विदेश बस्न रहर गर्ने र अवसर पाउनासाथ उतैको नागरिक बन्ने प्रवृत्ति नेपालमा तीव्र रूपमा बढेको देखिएको छ। भएको जायजेथा बेचेर विदेशमा स्थानान्तरण हुने मानिसहरू हरेक टोलछिमेकमा बढिरहेका छन्।
विद्यालय तहको अध्ययन पूरा गर्न नपाइ विदेश जान रहर गर्ने यसअघि कहिलै नदेखिएको प्रवृत्ति आम रूपमा बढेको छ।
'नेपालमा पनि कोही बस्छ र!' भन्ने भावनाले आम मानिसमा जरो गाडेको छ।
प्राज्ञिक शोध वा अनुसन्धान वर्तमान नेपालको प्राथमिकताभित्र पर्दैन। सरकार चलाउने वा नीति बनाउने मानिसहरू 'रामको जन्मस्थल कहाँ हो' भन्ने निधो गर्नमा व्यस्त छन्। अनि कुन ठाउँको सुरूङ बनाउन कुन देशसँग कति पैसा माग्ने भन्नेमा सरकार चलाउनेहरूको गम्भीर विमर्श हुन्छ। जब नियम-कानुन बनाउने वा संविधान संशोधन गर्ने कुरा आउँछ, त्यस बेला पनि पार्टी फुटाउने, चुनाव सजिलोसँग जित्ने वा सरकारलाई निरंकुश बनाउने उपाय नै प्राथमिकतामा पर्छन्।
त्यसैले, नेपालीहरूको विदेश पलायनको प्रभावको सामना गर्ने वा कमसे कम यसका आयामका बारेमा विशेष अध्ययन-अनुसन्धान गर्ने दिशामा राज्यबाट कुनै पहल भएको छैन। कमसे कम यसबारे मलाई जानकारी छैन।
व्यक्तिगत तहमा वैदेशिक रोजगारी तथा प्रवासनबारे अध्ययन-अनुसन्धान नभएका होइनन्। आर्थिक इतिहासमा महेशचन्द्र रेग्मीको शोध, भीमबहादुर पाँडेको 'त्यसबखतको नेपाल' जस्ता पुस्तकमा प्रवासनको प्रवृत्तिको ऐतिहासिकता र यसका आर्थिक-सामाजिक प्रभावबारे रोचक विवरण पाउन सकिन्छ।
यस विषयमा केही ताजा अध्ययन पनि छन्।
उदाहरणका लागि जीवनराज शर्माको अध्ययनले नेपालबाट भारत प्रवासनको प्रवृत्ति र त्यससँग जोडिएको मानसिकतालाई बुझ्न सघाएको छ। अमृता लिम्बूले अस्ट्रेलिया र कतारमा रहेका नेपालीहरूको आकांक्षा र आर्थिक-सामाजिक विभेदको विश्लेषण गरेकी छन्। कैलाश प्याकुरेल, कृष्ण प्रसाद थपलिया तथा दुर्गा सापकोटाले वैदेशिक रोजगारीको प्रभावस्वरूप नेपालको कृषि क्षेत्रमा परेका प्रभावको विवरण प्रस्तुत गरेका छन्। सञ्जय शर्माले नेपाली समाजको पितृसत्तात्मक प्रवृत्ति विदेशिएका नेपाली परिवारमा कसरी स्थापित रहिरहन्छ भन्ने अध्ययन गरेका छन्। यसका अतिरिक्त डेभिड गेल्नर तथा सान्द्रा हाउस्नरले गरेको बेलायतका प्रवासी नेपाली (डायस्पोरा) को अध्ययनले प्रवासनका सामाजिक-सांस्कृतिक आयामको महत्त्वपूर्ण तस्बिर प्रस्तुत गरेको छ।
यसबाहेक पनि केही महत्त्वपूर्ण अध्ययन अनुसन्धान भएका छन्। तर अध्ययन एकातिर छन् र नीति बनाउने मानिसहरूलाई त्यस्ता अध्ययनहरूबारे पत्तै छैन।
