटा पुस्तकमा आँखा लाग्यो।
'अतीतका स्मृति' शीर्षकमा हरि श्रेष्ठले लेखेको र च्यातिएर जीर्ण हुन खोजेको उक्त पुस्तक उठाएर पल्टाएँ। पल्टाउँदा तुलजा (तलेजु) भवानीका पुजारी खलक कर्माचार्यहरूबारे वर्णन गरिएको पाना परेछ। रूचिपूर्ण लाग्यो।
अर्को पाना पल्टाउँदा रेडियो नेपालमा काम गर्दाका बखत गरिएको आन्दोलनमा हस्ताक्षर गरेका नातीकाजी, कोइलीदेवी, पुष्प नेपाली, उस्ताद भैरवबहादुर, हरिप्रसाद रिमाल, शिवशंकर, शकुन्तला शर्मा लगायतको आफ्नै हस्ताक्षर देखेँ। त्यत्तिमै मन लोभियो र पैंतीस रूपैयाँमा पुस्तक किनेर ल्याएँ।
पढ्दै गएपछि पुस्तकप्रति एक किसिमको सम्मोहन पैदा भयो। काठमाडौं उपत्यकाको केही भागको ऐतिहासिक विवेचनादेखि कतिपय रैथाने थरघरहरूको प्रवरावली, तलेजु भवानीका पुजारीहरूको वृत्तान्तदेखि रेडियो नेपाल स्थापनाताकाको वर्णन र हुलाक विभागको त्यस बखतको कार्यशैलीको बयान लगायतबारे पढ्दै गर्दा राष्ट्रिय विभूति शीर्षकमा ध्यान गयो।
नेपाली साहित्य क्षेत्रमा महाकविको उपाधिले विभूषित लक्ष्मीप्रसाद देवकोटाबारे हरि श्रेष्ठले लेखेको 'फस्ट-ह्यान्ड' अनुभूति अत्यन्तै जानकारीमूलक लाग्यो।
पाठकहरूलाई पनि महाकवि देवकोटाबारे केही महत्वपूर्ण प्रसंगहरू रूचिकर लाग्न सक्ला भन्ने ठानेर यथाक्रममा यो लेखमा उद्धृत गरिएको छ।
लिगलिगे पण्डित खलकका देवकोटा
लक्ष्मीप्रसाद देवकोटा डिल्लीबजार थटुनटी टोलमा जन्मेका थिए। उनका पुर्खा गोरखा लिगलिगबाट आएका थिए भनेर शरद्चन्द्र शर्मा भट्टराईले 'ओझेलमा परेकाहरू' शीर्षकको पुस्तकमा लेखेका छन्।
उक्त पुस्तकमा उल्लेख भएअनुसार अहिले काठमाडौंमा झांगिएको देवकोटा परिवारको मूल पुर्खा बलभद्र देवकोटाका छोरा विद्याधर हुन्। विद्याधर पृथ्वीनारायण सँगसँगै गोरखा लिगलिगबाट आएर भोटाहिटीमा बस्न थालेका थिए। उनको ठूलो परिवार बस्ने घर 'भोटाहिटीको सातचोके देवकोटाको घर' का नामले प्रख्यात थियो।
विद्याधरका दुई पत्नीमध्ये जेठीपट्टिका चार छोरामध्ये कान्छा छोरा जगतमणि थिए भने जगतमणिका कान्छा छोरा चन्द्रदत्तका जेठा छोरा हुन् तिलमाधव देवकोटा (१९०९–१९९२) (पृ ४६)। लक्ष्मीप्रसाद तिनै तिलमाधवका छोरा हुन्।
गोरखाका देवकोटाथरि पण्डित खलकको एउटा हाँगो गोरखा दरबारमा लेखनपठनका काममा सामेल थियो। नयाँ कोट (दुर्ग) हान्नुअघि जेठी तरबारको पूजापाठ र मन्त्रोच्चरण मनकामनाका मगर र लिगलिगे देवकोटाहरूबाट गराइन्थ्यो भनेर स्वनामधन्य राजेश्वर देवकोटाले आफ्नो परिवारमा चलेको श्रुतिस्मृति मलाई सुनाउनुभएको थियो। उहाँले २०६९ मंसिर २६ गते रेकर्डेड कुराकानी क्रममा मलाई बताएको यो कुरा प्रसंगवश यहाँ उल्लेख गरेको हुँ।
दरबारसँगको त्यही लहरो समात्दै विद्याधर पृथ्वीनारायण सँगसँगै काठमाडौं आइपुगेका हुँदा हुन्!
प्रसंगवश, गोरखापत्रका पहिलो सम्पादक साधुराम देवकोटा तिनै विद्याधरका कान्छीपट्टिका चार छोरामध्ये साहिँला छोरा दुर्गादत्तका जेठा छोरा रविनाथका माहिला छोरा हुन् (भट्टराई, उही, पृ ४६)।
पण्डित परिवारका लक्ष्मीप्रसादका पिता तिलमाधव देवकोटा पनि पण्डित्याइँ गर्थे। लेखापढी उनको पण्डित्याइँको हिस्सा थियो। छोराछोरी पढेर हुर्कंदै गर्दा आफूले उतार्नुपर्ने लेखन टिपोटहरू उनी छोराहरूलाई लेखाउँथे। त्यही क्रममा लक्ष्मीप्रसादको अतिरिक्त लेखनीमा सम्मोहन बसेको र त्यही लेखन प्रकारान्तरले रचनात्मक सिर्जनाको मार्गतिर उनलाई डोहोर्याउने अभिप्रेरणा बनेको देखिन्छ।
त्यसपछि उनले जे जति लेखे, त्यसले उनलाई नेपाली साहित्यको अजम्बरी हस्ताक्षरका रूपमा मात्र स्थापित गराएन, नेपाली सहित्यमा महाकविको उपाधिले समेत विभूषित गरायो।
महाकविको लेखनमाथि समीक्षात्मक टिप्पणी आजभन्दा दस वर्षअघि सेतोपाटीमै 'महाकवि अर्थात् चेतनाको महादियो' शीर्षकमा लेखिसकेकाले यो लेख देवकोटामाथि या उनका रचनाको विवेचनामा लहसिँदैन। केवल प्रसंगवश भेटेर पढेको पुस्तकले उत्प्रेरित गरेका केही जानकारीमूलक सूचनाहरू तपाईं पाठकहरूसँग साझेदारी गर्न मात्र यो लेख लेखिएको हो।
के देवकोटा गरिब थिए?
