दाङको देउखुरीको राप्ती गाउँपालिकाको एक सामुदायिक वनबाट जनप्रतिनिधिको ‘ठाडो आदेश’मा सालको रुख काट्न लगाएपछि विवाद उत्पन्न भएको छ।
राप्ती गाउँपालिका वडा नं. १ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र जेठ १८ गते सोही वडाका सदस्य पूर्णजंग रेश्मीले ठाडो आदेश दिएर सालको रुख काट्न लगाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन्।
उनीहरूले वडा सदस्यलाई कारवाही गर्न भन्दै स्थानीय प्रशासन र वन कार्यालयलाई पत्राचार समेत गरेका छन्।
सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति र स्थानीयबासीको अनुमति बिना नै महिला भवन निर्माण गर्ने बाहानामा रेश्मीले हचुवाको भरमा ठाडो आदेश दिएर करिब ३१.१२ क्यूफिट सालको काठ काटेको उपभोक्ताले आरोप लगाएका छन्।
स्थानीय नेत्र खनालले ‘जनप्रतिनिधि हुँ’ भन्दैमा रेश्मीले मनपरी गरेको आरोप लगाए।
‘हाम्रो गाउँमा महिला भवन निर्माणका लागि राप्ती गाउँपालिका बाट ५० हजार बजेट विनियोजन गरिएको थाहा छ। तर भवन निर्माणकै लागि भए पनि स्थानीयवासी र सामुदायिक वन समूहलाई किन जानकारी गराइएन?’ खनालले प्रश्न गरे।
भवन निर्माणको बाहानामा वडा सदस्य रेश्मीले सालको रुख काटेर व्यक्तिगत परियोजनमा लगाएको उनले आशंका व्यक्त गरे।
अर्की स्थानीय साधा आलेले वडा सदस्य रेश्मीले मनपरी गरेको भन्दै उनलाई आवश्यक कानूनी कारवाही हुनुपर्ने माग गरिन्। वडा सदस्य रेश्मीलाई उपभोक्ताको नाताले किन काठ काटेको हो? भन्ने प्रश्न सोध्न खोज्दा उल्टै धम्की दिने गरेको उनले बताइन्।
यसैबीच राप्ती सामुदायिक वन समूहका अध्यक्ष गेमबहादुर खड्काले पनि वडा सदस्यले गल्ती गरेको भन्दै कारवाहीको माग गरेका छन्। उनले उपभोक्ताको सहयोगमा सालका गोलिया नियन्त्रणमा लिइएको बताए।
उनले ईलाका वन कार्यालय लमहीलाई बरामद भएको गोलियाको मात्रासहित मनपरी गर्नेलाई कारवाहीको लागि हस्ताक्षरसहितको पत्र पठाइएको बताए । तर वडा सदस्य पूर्णजंग रेश्मीले भने आफूलाई झूटा आरोप लगाएर फसाउन खोजिएको भन्दै आफ्नो बचाउ गरेका छन्।
उनले सामुदायिक वन समूहसँग सल्लाह गरेर मात्रै रुख काट्न सल्लाह दिएको दाबी गरे।