आज यो लेखमा म बढ्दो प्रवासनसँग जोडिएका सम्भावित सामाजिक-आर्थिक पक्ष सर्सर्ती उठाउने प्रयास गर्नेछु। यसका लागि लेखको पहिलो भागमा बढ्दो प्रवासनसँग जोडिएका मूल पक्षहरूको चर्चा गर्नेछु भने दोस्रो भागमा 'नेपालमा पनि कोही बस्छ!' भन्ने आम धारणाबारे मेरा टिप्पणीहरू राख्नेछु।
प्रवासनलाई बुझ्न आवश्यक पहिलो मूल पक्ष हो यसको ऐतिहासिकता र वर्तमान प्रवृत्ति।
बसोबासको अस्थायी प्रवृत्ति नै समाजको स्थायी प्रवृत्ति हो। आफ्नो जन्मस्थान छोडेर अर्को ठाउँ वा देश जाने प्रवृत्ति नयाँ होइन। मानव सभ्यताको इतिहासमा यो प्रवृत्ति सामान्य मात्र नभएर केन्द्रीय पनि हो। देशको अवधारणा वा सिमाना परिभाषित हुनुभन्दा अघिदेखि नै मानिसहरू विभिन्न उद्देश्यले स्थायी बसोबासका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने प्रवृत्ति निरन्तर छ। रोजगारीका अवसरको खोजी, व्यापार, सामाजिक बहिष्करण, बसोबास वा जीविकोपार्जनको सहजता, पेसागत परिस्थिति, आर्थिक संकट आदि विभिन्न कारणले मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा सरेका छन्।
यसो भए पनि, प्रवासनलाई एक स्वाभाविक प्रवृत्ति मानेर पन्छाउन मिल्दैन। हरेक कालखण्डमा यसका कारण र परिणाम फरक हुन सक्छन्। तसर्थ, आज तीव्र रूपमा बढेको भनिएको प्रवासनको प्रवृत्तिलाई आजको विशेष सन्दर्भमा बुझ्न आवश्यक छ। यसले पनि यस विषयमा बृहत् अध्ययन अपरिहार्य बनाएको छ।
प्रवासनको विविधता बेवास्ता नगर्न नमिल्ने अर्को महत्त्वपूर्ण पक्ष हो।
कुन क्षेत्र, वर्ग, जात वा लिंगको व्यक्ति कुन उद्देश्यले संसारको कुन स्थानमा गएको छ वा गइरहेको छ भनेर सर्सर्ती हेर्ने हो भने यसमा व्यापक विविधता पाउन सकिन्छ। नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समूहबीच प्रवासनको प्रवृत्ति र पश्चिम तथा सुदूरपश्चिम क्षेत्रका खसआर्यको प्रवृत्तिमा व्यापक भिन्नता पाइन्छ। मधेस क्षेत्रबाट मानिसहरू निश्चित ठाउँमा वैदेशिक रोजगारीका लागि गइरहेका छन्। आर्थिक रूपमा सम्पन्न, मध्यम वर्ग वा निम्न वर्गका मानिसहरूका रोजगारी वा आप्रवासनका लागि विदेश जाने गन्तव्य, उद्देश्य र प्रवृत्तिमा व्यापक अन्तर पाउन सकिन्छ।
करिब २० वर्षअघि कास्कीको दलित बस्तीमा मेरो अध्ययनमा वैदेशिक रोजगारीका कारण र प्रभावमा दलित तथा गैर दलितहरूबीच स्पष्ट भिन्नता पाएको थिएँ। वैदेशिक रोजगारी वा स्थायी प्रवासनमा महिला र पुरूषका उद्देश्य वा उनीहरूले रोजेका गन्तव्य पनि फरक छन्। विभिन्न क्षेत्र वा समुदायमा प्रवासनको तीव्रता फरक हुन सक्छ।
