तुलसीपुरमा ‘तुलसी’ टावर स्थापना गरिने भएको छ। तुलसीपुरको पहिचान स्थापित गर्न सात तले तुलसी टावर स्थापना गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले बताए।
सोमबार तुलसीपुर क्षेत्रका उद्योगी व्यापारीसँगको छलफलमा उनले तुलसीपुरको पहिचान स्थापित गर्नको लागि ‘तुलसी’ टावर निर्माण गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
उपमहानगरपालिकाको सम्मुखमा आफ्नै जग्गामा रहेको सब्जी मण्डीमा करिब ४० करोडको लगानीमा त्यस्तो टावर निर्माण गर्ने निर्णय भएको पाण्डेले जानकारी दिए। उक्त टावरमा उच्च प्रविधिको सिनेमाहलसहितको मल्टिप्लेक्स निर्माण गरिने उनले बताए ।
निजी क्षेत्रसँग समन्वय गरेर आफू तुलसीपुरको विकासमा लाग्ने आश्वासन दिएका मेयर पाण्डेले तुलसीपुरको व्यापार तथा पर्यटन प्रर्वद्धनका लागि स्तरीय होटेल, केबुलकार सञ्चालन, सभाहल निर्माण, खेल मैदान, रेष्टुरा, कलेज, स्तरीय विद्यालय, कृषि र उत्पादन मुलक काममा लगानी लगाउन आग्रह गरेका थिए।
उनले त्यसक्रममा अचल पुजीलाई चलायमान बनाउदै तुलसीपुर क्षेत्रको विकास र संवृद्धिमा लाग्न उद्योगी तथा व्यापारीहरुलाई अपिल गरेका छन् । लगानीको सुनिश्चिता गर्ने आश्वास्त पार्दै उनले ढुक्क भएर ठूला होटेल तथा स्तरिय रेष्टुरेन्टहरुमा लगानी गर्न आग्रह गरे।
त्यसका लागि मेयर पाण्डेले तुलसीपुरलाई सिसी क्यामेराको निगरानीमा राख्ने कार्य तत्कालै पुरा गर्ने आश्वासन दिए।
यसैबीच उद्योगी व्यापारीले २७ बुँदे सुझाब सहितको ध्यानाकर्षण पत्र मेयर पाण्डेलाई बुझाएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसेले बुझाएको उक्त पत्रमा तत्काल बन्द अवस्थामा रहेको जिल्लाको एक मात्रै विमानस्थलको स्तरोन्नती गर्न, ईन्धन डिपो स्थापनाका लागि पहल गर्न, सभाहल निर्माण, बजार तथा पार्किङ ब्यबस्थापन, तरकारी बजार र मासुमन्डी ब्यबस्थापन, निर्वाचनको क्रममा भनिए जस्तै गरि तुलसिपुरलाई स्मार्ट सिटी बनाउन पूर्वाधार तयार पार्न आग्रह गरेका छन्।
संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले भाषण गरेर मात्रै तुलसीपुर स्मार्ट सिटी बन्न नसक्ने भन्दै त्यसका लागि कुरा हैन काम गरेर देखाउन मेयरलाई आग्रह गरेका छन्।