महाकवि देवकोटाको प्रसंगसँग हरबखत जोडिएर आउने कुरा के हो भने, देवकोटा साह्रै गरिब थिए।
दरिद्रता उनको समानान्तर परिचयजस्तै बनेको छ। उनको दरिद्रतासम्बन्धी अनेकन प्रसंग अनेकन पात्रहरूका स्मृति बखानमा उपस्थित भएको पाइन्छ।
अलि गहिरिएर हेर्दा, महाकवि देवकोटाले तत्कालीन समाजका सम्भ्रान्त परिवारका छोराछोरीलाई ट्युसन पढाएको देखिन्छ। हरि श्रेष्ठले पुस्तकमा उल्लेख गरेअनुसार देवकोटाले केशरशमशेरका छोरा, हिमालयशमशेरकी पत्नी विजयलक्ष्मी मल्ल, नरप्रताप थापाको घरमा, कल्याणशमशेर, रणविक्रम शाहका छोराछोरी आदिलाई ट्युसन पढाएका थिए।
ती सबै आर्थिक तवरले सम्भ्रान्त हैसियतका मानिस थिए। निश्चय नै तिनले देवकोटालाई पढाएबापत् मनासिब रकम दिँदा नै हुन्। यसका बाबजुद देवकोटाको आर्थिक जीवनको उल्लेख हुँदा दरिद्रताको बखानले भरिएको पाइन्छ। र, यो विषय पर्गेल्न मुश्किल हुने गर्छ।
देवकोटाले कोठा भाडा तिर्न पर्थेन। उनको आफ्नै घर थियो। ट्युसन, जागिर पनि चलेकै थियो। यसका बाबजुद उनको घरायसी आर्थिक अवस्था दयनीय हुनुमा या त देवकोटा आफैं लापरवाह खर्च गर्थे या उनको परिवारमा पैसा उडाउने बानी थियो। अन्यथा तत्कालीन समाजमा देवकोटाको आम्दानी र बजार भाउ हेर्दा खान लाउनै समस्या हुने खालको विवरण देवकोटासँग जोडिएर आउनुपर्ने अवस्था देखिंदैन। तर आर्थिक समस्याले देवकोटालाई लखेटेको थियो भन्ने विवरण उनलाई चिने-जानेकाहरूले पटकपटक दोहोर्याएबाट थाहा पाइन्छ।
हरि श्रेष्ठले पनि त्यसको साक्ष्य आफ्नो पुस्तकमा दिएका छन्। उनले लेखेका छन् – मृत्युको दुई हप्ता अगाडिसम्म देवकोटाको आर्थिक अवस्था र बसाइँको वातावरण सोचनीय थियो।
शान्तभवन अस्पतालमा कान्छी छोरी मुनाको टाउको सुम्सुम्याएर आँसु झार्दै देवकोटाले भनेका थिए – छोरी मैले तिमीलाई केही गर्न सकिनँ। खुवाउन, लाउन पनि दिन सकिन (पृ २३९)।
नेपाली समाजले महाकविको उपमाले सम्मान दिइएका लक्ष्मीप्रसाद देवकोटाको जीवनमा आर्थिक समस्या अनेकन प्रसंगमा जोडिएर आएको पाइन्छ। कतिसम्म भने पैसाको खाँचो हुँदा उनी नाटकहरू धरौटीका रूपमा केशरशमशेर कहाँ राख्ने गर्थे (पृ २३६)।
सम्भवतः देवकोटाको जीवनमा अभिन्न पाटो बनेर आउने आर्थिक प्रतिकूलताको बयान विक्रम सम्बत् २००३ सालपछिका दिनहरूको हुनुपर्छ भन्ने मेरो बुझाइलाई लक्ष्मीप्रसादका छोरा पद्मप्रसाद देवकोटाले संशोधन गराए। मलाई लागेको थियो – २००३ सालताका उनी खाईपाई आएको जागिर छाडेर राजनीतिमा लागे। तर राजनीति उनको नियमित पेसा थिएन। लेखेर बाँच्न सक्ने अवस्था आजै त छैन भने त्यस बखतका दिनमा हुने कुरै थिएन। त्यसले देवकोटालाई निश्चय नै आर्थिक अप्ठ्यारोको गर्तमा जाकिदियो होला भन्ने आकलन थियो मेरो।
तर पंक्तिकारसँग यही कात्तिक १६ गते गरेको टेलिफोन कुराकानीमा पद्मप्रसादले महाकविको जीवनमा नब्बेको दशकमा पनि आर्थिक संकट आइपरेको आफूले आमाबाट थाहा पाएको सुनाए। त्यही दशकमा महाकविकी आमाको निधन भएको थियो। बुबाको पनि त्यही दशकमा निधन भयो। १९९६ सालमा परिवारमा अंशबण्डा भयो र परिवारको आर्थिक दायरा संकुचित भयो। हुँदाहुँदा छोरीको पनि निधन भयो। पढाएको ट्युसनको पैसा पनि समयमा आइरहेको थिएन। त्यसले देवकोटामा एक किसिमको भिन्न मानसिक अवस्था सिर्जना भयो।
महाकविका छोरा पद्मप्रसादका अनुसार लक्ष्मीप्रसाद अंग्रेजी साहित्यमा एमए पढ्न चाहन्थे। तर आर्थिक प्रतिकूलताका कारण पढ्न पाएनन्। यी तमाम अवस्थाका बाबजुद महाकवि गरिब थिए, दरिद्र थिए भन्ने भाष्यसँग छोरा पद्मप्रसाद सहमत छैनन्।