मेरो विचारमा आज देशभर प्रवासनका बारेमा चासो र चिन्ता बढ्नुको एउटा उद्देश्य मध्यम र उच्च वर्गको विकसित देशमा प्रवासी हुने प्रवृत्तिमा आएको वृद्धि हो। नेपालको प्रवासनको अवस्था बुझ्न सबै विविधतालाई एक ठाउँमा राखेर हेर्नुपर्ने आवश्यकता छ।
प्रवासनलाई बुझ्ने सन्दर्भमा छुटाउन नमिल्ने एक महत्त्वपूर्ण पक्ष नागरिक र देशबीचको सम्बन्ध हो।
शासक वर्गको एउटा प्रवृत्ति के हो भने, यसले नागरिकहरूमा देशभक्तिको भावना जागृत गराउने हो भने उनीहरू आफ्ना सुख, रहर, खुसी सबै देशका लागि त्याग गर्न तत्पर हुन्छन् भन्ने ठान्छ।
केही हदसम्म यो विश्वास सही होला, तर मानिस सधैं राज्यका संकथनमा विश्वास गरेर आफ्ना प्राथमिकता र योजना बिर्सिन तयार हुन्छ भन्ने छैन। देशको माया वा देशभक्तिका सीमितता छन्। देशभक्तिको भावना निश्चित आर्थिक-सामाजिक-सांस्कृतिक-मनोवैज्ञानिक परिवेशमा प्रभावशाली हुन्छ। तर यस्तो अनुकूल परिवेश सधैं रहन्छ भन्ने छैन।
जब एउटा मानिसले आफ्नो जीविका, आर्थिक सुरक्षा, पहिचान वा सामाजिक प्रतिष्ठामा चुनौती देख्छ, तब ऊ शासकका संकथनमा विश्वास गर्न छोड्छ। त्यसैले, देश चलाउने नेता वा कर्मचारीले केवल मानिसहरूलाई सम्झाइबुझाइ गरेर विदेश जानबाट रोक्न सकिन्छ भन्ने धारणा आत्मरति मात्र हो।
स्वदेशप्रतिको निराशा र त्यही कारण देश छोड्ने प्रवृत्ति रोक्न तब मात्र सकिन्छ, जब राज्यले मानिसहरूलाई सुरक्षा र सम्मान प्रदान गर्न आवश्यक पहल सुरू गर्छ। नेपालको झण्डा ओढेर विदेश उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाली युवाका टिकटक भिडिओले शासक वर्गले फलाकिरहेको राष्ट्रवादको नाराको नजानिँदो गरि खिल्ली उडाइरहेका छन्।
प्रवासनका सन्दर्भमा छुटाउन नमिल्ने अन्तिम प्रवृत्ति हो यसको अन्तर्राष्ट्रिय आयाम।
सार्वजनिक बहस वा टिकाटिप्पणी सुन्दा कस्तो लाग्छ भने, आजको नेपालमा भइरहेको तीव्र प्रवासन नेपालको मात्र प्रवृत्ति हो।
यो दृष्टिकोणमा सीमितता छन्। नेपाल लगायत संसारका मीठो शब्दमा विकासशील भनिने तर यथार्थमा गरिब प्रायः सबै देशहरूले तीव्र प्रवासनको संकट सामना गरिरहेका छन्। दक्षिण एसियामा छिमेकी देश भारत, पाकिस्तान, बंगलादेश वा भुटान सबैमा मानिसहरू र विशेषगरी युवा वर्ग देश छोडेर विकसित मुलुकमा बसाइ सर्न व्यग्रतापूर्वक प्रयासमा छन्। आफ्नो र परिवारको सम्पूर्ण जायजेथा विकसित देश पुर्याइदिने एजेन्ट वा दलाललाई बुझाएर जीवन सुरक्षित बनाउन गम्भीर जोखिम उनीहरूले उठाएका छन्। दक्षिण पूर्वी एसिया, अफ्रिका वा दक्षिण अमेरिकी देशहरूको पनि यो साझा समस्या हो।
