पश्चिम दाङको खानेपानी आयोजनामा ६५ लाख रुपैयाँ आर्थिक हिनामिना गर्ने कार्यसमिति र कर्मचारीलाई निलम्बित गरिएको छ।
बबई गाउँपालिकाले हापुरे खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका कार्यसमिति र कार्यरत कर्मचारीलाई सोमबारदेखि लागू हुनेगरि निलम्बित गरेको हो।
त्यहाँका उपभोक्ताहरूले साधारणसभामा खानेपानीमा लाखौंको घोटाला भएको गुनासो गरेपछि गाउँपालिकाले छानविन थालेको थियो। छानविनमा ६५ लाख रुपैयाँ हिनामिना गरेको तथ्य फेला परेपछि खानेपानीका पदाधिकारी र कर्मचारीलाई कारवाहीका लागि निलम्बित गर्नु परेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए।
आर्थिक अनियमितताको आशंकापछि तथ्य पत्ता लगाउन बबई गाउँपालिकाले गत वैशाख पहिलो साता उपभोक्ता चिम्से कामीको नेतृत्वमा एउटा छानविन समिति गठन गरेको थियो।
कामी नेतृत्वको छानविन समितिले ६५ लाख भ्रष्टाचार गरेको प्रतिवेदन केही दिन अघि मात्रै गाउँपालिकामा बुझाएको थियो। सोमबार गाउँपालिकाका अध्यक्ष पौडेलको अध्यक्षतामा बसेको बैठकले दोषीमाथि कारवाहीका लागि खानेपानीका पदाधिकारी र कर्मचारीलाई निलम्बन गर्ने निर्णय गरेको हो।
यसैबीच गाउँपालिकाले थप छानविनबाट कर्मचारी निर्दोष ठहर भएमा उनीहरूलाई पुर्नबहाली गरिने जानकारी पनि दिएको छ। त्यसका लागि अब गाउँपालिकाले छुट्टै छानविन गर्ने तयारी गरेको छ।
त्यस्तै, मंगलवारको सर्वपक्षीय बैठकले हापुरे खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी असार १० गतेभित्र निर्वाचन गर्नेगरी बबई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष डम्मर श्रीसको संयोजकत्वमा ५ सदस्य निर्वाचन समिति पनि गठन गरेको छ।