उनी भन्छन् – गरिब हुनु बेग्लै कुरा हो, मानिसको जीवनलाई आर्थिक प्रतिकूलताले छोप्नु बेग्लै कुरा हो। महाकविको जीवनमा अनेकनपटक आर्थिक प्रतिकूलता आयो। तर तत्कालीन समाजको नापोमा देवकोटाको परिवार गरिब या दरिद्र थिएन। देवकोटाले बिए पास गरेका थिए, दुनियाँदारका छोराछोरीलाई औपचारिक शिक्षाका लागि भर्नाको अनुमति पनि फुकीफुकी दिइने समयमा। त्यस बखत पढ्ने-लेख्ने र कलेज जानेहरूको बृहत्तर हिस्सामा राणा खलक या राणा सरकारका अति उच्च भारदारका सन्तानहरू मात्रै हुन्थे। वा, राणाहरूका विश्वासिलाका सन्तानहरूले मात्रै त्यो अवसर पाएको बखत महाकविले अति दरिद्र या गरिब परिवारको सदस्य भएको भए त्यसरी उच्च शिक्षा हासिल गर्ने सामर्थ्य नै राख्दैनथे।
पद्मप्रसाद घरेलु आर्थिक अवस्थाको उहापोहलाई यसरी सम्झन्छन् – २००३ सालपछि प्रजातन्त्रका लागि संघर्ष गर्न भन्दै महाकविले जागिर छाडेर भारत गएपछि र त्यहाँ पनि ब्रह्मघाटबाट विष्णुघाटतिर सरेपछि महकविलाई चरम आर्थिक संकटले घेरा हाल्यो। पार्टीको मुखपत्रमा काम गर्ने भनेर भएको जागिर छुटाएर देवकोटालाई उता लगिएको थियो। तर सुरूमा लामो समय मुखपत्र प्रकाशनै भएन। प्रकाशन हुन थालेपछि पनि देवकोटालाई पार्टीबाट आवश्यक आर्थिक भरथेग भइरहेको थिएन। श्रीमती र छोरी मुना पनि साथै थिए। त्यही बेला महाकवि मलेरिया लागेर ढले। त्यो घडीमा उनलाई चरम आर्थिक संकट पर्यो। खर्च जुटाएर नेपाल फर्किएको महिना दिनभन्दा बढी समय महाकविको जीवनमा कठोरतम आर्थिक प्रतिकूलताले घेरबन्दी गरेको थियो।
कतिसम्म भने, उनीसँग काठमाडौंको जाडो थेग्न पर्याप्त न्यानो कपडा पनि थिएन। कति दिन भइसकेको थियो पेटभरि राम्ररी खान नपाएको पनि। त्यही बेला दाजुभाइले उनलाई राम्रो कम्बल दिएका थिए। महाकविले त्यो कम्बल कसैलाई बेचेर दाल, भात, डुकुको जोहो गरेका थिए। पद्मप्रसादका अनुसार महाकविले 'दाल, भात, डुकु' त्यही परिवेशहरूसँग जोडिएर लेखेका थिए। त्यो पनि राहुल सांकृत्यायान उपस्थित सभामा लिखित कविता लान भुलेपछि ठाउँको ठाउँ धाराप्रवाह सिर्जना गरेर।
अवस्था कस्तो थियो भने, आर्थिक प्रतिकूलताबाट त्राण पाउन देवकोटा कविता लेखेर बेच्थे। लेखेका कविताहरू सहरका सम्भ्रान्तहरूको घरमा धरौटी राखेर रकम लिन्थे। त्यसले मात्रै जिन्दगी थेग्नसक्ने कुरै भएन। कलकत्ता, वनारसमै पनि देवकोटाले आफूलाई बचाउन नाटक, कविता लेखेर बेच्ने गरेको श्रेष्ठले पुस्तकमा उल्लेख गरेको पाइन्छ।
श्रेष्ठ लेख्छन् – वनारसका एक जना व्यापारीसँग देवकोटाले नाटक बेच्ने कुरा मिलाए। उनी नाटक लेखी ती व्यापारीलाई धमाधम बिक्री गर्न लागे। व्यापारीले जति नाटक किन्दै गए, देवकोटालाई उति हौसला बढ्दै गयो। दिनको एकौटा नाटक लेख्न थाले। व्यापारीले हरेस खाए। उनले किन्न असमर्थता प्रकट गरे।
देवकोटाले फेरि अर्को उपाय निकाले – स-साना कविता लेखेर बेच्ने। वनारसका गल्ली-गल्लीमा उनका कविता दुई-चार आनामा बिक्री हुन थाले। ती फुटकर कविता किन्नेमा टिकाराम पनि थिए। त्यस्ता कविता उनी दिनमा कति लेख्न सक्थे कति! आखिर फुटकर कविता पनि कसैले किन्न सकेनन्। पैसा नभएर देवकोटा रूमल्लिन थाले। खान पाएनन्। बिरामी भए। उपचारसम्म पनि कतैबाट भएन। आखिर विवश भएर काठमाडौं फर्के।
देवकोटा कति उदार र मानवतावादी थिए भन्ने अनेकन प्रसंग, एक किसिमका किस्साहरूको जुलुसै पढ्न पाइन्छ सहित्य क्षेत्रमा। उनी पढाएर आएको तलब माग्नेहरूलाई दिँदादिँदै घर पुग्दा रित्याइसकेका हुन्थे। जाडोले कामिरहेको मानिसलाई उनी आफैंले लगाएको कोट फुकालेर दिन्थे। मन्त्री भएको बेलातिरको आम्दानीबारे देवकोटाले श्रेष्ठसँग भनेको प्रसंग उनले पुस्तकमा उल्लेख गरेका छन् – श्रेष्ठजी मैले अढाई वर्षमा असी हजार रूपैयाँ कमाएको थिएँ, तर त्यही साल मलाई आठ हजारको साहु लाग्यो।
कतिसम्म भने, देवकोटा घरका गाईलाई पनि काउली खुवाउँथे। एकपटक उनले घरका गाईलाई खुवाउन भनेर तीन खर्पन काउली ल्याए। देवकोटाकी पत्नी मनदेवीले सोधिन् – गाईलाई काउली किन ख्वाउनुपर्यो?