सञ्चार माध्यमका रिपोर्ट हेर्दा बुझ्न सकिन्छ — धनी र गरिब देशबीचको बढ्दो असमानता, गरिब देशमा थप जटिल हुँदै गएको भ्रष्टाचार र कुशासन, द्वन्द्व आदि विभिन्न कारणले प्रवासनको समस्या थप जटिल हुँदैछ।
प्रवासनका कारणलाई देशभित्र मात्र हेरिनु किन पनि गलत छ भने, यो दृष्टिकोणले विश्व अर्थव्यवस्थामा आइरहेका उतारचढावको बेवास्ता गर्छ। प्रवासनको गन्तव्य, उद्देश्य, प्रभाव विश्वमा आइरहेका उतारचढावबाट निर्देशित हुने गरेको छ। एउटा देश वा क्षेत्रको आर्थिक अवस्थामा आएको उतारचढाव, निश्चित देशको आप्रवासन सम्बन्धी नीति आदिले प्रवासनको गति वा प्रवृत्तिमा गम्भीर प्रभाव पारिरहेको छ।
तसर्थ, प्रवासनको आजको अवस्था बुझ्न नेपाललाई मात्र हेरेर पुग्दैन। नेपाल विश्व अर्थव्यवस्थामा कसरी जोडिएको छ भन्ने कुरामा पनि ध्यान दिन आवश्यक छ।
प्रवासनको तीव्र वृद्धिमा बाह्य परिवेशको भूमिका अवश्य छ। यद्यपि, नेपाल र यस्तै अल्पविकसित देशका लागि बाह्य कारणलाई देखाएर निष्क्रिय बस्ने सुविधा छैन। बदलिँदो विश्व परिवेशमा देशभित्र नागरिकलाई उचित अवसर र आकर्षण प्रदान गर्ने काममा चुनौती थपिएको छ र यसलाई आत्मसात गर्नुपर्ने आवश्यकता छ।
अब लागौं वर्तमान सन्दर्भमा प्रवासनको सामाजिक र मनोवैज्ञानिक पक्षतर्फ।
केही मानिसहरू भन्छन्— अन्धाधुन्ध भइरहेको प्रवासन गलत बुझाइबाट प्रेरित छ। नेपालले विभिन्न क्षेत्रमा राम्रो प्रगति हासिल गरेको भए पनि मानिसहरू देश छोडिरहेका छन्। यो प्रवृत्ति निरूत्साहित हुनुपर्छ।
म विगत ६ वर्षयता नेपालबाहिर छु। यद्यपि, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नेपालका परिवर्तित आयामलाई निरन्तर पछ्याइरहेको छु। बाहिर रहेर नेपालको परिवेश हेर्दा मलाई लाग्छ, नेपालको अवस्था थप खराब भइरहेको छ र बदलिँदो विश्व परिवेशमा अवसर, सुरक्षा र सहजताको खोजी गर्ने युवा वर्गका लागि नेपालमा यति बेला निराशा मात्र छ।
सुरू गरौं धेरै मानिसले उल्लेख गर्ने गरेको नेपालको ग्रामीण तथा सहरी पूर्वाधारका क्षेत्रमा भएको 'विकास' बाट।
भनिन्छ — नेपालमा गाउँगाउँमा सडक बनेका छन्। विगतका गाउँहरू सहरजस्तो देखिन थालेका छन्। इन्टरनेटको उपलब्धता बढेको छ। विद्यालय र स्वास्थ्य केन्द्रका भवन बनेका छन्। गाउँलाई ठूला सहरसँग जोड्ने सडक धमाधम बनिरहेका छन्। पुलपुलेसा बनेका छन् वा बनिरहेका छन्। नेपालमा सबैतिर विकास र उन्नति देख्न सकिन्छ। त्यसैले, नेपालमा विकास भएको छैन भन्ने कुरा गलत हो।
यो धारणामा प्रस्तुत नेपालको चित्र सही हुन सक्छ। तर यो चित्रले समेट्न नसकेको कुरा के हो भने, नेपालको ग्रामीण तथा सहरी भौतिक पूर्वाधारमा भएको धेरथोर उपलब्धि देशको समग्र सामाजिक-आर्थिक यथार्थसँग जोडिन सकेको छैन।
