मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय हुने तत्कालिन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको छ ।
न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गर्दै मनाङ्गेलाई ५ वर्षको कैद सजाय सदर गरेको हो।
हालसम्म अदालतले तोकेको कैद सजाय भुक्तान नगरेका कारण मनाङे अब काराबास बस्नुपर्नेछ।
चक्रे मिलनलगायतको समूहलाई दीपक मनाङे समूहले २०६१ सालमा खुकुरी प्रहार गरि आक्रमण गरेको थियो। मनाङे समूहको आक्रमणबाट चक्रे मिलनको टाउकोमा गम्भीर चोट लागेको थियो भने हात चुँडिएको थियो। उपचारपछि उनको हात जोडिएको थियो। उक्त घटनाको उजुरी दर्ता भएपछि प्रहरीले मनाङे समूहलाई कर्तव्यज्यान मुद्दा दर्ता गरेको थियो। दीपकसहित उक्त समूहका रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालगायत १२ जना जोडिएको उक्त मुद्दामा जिल्ला अदालतले कर्तव्यज्यान नभई कुटपिट ठहर गरी केहीलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो।
जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल कार्यालयले आरोपितमाथि कारबाहीको माग गर्दै पुनरावेदन अदालत, पाटनमा पुनरावेदन गरेको थियो। २०६९ सालमा पुनरावेदनले ज्यान मार्ने उद्योग गरेको ठहरसहित मनाङेलाई ५ वर्ष कैद सजाय सुनायो भने अन्य ४ जनालाई सफाइ दियो।
एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् र उनको पद गएको छ ।
सर्वोच्चको आदेशसँगै कांंग्रेस नेता समेत रहेका डन गणेश लामासहित चार जनाले सफाइ पाएका छन् ।