देवकोटाले भने – तिमीले मात्रै मीठो खानुपर्छ भन्ने छ र? कहिलेकाहीँ गाईले पनि खानुपर्यो नि! (महाकवि देवकोटा र मनदेवीको सम्बन्धः छोरी अम्बिकादेवीको खुलासा, साहित्यपोष्ट)
अलपत्र परेका महाकविका रचना
उचित वातावरण र व्यवस्थापनको अभावमा महाकवि देवकोटा रचनाहरू क–कसले लगे र क–कसका घरमा अलपत्र परे भन्ने संकेत दिँदै श्रेष्ठले लेखेका छन् – उनले अंग्रेजीमा लेखेको शाकुन्तल महाकाव्यका पानाहरू यत्रतत्र छरिइरहेको मैले थाहा पाएँ। अरविन्दशमशेर, नरप्रताप थापा, कल्याणशमशेरकहाँ पनि त्यस महाकाव्यका पानाहरू देखेँ। जहाँ लेख्यो, त्यहीँ त्यसै छाडेर जाने स्वभाव थियो देवकोटाको। उनका रचनाहरू कहाँ के कति छन्? अनि क-कसका हातमा छन्? त्यो अहिले भन्न सकिने स्थिति छैन (पृ २४३)।
महाकविकी आफ्नै भाउजू थिइन् 'यात्री' कविताको पात्र
लक्ष्मीप्रसाद देवकोटाको सर्वाधिक चर्चितमध्येको कवितामा पर्छ 'यात्री' शीर्षकको कविता। उक्त कविता पछिबाट गीतका रूपमा समेत स्वरांकन भएको छ।
यात्री कविताका विषयमा यसअघि अनेकन दार्शनिक, वैचारिक व्याख्या भइसकेको छ। कतिले ईश्वरवादको भिन्न व्याख्याका रूपमा, कतिपयले मानवतावादी, आस्तिक, प्रकृतिप्रेमी त कतिपयले देवकोटालाई भौतिकवादी अनिश्वरवादीका रूपमा समेत विशद् व्याख्यामा तानेको पाइन्छ उक्त कवितालाई सिरानी हाल्दै।
कतिपयले महाकविले 'यात्री' कविता यात्रा क्रममा चित्लाङमा बसेर लेखेको उल्लेख गरेको समेत पाइन्छ।
हरि श्रेष्ठले उल्लेख गरेको विवरण भने माथिका प्रसंगहरूसँग मिल्दैन।
श्रेष्ठ देवकोटाका अत्यन्तै अन्तरंग मित्र भएकामा महाकविका पुत्र पद्मप्रसाद पनि सहमत छन्। त्यसरी हेर्दा श्रेष्ठको कुरा तुलनात्मक तवरले आाधिकारिक मान्नुपर्ने हुन्छ। श्रेष्ठले पुस्तकमा उल्लेख गरेअनुसार – लक्ष्मीप्रसाद देवकोटाले बहुचर्चित यात्री कविता बिसं १९९५ तिर लेखेका थिए। त्यस बखत लक्ष्मीप्रसादका जेठा दाजु लेखनाथ सुब्बा भएका थिए। डिल्लीबजार थटुनिटीबाट पशुपतिनाथ उति टाढा नभए पनि सुब्बिनी बज्यै उलिन्काठ चढेर पशुपति जाने गर्थिन्। उलिन्काठ मानिसको काँधमा राख्ने साधन हो, खुट्टा छोटा भएकाहरूका लागि।
यसरी सुब्बिनी बज्यैलाई उलिन्काठमा राखेर ज्यापूहरूले बोकी लगेको दृश्य लक्ष्मीप्रसादले झ्यालमा बसेर हेरिरहेका थिए। देवकोटाको मस्तिष्कमा एउटा नयाँ भावना प्रस्फुरण भयो र लेख्न थाले –
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
मानिसहरूको काँध चढी कुन देवपुरीमा जाने हो?
यसरी देवकोटाको यात्री कवितामा उल्लिखित मानिसहरूको काँध चढेर देवपुरीको मन्दिरमा धर्म जोड्न जाने पात्र अरू कोही थिएन, उनको आफ्नै भाउजू थिइन्।
श्रेष्ठ लेख्छन् – देवकोटा मानवतावादी थिए। यसको मतलब अनिश्वरवादी होइनन्। यो कविताको भावार्थ बुझ्न नसकेर कसैले उनलाई अनिश्वरवादी पनि नभनेका होइनन्। जब उनले मृत्युशैयाबाट लेखेको कवितामा 'आखिर श्रीकृष्ण रहेछन् एक' लेख्न पुगे, त्यो देवकोटाको कविता होइन भनी त्यस समय कसैले होहल्ला पनि मच्चाएका थिए – देवकोटा त अनिश्वरवादी हुन्, यस्तो कविता कसरी लेख्न सक्छन् भनेर।
महाकविको वेगवान रचना गति
महाकवि देवकोटाको रचनात्मक गति कति तीव्र थियो भने, उनी कविता भन्थे – लेख्नेले उनको गतिमा लेख्नसमेत भ्याउँदैनथ्यो।
उनका लागि कविता सिर्जना गर्नु कुनै मुश्किल काम थिएन, किनभने उनी आँसुकवि थिए भन्ने खालका प्रचारप्रति भने महाकविले आफू जीवित छँदै प्रतिवाद गरेको पाइन्छ। सिर्जनाका लागि आफूले गर्ने कष्टसाध्य साधना र संघर्षलाई समान्यीकरण गर्नु र देवकोटाले त्यसै लेखिहाल्छ नि भनेर हलुका भाव वितरण गर्नु त्यस्ता ‘आँसुकवि’ ब्यहोराका बयानहरूको अन्तर्य हो भनेर उनले त्यसको प्रतिवादमा लेखेको पाइन्छ।
यसका बाबजुद महाकवि देवकोटामा धाराप्रवाह सिर्जनात्मक शक्ति थियो र त्यो ऐनमौकामा प्रकट भइरहन्थ्यो भन्ने तथ्यहरू पनि भेटिन्छन् नै।