भौतिक पूर्वाधारका क्षेत्रमा गरिएको लगानी तब मात्र अर्थपूर्ण हुन सक्छ, जब यो मानिसको जीविका र प्राथमिकतासँग जोडिन्छ। जीविकोपार्जनका उचित अवसर बिनाको सडक, गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने विद्यालयको पक्की भवन, औषधि तथा चिकित्सक नहुने र भए पनि उचित उपचार नपाइने स्वास्थ्य चौकी आदि विकास वा उन्नतिका सूचक हुन सक्दैनन्।
भौतिक पूर्वाधारको निर्माणलाई जसरी प्राथमिकता दिइयो, त्यसैगरी मानव विकास तथा विषयगत क्षेत्रको प्रणाली सुधारमा ध्यान दिन नसकेकाले भौतिक पूर्वाधार भएर पनि यसले नेपालले नागरिकहरूलाई अवसर र सुरक्षा प्रदान गर्न सकेको छैन। यसबाट नागरिकले आफ्नो जीवनमा अर्थपूर्ण परिवर्तनको अनुभूति गर्न पाएका छैनन्।
नागरिकको आम निराशाको प्रमुख कारण यही हो।
आम नागरिकहरूमाझ देशप्रति उदासीनता चुलिँदै जानुको दोस्रो प्रमुख कारण देशमा बेलगाम बढेको भ्रष्टाचार हो। यसले अर्थव्यवस्थालाई शिथिल बनाएको मात्र छैन, नागरिकको जीवनमा बहुआयामिक नकारात्मक प्रभाव पारिरहेको छ। सेवा प्रवाहको अवस्थालाई तहसनहस पारेको छ।
नेपालमा भ्रष्टाचार कसरी स्वाभाविक, संस्थागत र व्यापक भएको छ भन्ने कुरा बुझ्न नेपाल वायुसेवा निगमले खरिद गरेका वाइडबडी विमानसँग जोडिएको प्रकरण; पोखरा र भैरहवा विमानस्थलमा भएका अनियमितता; सहकारी संस्थामार्फत निम्न वर्गका मानिसहरूबाट संकलित पुँजीको अपचलन; द्रूतमार्ग लगायत अन्य भौतिक पूर्वाधारका नाममा भइरहेको अपारदर्शी र जबाफदेयिता बिहीन खर्च आदिलाई लिन सकिन्छ।
यसबाहेक सेवा प्रवाह गर्ने जिम्मेवारी लिएका राज्यका विभिन्न अंगले वस्तु तथा सेवा खरिद गर्ने क्रममा भइरहेको बेलगाम भ्रष्टाचारले स्वास्थ्य सेवा, शिक्षा, कृषि लगायत अन्य विभिन्न सेवाप्रवाह (जस्तै, सवारी साधन चालक प्रमाणपत्र वितरण) लाई गुणस्तरहीन, जटिल र कष्टप्रद बनाएको छ। भ्रष्टाचारमा स्पष्ट रूपमा संलग्न देखिएका राजनीतिक पार्टीका मानिसहरू कानुनी कारबाहीमा पर्नुको साटो महत्त्वपूर्ण सार्वजनिक जिम्मेवारीबाट निरन्तर पुरस्कृत हुँदा देश र यसको भविष्यप्रतिको वितृष्णा बढेको छ।
नेपालमा व्याप्त आम निराशाको अर्को स्रोत उद्यमशीलताको संरक्षण र रोजगारी प्रवर्द्धनमा नेपालको असफलता हो।
सञ्चारमाध्यममा हामी उद्यमशीलताको सफलताका प्रशस्त उदाहरणबारे पढ्छौं।
केही मानिसहरू यसो पनि भन्छन् — गर्न चाहे नेपालमा प्रशस्त सम्भावना र अवसर उपलब्ध छन्। देशमा केही गर्न नचाहने वा नसक्नेहरूले नकारात्मक दृष्टिकोण राख्दा प्रवासनको समस्या भयावह बनेको छ।
