डोल्पा जिल्लामा अथाह सम्भावना भए पनि राज्यले उचित ध्यान नदिँदा त्यसै खेर गइरहेको छ। नेपालको सबैभन्दा गहिरो ताल, विश्वको सर्वोच्च स्थानमा रहेको मानव वस्ती, ऐतिहासिक तथा धार्मीक हिसावले महत्व बोकेको गुम्बा, मन्दिरहरुको दर्जनौ संगम डोल्पालाई राज्यले खासै चासो नदिएको यहाँबाट निर्वाचित सांसदहरूले गुनासो गरेका छन्।
नेपालको सबैभन्दा ठूलो झरनासमेत यही रहेको अवस्थामा आन्तरिक र वाह्य पर्यटकलाई तान्न कुनै पनि पहल नभएको भन्दै अब समग्र डोल्पाको विकास र समृद्धिमा लाग्न ढिला गर्न नहुने उनीहरूको अठोट छ। डोल्पाको विकासको आधार भनेकै जडीबुडी र पर्यटन भएकाले यसको समुचित प्रयोग र प्रचार प्रसार गर्नुको विकल्प नभएको निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले बताए।
‘पर्यटन क्षेत्रमा थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिन्छ डोल्पामा। तर डोल्पाको पर्यटन क्षेत्रबाट राज्यले आम्दानी मात्र गर्यो तर स्थानीयलाई केही नदिएको गुनासो गरे,’ उनले भने।
नेपालको सबैभन्दा गहिरो र दोस्रो ठूलो तालमा आउने पर्यटकबाट राज्यले वर्षेनी लाखौ रूपैया आम्दानी गरे पनि त्यसको विकास र पूर्वाधार निर्माणमा चासो नदिएको बुढाको भनाई छ।
यदि अब पनि पहिलेको जस्तै गरेर राज्यले डोल्पालीको नाममा रकम उठाउने तर डोल्पाको विकास गरिन भने त्यो आफूहरुलाई सह्यय नहुने उनले बताए। राज्यले डोल्पाको नाममा उठाएको रकम पारर्दशी हुनुपर्ने उनको माग थियो।
राजधानीमा आयोजिक एक कार्यक्रममा बोल्दै बुढाले अब डोल्पा साच्चीकै हिरा भएर निस्केछ।
डोल्पा जानका लागि एक मात्र उपाय भनेको नेपालगन्जदेखि जुफालसम्म हवाईयात्रा हो। नियमीत हवाई उडान नहुँदा पर्यटकले मात्र नभएर डोल्पालीले निकै सास्ती बर्होनु परेको छ। यसका लागि पनि राज्यले डोल्पाली जनतालाई दोस्रो दर्जाको नागरीक जस्तो ब्यबहार गरेको उनले बताए।
‘हामीलाई आफ्नै राज्यले निधारमा दशकौंदेखि ‘गरिब र पिछडिएको’ भनेर टिका लगाइदियो। हामीले राज्यको त्यही उपमालाई ढुंगाको अक्षर ठान्यौं। ‘हामी भीत्रै सम्भावना छन्’ भन्ने कुराको खोजी हामी आफैंले कहिल्यै गर्न सकेनौं। त्यसैले हामीलाई कमजोर पार्यो। त्यसैले हामी पछि पर्यौं,’ उनले भने।
उनले अब हामी केन्द्रमाथि निर्भर रहने राज्यप्रणालीमा नरहेको बताए। ‘गणतन्त्रको संस्थागत र संघीयताको नयाँ मोडलले देश विकासमा नयाँ ढोका खोलेको छ। सामाजिक क्रान्ती, सञ्चार जगतमा भएको विकास र राजनीतिक क्रान्तिले हाम्रा अगाडि अवसरका प्रशस्त ढोका खोलिदिएको छ। अब राज्यलाई हामीले गाउँगाउँमा लैजाने अवसर पाएका छौं। जुन दिन राज्य समान रूपमा गाउँ पुग्न थाल्छ त्यही दिनबाटै विकासको बिजारोपण हुने हो। हामी अब त्यो चरणमा पुग्दैछौँ,’ उनले भने।
हाम्रो हिमाली भूभागमा ‘सुन उम्रन्छ, सुन फल्छ’। सुनभन्दा महंगो जडीबुटीलाई हामीले कैयौँ गुणा सस्तो मूल्यमा निर्यात गरिरहेका छौँ। सेतो सुन बनेर बगीरहेका नदीबाट उर्जा निकाल्ने हो। ६ नम्वर प्रदेशमै कलकारखानालाई स्थापना गर्ने हो। हिमाली भूभाग भित्र रहेको ‘सुन’लाई प्रशोधन गरेर निर्यात गर्ने हो। यसबाट सकल्पित आर्थिक क्रान्ति उन्नती एक दशकभित्रै सम्पन्न हुन्छ।
हामीलाई प्रकृतीले दिएका उपहारहरु रारा, से-फोक्सोण्डो, खसभाषा सभ्यताको केन्द्र सिँजा, मानसरोवर ढोका हुम्ला, श्रीस्थान ज्वाला क्षेत्र, सुर्खेतको काँक्रेबिहार जस्ता धार्मिक, प्राकृतिक तथा सांस्कृतिक स्थानहरुमा पर्यटक प्रवर्धन गर्न सकिने छ।
विशाल जनसंख्या रहेका छिमेकी मुलुक भारत र चीनबाट केही प्रतिशत पर्यटक मात्र आकर्षित गर्न सकियो भने हामीले देखेको सम्बृद्दीको सपना टाढा छैन।
आर्थिक सम्बृद्धिको बलियो सम्भावना बोकेको ६ नम्बर प्रदेशको विकासको मोडेल कस्तो बनाउने अब हाम्रो हातमा छ। हाम्रो प्रदेशलाई सधै प्रयोगशाला बनाइरहने छुट अब छैन।