वनारसमा यस्तै भएको थियो।
भए-खाएको सरकारी जागिर छाडेर देवकोटा कांग्रेसले आह्वान गरेको राणाविरोधी आन्दोलनमा जोडिएका थिए। यही माचोमा उनी पुगेका थिए, कांग्रेस राजनीतिको मुकाम वनारस-कलकत्तातिर।
त्यहाँ उनलाई एकजमात बुद्धिजीवीहरूले घेरे। कविताको निम्ति अनुरोध गरे। हरि श्रेष्ठ लेख्छन् – धाराप्रवाह रूपमा महात्मा गान्धीबारे ५२ वटा सनेट देवकोटाको मुखबाट निस्किए। १४ पंक्तिको एक सनेट हुन्छ। यस प्रकार उनले ७२८ पंक्ति उच्चारित गरे। महाभारतको कथा छन्दबद्ध तवरमा व्यासले भन्ने र गणेशले लेख्ने गरेझैं देवकोटाले छन्दबद्ध कविता भन्ने र उनको कविता सार्ने ‘गणेश’ बनेका थिए, रामहरि शर्मा। महात्मा गान्धीबारे कविता सकिनासाथ देवेन्द्रराज उपाध्यायले अर्को कविता माग गरे।
के विषयमा? – देवकोटाले सोधे।
आँसु – देवेन्द्रराजले भने।
देवकोटाको अविरल प्रवाह छुट्यो तुरून्तै। गणेशका रूपमा कलम चलाइरहेका रामहरि शर्मा अत्तालिन थाले। देवकोटाको भाव तरंगले कलमलाई नै बगाउन थाल्यो। चार–चार पंक्तिका ११० कविता पुगेपछि सबैले एक मुख भएर भने – गुरू, पुग्यो अब पुग्यो, भयो भयो।
रामहरि शर्माले थाकेर लेखिरहेको कलम भुइँमा राखिदिए। यो सन् १९४९ जनवरी ३० को घटना हो। (पृ २४२)
देवकोटालाई राणाहरूले अपहरण गरेको खबर
एकपटक चुरोटको तलतलको पछि लाग्दा देवकोटा वनारसबाट दुई दिन हराए। उनी हराएपछि हल्ला फैलियो – देवकेटालाई राणाका मानिसहरूले अपहरण गरे।
श्रेष्ठ लेख्छन् – प्रजातन्त्रीय क्रान्तिलाई तीव्रत्तर पार्न कांग्रेसहरूले सरकारी जागिर छुटाएर देवकोटालाई वनारस लगेका थिए। तर देवकोटालाई गाँस, बासको व्यवस्था कसैबाट पनि भएन। देवकोटालाई बट्टाको बट्टा चुरोट खानुपर्ने। उनलाई गाँसको भन्दा बढी चिन्ता चुरोटको हुन्थ्यो। एकदिन मेरा निकट मित्र बलरामले देवकोटाको प्रसंगमा मलाई भनेका थिए – एक साँझ देवकोटा वनारसको रेल्वे स्टेसनमा टहलिइरहेका थिए। उनलाई चुरोटको तलतल लागेछ। उनीसँग चुरोट किन्न पैसा थिएन। यत्तिकैमा अड्याइराखेको ट्रेनभित्र कोही अपरिचित व्यक्तिले चुरोट तानिराखेको देखेछन् र ट्रेनभित्र गई उनीसँग देवकोटा टाँसिन पुगेछन्।
आफूसँगै बस्न आएको अपरिचित देवकोटाको व्यक्तित्वले सम्भवत: ती व्यक्तिलाई प्रभावित पार्यो। केही कुरा भएपछि उनले देवकोटातिर चुरोट अघि बढाए। चुरोट तान्दै कुरा गर्दै गर्दा देवकोटालाई ट्रेन चलेकोसम्म होस भएन। गफैगफमा फैजावाद पुगेपछि ती व्यक्ति ओर्लिन खोजे। बल्ल देवकोटालाई होस भयो। वनारसको रेल्वे स्टेसनमा टहल्न मात्रै आएको म कसरी फैजावाद आइपुगेँ!
देवकोटा अक्क न बक्क भए। फर्कनलाई उनीसँग पैसा थिएन।
ती भद्र पुरूषले त्यो दिन देवकोटालाई आफ्नै घरमा लगेर राखे। भोलिपल्ट ट्रेनको टिकट काटेर देवकोटालाई वनारस फर्काइदिएका थिए।
यता देवकोटालाई नदेखेपछि कांग्रेसहरू राणाहरूका दलालले देवकोटालाई अपहरण गरी काठमाडौं लगेको आशंकामा छटपटिन थाले। दुई दिनपछि देवकोटालाई त्यही रेल्वे स्टेसनमा कांग्रेसीजनले फेला पारे। कसैले सोध्यो – कहाँ जानुभएको थियो देवकोटाजी?
उनले सबै कुरा बेलिविस्तार लगाए। त्यसपछि हाँसो गुन्जियो। त्यसैबीच कसैले भन्यो – चुरोट किन्ने पैसा नहुने देवकोटा, फैजावादको यात्रामा!
यसरी आर्थिक प्रतिकूलताका बीचबाट गुज्रिएका देवकोटालाई जसले जागिर छुटाएर वनारस लगेका थिए, तिनले पनि सहयोग गरेनन्।
ससुरालीमा छ रूपैयाँको जुत्ता हराउने देवकोटा
श्रेष्ठले पुस्तकमा उल्लेख गरेअनुसार, देवकोटा भर्खरै विवाह गरेको समय ससुराली गएका थिए।
ससुराली जाँदा लगाएर गएको ६ रूपैयाँ पर्ने जुत्ता ससुरालीमा हराएर फर्किएका थिए देवकोटा। त्यो थाहा पाएर पिता तिलमाधवले उनलाई गाली गरेका थिए – बेबकूफ! ससुराली जाँदा पनि कुन चाहिँ आफ्नू जुत्ता हराएर आउँछ?