सकारात्मक वातावरण निर्माण गर्नमा सञ्चारमाध्यमले भूमिका खेल्नु र उद्यमशीलताको प्रवर्द्धन गर्नु निश्चय पनि सकारात्मक कुरा हो। एउटा व्यक्तिले आफ्ना दैनिक जीवनका गतिविधि र घटनालाई हेरेर देशभित्र प्रशस्त रोजगारी उपलब्ध छ भन्ने धारणा बनाउन पनि सजिलो छ। तर देशको अवस्था हेर्दा रोजगारी र उद्यमशीलताको वर्तमान अवस्था सञ्चारमाध्यमले प्रस्तुत गरेजस्तो र धेरै मानिसहरूले सोचेजस्तो सुखद र सकारात्मक छ जस्तो मलाई लाग्दैन।
नेपालमा जेजति रोजगारी उपलब्ध छ, त्यो सहज र सुरक्षित छैन। दुर्लभ तथा सीमित पेसा-व्यवसाय बाहेक सबै क्षेत्रका रोजगारीबाट मानिसहरूलाई आर्थिक तथा सामाजिक सुरक्षा (जस्तै, स्वास्थ्य सुरक्षा) हासिल गर्न असम्भव छ।
एउटा दक्ष वा अर्धदक्ष मानिसले जतिसुकै कठोर परिश्रम गरे पनि उसले आफ्नो कमाइको भरमा मात्र सम्भावित स्वास्थ्य समस्याको उचित उपचार सुनिश्चित गर्न सक्दैन। दिनरात कठोर परिश्रम गर्ने मानिसले आधारभूत आवास सुविधा, खाद्य सुरक्षा, सन्तानलाई उचित शिक्षा र स्वास्थ्य उपचारमा लाग्ने खर्च जोहो गर्न नसक्ने अवस्थाले नेपालमा अपवादबाहेक श्रमिकको अवस्था अत्यन्त नाजुक देखाउँछ।
पेसा-व्यवसायको स्तरीकरण र त्यसमा निहित असुरक्षाका कारण नेपालभित्र रोजगरीमा आवद्ध मानिसले सुरक्षित र सन्तुष्ट महसुस गर्न सक्दैन र निरन्तर विदेशमा सुरक्षित जीवनयापन गर्ने सपना देखिरहेको हुन्छ।
रोजगारीकै प्रसंगमा जोड्नुपर्ने अर्को क्षेत्र प्राज्ञिक अध्ययन-अनुसन्धान पनि हो। यस क्षेत्रमा राज्यको भूमिका यति कमजोर र दयनीय छ कि, अध्ययन-अनुसन्धानका लागि आवश्यक संस्था स्थापना हुन सकेको छैन। भएका संस्थामा लगानी भएको छैन। विश्वविद्यालय अध्ययन-अनुसन्धान नभएर पार्टीगत राजनीतिका गुँड बनेका छन्। विश्वविद्यालयमा आवद्ध प्राज्ञिक रूपमा सबल र सक्रिय मानिसहरू आफ्ना संस्थामा चुलिएको बेथितिबाट कायल छन् र मौन बसेका छन्। प्राज्ञिक क्षेत्रमा सक्रिय हुन चाहने कसैले पनि आजको नेपालमा उचित अवसर र वातावरण देख्न सक्दैन।
नेपालमा उपलब्ध निजी र सार्वजनिक क्षेत्रका रोजगारीको अर्को समस्या के छ भने, देशमा उपलब्ध सीमित अवसरको वितरणलाई समाजमा विद्यमान विभेद र असमानताले थप जटिल बनाइदिएका छन्।
उदाहरणका लागि, पिछडिएको वर्ग, जाति, लिंग, क्षेत्रको वर्गका लागि रोजगारीका अवसर हासिल गर्न थप जटिल छ। विभेदका कारण अवसरबाट विमुखहरूलाई राज्यले प्रदान गर्ने विशेष अवसर पर्याप्त छैनन्।