मातृकाप्रसादको सत्ता ढालिदिने देवकोटाको भाषण
देवकोटाका अनेकन रचनाहरूमा सामाजिक सत्ता, राज्यसत्ता र ती सत्ताहरूबाट वितरित चेतनाविरूद्ध विद्रोहको दियो सल्काइएको पाइन्छ। पुस्तकालय पर्वबाटै देवकोटा राणाविरोधी आन्दोलनमा सामेल भएका थिए। पछि १९९७ सालमा चार सहिदहरूलाई दिइएको फाँसी र प्रजा परिषदको आन्दोलनले देवकोटालाई सत्ता संस्थापनविरूद्ध उद्वेलित बनाउँदै सक्रिय आन्दोलनकारीको कित्तामा उभ्याएको देखिन्छ।
त्यसैको उत्कर्षमा खाईपाई आएको जागिरै छाडेर देवकोटा राजनीतिमा लाग्छन्। कांग्रेसको राजनीतिसँग जोडिन्छन्। सात सालमा प्रजातन्त्र आएपछि कांग्रेसी नेताहरू आफैंभित्र सत्तामा पुग्ने संग्राम मच्चाउँछन् र फुट्छन्। देवकोटा कांग्रेसबाट अलग्गिन्छन्। तर राजा त्रिभुवनबाट २००८ सालमा बुद्धिजीवी वर्गको तर्फबाट सल्लाहकार सभामा मनोनित हुन्छन्। पछि महेन्द्रबाट पनि त्यसको निरन्तरता दिइन्छ। यसबीच उनी चौध-पन्ध्र घन्टासम्म दैनिक ट्युसन पनि पढाइरहेका हुन्छन्।
यही क्रममा २०११ सालमा सल्लाहकार सभामा विरोधी दलको नेता बनेका थिए, देवकोटा। मातृकाप्रसाद कोइराला सरकारले पेस गरेको बजेट र तत्कालीन राष्ट्रियताको सवालमा सल्लाहकार सभामा देवकोटाले आर्थिक सवालहरूको समेत केस्राकेस्रा केलाएर यति आक्रामक र तथ्यपूर्ण भाषण दिए, त्यसको पक्षमा व्यापक सार्वजनिक मत निर्माण भएपछि मातृकाप्रसादको सरकार बिघटित भयो।
पछिबाट देवकोटा डा. केआई सिंहको मन्त्रीमण्डलमा शिक्षामन्त्री भएका थिए। कतिपयले आरम्भमा उनले कांग्रेस राजनीति गरेकाले उनी पहिलो जननिर्वाचित सरकारमा मन्त्री बनेको भ्रम पाल्ने गरेको देखिन्छ। खासमा उनी प्रजा परिषदमार्फत् राजनीतिमा डोरिएका थिए। पछिबाट मात्रै उनी कांग्रेस बनेका थिए।
प्रजातन्त्र स्थापनापछि कांग्रेसमा आएको आन्तरिक गुटबाजी, कलह विभाजन र उतारचढावसँगै महाकवि देवकोटाको सम्बन्धको धागो कांग्रेसको लट्टाईबाट छिनेर गएको थियो। राजनीति उनको पार्श्व क्रिया थियो, लेखन मूर्त क्रिया। त्यही पार्श्व क्रिया जारी राख्ने क्रममा उनी महेन्द्रले गठन गरेको केआई सिंहको सरकारमा मन्त्री बनेका थिए।
जब क्यान्सरको उपचार गर्न लगेको देवकोटाको पैसा चोरियो
विसं २०१४ सालतिरबाटै देवकोटालाई क्यान्सरको संक्रमण सुरू भइसकेको थियो। श्रेष्ठले लेखेका छन् – एक साँझ मधुसूदन (महाकवि देवकोटाका भाइ) ले प्रसंगवश मलाई भनेका थिए – २०१४ सालतिरको कुरा हो। महाकविको जीवनमा एकाएक विकृति आयो। शरीर गल्दै गयो। डा. सिद्धिमणिले यसरी रक्त वमन बढ्ता भयो भने त्यसलाई रोक्न यहाँ अहिले कुनै साधन छैन। त्यसैले भारत लैजानू बेस हुन्छ भनी सल्लाह दिएका थिए।
त्यसपछि महाकविको हातबाट एउटा निवेदन लेखियो। त्यो निवेदन मधुसूदनले दाजु लेखनाथद्वारा श्री ५ महेन्द्र सरकारसमक्ष चढाउन लगाए। हंसमानमार्फत् निवेदन चढाएको तेस्रो दिनमा सैनिक सचिव शेरबहादुर मल्लले भारू पाँच हजार महाकविको निवासस्थान मैतिदेवीमा आएर प्रदान गरे। यो हल्ला तुरून्तै फिँजियो। मधुसूदनले त्यसपछि महाकविलाई सोधे – सरकारबाट कति रूपैयाँ बक्सेको हो?
म्धुसूदनको पछिल्तिर बसी श्रीमती देवकोटाले दुई औंला ठड्याइछन्। त्यसैले महाकविले मधुसूदनलाई दुई हजार बक्सेको हो भने। त्यसपछि दाजु मित्रनाथकहाँ गई भएको वृत्तान्त बताउन लागे मधुसूदनले। त्यहाँ भान्जी गायत्रीसँग पचास रूपैयाँको बाजी पर्यो। गायत्री दुई हजार होइन भन्ने, मधुसूदन दुई हजारमा अड्डी लिने। फेरि मधुसूदन महाकविसँग सोध्न गएछन्। महाकविले भनेछन् – बज्यैले दुई औंला ठड्याएकीले मैले दुई हजारको अर्थ लगाएको हुँ। बक्सेको त पाँच हजार हो।
मधुसूदनले महकविलाई उपचार गराउन विमानद्वारा कलकत्ता लगे। तत्कालीन भारतीय सांस्कृतिक सहचारी शिवमंगल सुमनले प्लेनको दुईवटा टिकट आफ्नै तर्फबाट लिइदिएर सहयोग निम्ति बिडलालाई पनि एउटा पत्र लेखिदिएका थिए।
सुमनको पत्र देखाएपछि कलकत्ता अस्पतालको एउटा क्याबिन तुरून्तै खाली गराई महाकविलाई भर्ना गरियो। अस्पताल भर्ना भएको केही दिनपछि क्यान्सरको अप्रेसन भयो। मधुसूदनको भनाइअनुसार कलकत्ता लैजाँदा उनीसँग भारू १३६० मात्र थियो। अप्रेसन गर्दा बाँकी रहेको ४६० पनि चोरियो। बाकस खोल्दा रूपैयाँ नदेखेपछि मधुसूदनले महाकविसँग सोधे – रूपैयॉ कसले चोर्यो?
महाकविकै आँखा अगाडि रूपैयाँ चोरिएको थियो। तर आँखाबाट आँसु खसालेर उनले केही भनेनन्। चोरीको घटना त्यहीँकी एक जना नर्सले पनि देखेकी थिइन्। नर्सद्वारा सबै कुरा थाहा भयो। महाकविले केही नभनी चोरेको हेरिरहेका थिए। चोर्ने चोर आफ्नै सम्बन्धित हुन् भन्ने कुरा थाहा भयो।
अब पैसाले हाहाकार पार्यो। यस्तै समयमा काठमाडौंबाट भारू १००० को मनी अर्डर आइपुग्यो।
त्यो रूपैयाँ काठमाडौंका विद्यार्थीहरूले देवकोटाको निम्ति चन्दा उठाएको रकम थियो। विद्यार्थीहरूले गोल्टिन बट्टामा उठाएको चन्दाको यो रूपैयाँले महाकविको विकट आर्थिक अवस्थामा ठूलो सहयोग गर्यो।
मधुसूदनले बनारसमा रहेका आफ्नू भानिज केशवचन्द्र गौतमलाई कलकत्ता बोलाए। उनी तुरून्तै आइपुगे। अप्रेसन गरिएको नवौं दिनमा महाकविलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो। डिस्चार्ज रोक्न भरमग्दुर प्रयास गरियो, तर रोक्न सकिएन। अस्पतालको चार्ज भारू ८००० भन्दा कम थिएन। देवकोटाले यो ठूलो रकम तिर्न सकेनन्। अन्त्यमा यो रकम भारतीय दूतावासमार्फत् असूल गर्ने भनी पत्र लेखियो।
नेपालका राजमाताहरूको सवारी मेट्रो सिनेमा हलमा भएको मधुसूदनले थाहा पाए। अनि केशवचन्द्र गौतमले सवारीसाथ आएका ईश्वरीमान श्रेष्ठको हातमा महाकविको निवेदन दिए। भारू १०० का दसवटा नोट राखिएको सादा नेपाली खाम लिएर गौतम फर्के। बिडलाबाट भारू ५०० चन्दा पाए। यही रूपैयाँबाट तिर्नुपर्नेलाई तिरतार गरी मधुसूदन बिरामी देवकोटालाई लिएर ट्रेन हुँदै काठमाडौं फर्केका थिए।
आत्महत्या गर्न पोटासियम साइनेड मगाएका थिए देवकोटाले
शान्त भवन अस्पतालमा क्यान्सरले गलाएर आखिरी दिनहरू थामिबसेको बेला रोगको तोडले देवकोटा निकै आलसतालस भएको देखिन्छ, श्रेष्ठले पुस्तकमा उल्लेख गरेको विवरण पढ्दा।
उनलाई बाँच्नु नै भयानक कष्ट बनिरहेको थियो। अत्यन्तै पीडादायी जीवनभन्दा बरू मृत्युको रोजाइ सहज हुन्छ भन्ने निष्कर्षमा पुगेर उनले आफ्ना निकट मानिसहरूसँग पोटासियम साइनेड या कडा मर्फिया ल्याइदिन अनुरोध गरेर चिठी लेख्न थालेका थिए। त्यस्तै मर्मस्पर्शी चिठी देवकोटाले हरि श्रेष्ठलाई लेखेको पाइन्छ।
चिठीमा देवकोटाले लेखेका छन् –
हरि श्रेष्ठजी,
मेरो अगाडि मृत्युको भयंकर रूप खडा भइसकेको छ। अहिले कृत्रिम शरीरमम धारण गर्दैछु। आकाशका तारा मण्डल छुन खोज्छु, सक्तिन। मैले आफूलाई शान्ति दिन सकिनँ। म उठ्न सके आफैं पनि आत्महत्या गर्ने थिएँ, अनि मेरा बालबच्चालाई पनि ....। म यस दुनियाँलाई बोझ र चिन्ता दिन चाहन्न। अरूले मलाई बुद्धिजीवी भने पनि म आफ्नो निमित्त मूर्ख भएँ। म त्यो ज्योतितिर ढल्कन खोज्दछु, तर अन्धकारले मलाई बोलाइरहन्छ। म यो असह्य वेदना खप्न सक्तिनँ। पोटासियम साइनेड कसैले ल्याइदिए म उसलाई आफ्नो जीवनको सच्चा साथी सम्झने थिएँ। म अपराधी हुँ, त्यसैले (अपराध मेट्न चाहन्छु। कसैले सके मेरा प्रकाशनका नाम पनि) म विलिन हुन चाहन्छु, मरूभूमिमा एक जल कणझैं। अब कसैले मलाई नचिनून्।
एक साथी
लक्ष्मीप्रसाद देवकोटा
पत्र पाएपछि श्रेष्ठ लक्ष्मीप्रसादको उपचार चलिरहेको शान्त भवन अस्पताल पुगे। श्रेष्ठ पुग्दा अस्पतालको बेडमा रहेका देवकोटाको शरीर हाड छाला मात्रै बाँकी रहेको जर्जर स्वरूपमा बदलिएको थियो।
श्रेष्ठ लेख्छन् – देवकोटालाई मैले चिन्न सकिनँ। ओहो देवकोटाजी, मैले त चिन्नै नसकेको! मैले अफशोसपूर्वक भनेँ। देवकोटा त्यस बेला न बोले न हाँसे।
मलाई तपाईं पोटासियम साइनेड ल्याइदिन सक्नुहुन्छ? – देवकोटाले मसँग एक्कासि सोधे।
मलाई कसैले पोटासियम साइनेड या कडा मर्फिया ल्याइदिए, म उसलाई जीवनको सच्चा साथी सम्झने थिएँ – देवकोटाले निन्याउरो मुख गरी मसँग भने।
किन देवकोटाजी? – मैले सोधेँ।
श्रेष्ठजी, मलाई वेदनाले असह्य तुल्याइरहेको छ। बेचैन, छटपटी, पीडा। तसर्थ यसरी कष्ट भोगेर बाँचिरहनुभन्दा बरू मर्नु नै बेस हुने थियो। भला समाज र परिवारलाई बोझ त हुँदैन कि! – देवकोटाले भने।
...