सफल उद्यमीका सफलताका सीमित कथाहरू सञ्चार माध्यममा आइरहेका हुन्छन्। तर सञ्चार माध्यमसम्म पुग्न नसक्ने असफलताका कथाको संख्या सफलताका कथाभन्दा धेरै गुणा बढी छ। यस्ता असफलतामा सम्बन्धित उद्यमीको क्षमताको कमी पनि कारण हुन सक्ला, तर राज्यको गलत नीति, नीतिगत जटिलता र सम्बन्धित निकायको अकर्मण्यताको भूमिका उल्लेख्य छ।
'सबैकुरा राम्रो छ तर पनि मानिस विदेश भागिरहेका छन्' भन्ने संकथनको मैले देखेको अर्को समस्या यस दृष्टिकोणले नसमेटेको शासन चलाउनेहरूको लाजमर्दो असक्षमता हो।
राजनीतिको हाल बेहाल हुँदै आज नेपाल यो अवस्थामा पुगेको छ कि, सरकार चलाउनेहरू 'फलानो मितिसम्म मेरो पालो र त्यसपछि फलानाको पालो' भनेर सत्ताको पँजनी गर्दै हिँडेका छन्।
झट्ट सुन्दा यो कुरा सामान्य लागे पनि यसले नेपालको राजनीति दिशाहीन र नैतिकताबिहीन भएको कुराको स्पष्ट संकेत गरिरहेको छ। सत्ता वा सरकार एउटा निश्चित दृष्टिकोण र लक्षबाट निर्देशित भएका हुन्छन् र हुनुपर्छ। तर नेपालमा यति बेला कुनै अमूक व्यक्तिलाई ऊ एउटा अमूक पार्टीको अध्यक्ष भएका कारण, बिना कुनै लक्ष्य र दृष्टिकोण प्रधानमन्त्री बनाउन सरकारको निर्माण भइरहेको छ।
अहिले नेपालमा प्रधानमन्त्री पदमा जो आसीन हुन्छन्, उनीसँग आफू प्रधानमन्त्री हुनेबाहेक सरकार कुन लक्ष्यका लागि, कुन दृष्टिकोणबाट सञ्चालन गर्ने हो भन्ने कुरामा कुनै चासो छैन। सम्भवतः यसो गर्न आवश्यक छ भन्ने कुराको हेक्का पनि छैन। जो प्रधानमन्त्री भए पनि यो अवस्थामा परिवर्तन आउने सम्भावना देखिँदैन। यस्तो प्रवृत्ति नेपालमा हावी भएको एक, दुई वा पाँच वर्ष होइन, दशकौं बित्न लागेको छ।
आफ्नो भविष्य उज्ज्वल बनाउन चाहने, आफ्नो रूचिको विषयमा दक्षता हासिल गर्न उत्सुक, परिश्रमी मानिस यस्तो अकर्मण्यता र दिशाहिनताले जेलेको राजनीतिबाट आशावादी हुन सक्दैन। उसले स्वाभाविक रूपमा देशको साटो विदेश रोज्छ।
अन्तमा, एकपटक सुरूआती प्रसंग।
प्रवासन नियमित र ऐतिहासिक प्रवृत्ति भए पनि यसको तीव्रतामा आएको वृद्धिले देशको गरिमा र अस्तित्वमाथि गम्भीर प्रश्न उठाएको छ। यसका सामाजिक-आर्थिक प्रभाव पनि गम्भीर प्रकृतिका नै छन्। प्रवासनबारे राजनीतिक र सार्वजनिक वृत्तमा जेजति बहस भइरहेका छन्, तिनले गम्भीर तथा बृहत् अध्ययन-अनुसन्धानको आवश्यकतालाई थप टड्कारो बनाएका छन्। देशको गरिमा जोगाइराख्ने र तीव्र गतिको प्रवासनबाट सिर्जित संकट कम गर्ने हो भने टुक्रे र हचुवा नीतिमा सन्तुष्टि लिने होइन, यसका बहुआयामिक प्रवृत्ति बुझ्ने र सुधारका गम्भीर प्रयत्न थाल्ने कुरामा जोड दिनुपर्छ।