देवकोटाको उपचारका लागि आवश्यक आर्थिक सहयोग माग्न श्रेष्ठ देवकोटाको पत्र बोकेर प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकोमा पनि गएका थिए। अनेकनपटक धाएपछि तीन सय रूपैयाँ पाएका थिए प्रधानमन्त्री कार्यालयबाट (पृ २०६)।
महाकविले आर्यघाटमा हात जोड्दै भने – म जान लागेँ, बिदा!
डाक्टरले आखिरी अवस्थाको संकेत गरेपछि देवकोटाले पशुपति जाने इच्छा गरे। पशुपतिको हरिकुञ्जमा लगेर देवकोटालाई राखियो, मृत्यु कुर्दै। त्यो ह्रदयविदारक आखिरी घडीको वर्णन गर्दै श्रेष्ठ लेख्छन् –
मलाई त्यस बेला देवकोटा घाटमा ल्याइएका बिरामीजस्ता लागेनन्। एउटा लालटिन पिलपिल बलिरहेको थियो। गतिलो सिरक डसना केही थिएन। एउटा गरिब परिवार बसाइँ सर्न आएको जस्तो मलाई लाग्यो। देवकोटाको त्यो भव्य व्यक्तित्व, भव्य शरीर कहाँ लुक्यो? कहाँ गयो? कंकाल शरीर, विकृत चेहरा। के यही देवकोटा हो? म त्यस बेला बोल्न सकिनँ। तर देवकोटाको क्रन्दन त्यस बेला पनि बोलिरहेको थियो – 'आकाशका ती झिलिमिली टल्केका ताराहरूलाई छुन खोज्छु सक्तिनँ, प्रयास गर्छु सब बिफल हुन्छ ...।'
देवकोटालाई पशुपति हरिकुञ्जबाट तीन दिनपछि शान्त भवन अस्पतलमा फर्काएर लगियो। म हरिकुञ्जबाट फर्काएर लगेको भोलिपल्ट बिहान सबेरै अस्पताल पुग्दा त देवकोटाको रूप फेरिइसकेको, जीउमा पनि फुर्ति तथा उत्साह भरिएको पाएँ। म पुग्दा उनले मस्को अस्पताललाई उपचारका लागि भर्ना हुन अंग्रेजीमा एउटा लामो पत्र आफ्नै हातले लेखिरहेका र प्राय: सक्न लागेका थिए।
त्यसै बेला श्रीमती देवकोटाले आएर भनिन् – एक जना बाहुन पनि यहाँबाट साथै लिएर जानुपर्ला, तीन सिटको माग गरी लेख्नुस्।
किन र बज्यै? – देवकोटाले सोधे।
कम्युनिस्ट मुलुकमा कहीँ केही भयो भने नि ...!
देवकोटा नरम भएर सम्झाउन लागे – कम्युनिस्टहरू पनि के मान्छे होइनन् र बज्यै? मान्छेले मान्छेलाई छोएर पनि कहीँ अगति हुन्छ?
चिठी लेखिसकेपछि देवकोटाले भने – श्रेष्ठजी एउटा अर्को कागज ल्याउनुहोस् त!
मैले कागज अघि राखिदिएँ।
त्यसपछि ती कागजमा पहिले उनले नेपालीमा एउटा कविता लेखे र फेरि अंग्रेजीमा। यी दुवै कविता लेखिसकेपछि स्नेहपूर्वक यी कविता तपाईंलाई भनेर मलाई प्रदान गरे। कवितामा लेखिएको थियो –
संसार रूपी सुख स्वर्ग भित्र
रमेँ रमाएँ लिई भित्र चित्र
सारा भयो त्यो मरूभूमि तुल्य
रातै परेझैं अब बुझ्छु बल्ल
रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान, न भो विवेक
महामरूमा कणझैं म तातो
जलेर मर्दो लिनु आश लाटो
सुकिरहेको तरू झैं छु खाली
चिताग्नी तापी जल डाल्न फाली
संस्कार आफ्नो सबै नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखिर भै खाक त्यसै बिलाएँ
...
देवकोटालाई क्यान्सरले फेरि आखिरी झड्का दिन थालेपछि झनै आक्रान्त बनायो। उपचारमा संलग्न डाक्टर मिलरले आखिरी घडीको संकेत दिएपछि देवकोटालाई फेरि पशुपति लगियो।
श्रेष्ठ लेख्छन् – पशुपतिमा भेला भएका मनिसहरूमा एकतमासको बेचैनी थियो। महाकविले आफूलाई अन्तिम भेटघाट गर्न आउने सबैसँग हात जोड्दै भने- बिदा दिनुस्, मलाई बिदा....।
अब देवकोटा हात उठाउन पनि असमर्थ भए। बोल्ने शक्ति पनि क्षीण भएर गयो।
देवकोटाले आफ्नू आँखा चिम्लन लागे।
...
(यो लेख पुनः प्रकाशन गरिएको हो)