तुलसीपुर उपमहानगरपालिकाले बर्षमा तीन वाली उत्पादन गर्ने कृषकलाई करमा छुट दिने नीति ल्याएको छ। शुक्रबार नगरप्रमुख घनश्याम पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बाँझो जमिनमा अतिरिक्त शुल्क लगाउने कुरा उल्लेख छ।
तुलसीपुरमा कुनै पनि जमिनलाई बाँझो राख्न नपाईने नीति निर्माण गरिएको छ। बर्षमा एक वाली पनि खेती नगर्ने, फलफूल पनि नरोप्ने वा जमिन बाँझो छोड्नेलाई अतिरिक्त मालपोट शुल्क लागाउने नीति तथा कार्यक्रममा छ।
तुलसीपुरमा अबदेखि कृषियोग्य जमिन खण्डीकरणमा रोक लगाइने भएको छ। मेयर पाण्डेले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा कृषि कार्य गर्ने व्यक्ति, समूह तथा सहकारी संस्थाहरुको सिफारिस शुल्क, दर्ता शुल्क तथा नविनकरण शुल्कमा छुट दिने कुरा उल्लेख गरिएको छ ।
बर्षाको पानी पोखरीमा जम्मा गरि यस आर्थिक वर्षमा थप १५ सय हेक्टर जमीनलाई पूर्ण सिँचाईयुक्त बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै व्यवसायिक किसानका लागि विषेश परिचय पत्र प्रदान गर्ने, उनीहरुको पहिचान र सम्मानलाई बढवा दिन कृषक पोशाक प्रदान गरिने मेयर पाण्डेले बताएका छन्।
त्यस्तै उनले बजार क्षेत्रमा प्रांगारिक मलको उत्पादन पाइने पसलहरु सञ्चालन गर्ने स्थानीय समुदाय र सहकारीलाई सहयोग प्रदान गर्ने तथा प्राङगारिक खेति प्रणाली अबलम्वन गर्ने किसानलाई विषेश अनुदानको व्यवस्था गर्ने मेयर पाण्डेले बताएका छन् । विपन्न तथा सकुम्वासीले जग्गा भाडामा लिइ प्राङ्गारिक खेति गर्न चाहेमा तोकिएको भाडामा ५० प्रतिसत रकम अनुदान दिने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
आगामी आर्थिक वर्षमा तुलसीपुरको ६ सय विगाहा जग्गामा व्यवसायिक फलफूल बगैचा निर्माण, ५ सय विगाहामा व्यवसायिक तथा वेमौसमी तरकारी खेति उत्पादन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गएिको छ।
त्यस्तै आगामी आर्थिक वर्षमा निजी तथा सहकारी क्षेत्रवाट २५ हजार लिटर दूध दैनिक संकलन गरेर डेरी उद्योग सञ्चालनमा ल्याउन सहयोग प्रदान गरिने मेयर पाण्डेले बताएका छन्। मजदुरहरुलाई श्रमिक परिचय पत्र प्रदान गर्ने, नियमित स्वास्थ्य जाँच, कृषकको समस्यालाई खेतवारी र गोठमै समाधान गर्ने कार्यक्रममा उल्लेख छ।
त्यस्तै कृषि र पशुपालन क्षेत्रमा विमा गर्नेलाई अनुदान दिने, एक वडा एक कृषि तथा पशुसेवा प्राविधिक राख्ने, नदी र खोला किनारमा बगर खेतिलाई प्रोत्साहान गर्ने उल्लेख छ। लिफ्ट सिँचाई आयोजना, पशुपंक्षिपालन व्यवसायलाई प्रर्वद्धन गर्न निशुल्क खोप, कृत्रिम गर्वाधारण केन्द्रको व्यवस्था, आधुनिक सित भण्डारणको स्थापना, एनिमल एम्वुलेन्स, आधुनिक ल्याव निर्माण जस्ता कुराहरु कृषीको प्रर्वद्धनका लागि ल्याउने मेयर पाण्डेले बताएका छन्।
तुलसीपुरवासीलाई फलफूलमा आत्मनिर्भर बनाउन निःशुल्क विरुवा वितरण गर्ने मेयर पाण्डेले उल्लेख गरेका छन् ।
नीति तथा कार्यक्रममा पर्यटन व्यवसाय गर्ने व्यवसायीलाई ३ बर्षसम्म व्यवसायिक करमा छुट दिने, १०० जना भन्दा बढी कामदारलाई रोजगारी दिने उद्योगलाई पहिलो ३ बर्षको करमा ५० प्रतिशत मात्रै गर्ने र उक्त उद्योगका लागि सडक, बत्ति लगाएत आवश्यक पूर्वाधार तयार गरिदिने, घरको सिफारिसमा महिलालाई २५ प्रतिशत छुट, अपाङ्ग परिचय पत्रका लागि निःशुल्क सिफारिस दिने व्यवस्था, व्यवसाय कर समयमै तिर्नैलाई छुट तथा ढिलो गर्नेलाई जरिवाना, अपांग व्यक्तिले संचालन गरेका उद्योग तथा व्यवसायमा ५० प्रतिशत छुट, आउने साउन महिनादेखि सम्वन्धित वडा कार्यालयवाट कुर बुझ्ने व्यवास्था मिलाउने जस्ता कुराहरु नीति तथा कार्यक्रमका सकारात्मक पक्षहरु हुन्।
त्यस्तै उपमहानगरपालिकाको वडा नं. १ र २ को सबै क्षेत्र, वडा नं. ३, ४ र १९ को पहाडी क्षेत्र, १३, १४ , १५ र १६ मा उद्योग व्यवसाय दर्ता तथा सञ्चालन शुल्कमा ५० प्रतिशत छुट दिने, दलित र महिलाले संचालन गर्ने उद्योग तथा व्यवसायमा २५ प्रतिसत छुट दिने व्यवस्था गरिको छ।
त्यस्तै एक आपसमा गाभिन चाहने सहकारीलाई विषेश सुविधा प्रदान गर्ने, मेयर उद्यमसिल कार्यक्रम सञ्चालनमा ल्याउने, वेरोजगार युवाहरुको तथ्याङ्क संकलन गरेर स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने, यसै वर्षदेखि उत्कृष्ट किसान, लगानी कर्ता, शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने जस्ता कुराहरु नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
त्यस्तै तुलसीपुरमा एक वडामा एक उद्यान निर्माण गर्ने, मिनी चिडियाखाना निर्माण, पहिचान स्थापना गर्ने तुलसीपुर टावर र स्वागतद्धार निर्माण जस्ता कुराहरु नीति तथा कार्यक्रमा समावेश गरिएका छन्।
मेयरले प्रस्तुत गरेको कार्यक्रममा हरेक नागरिकले बर्षमा दुई पटकसम्म स्वास्थ्य जाँच गर्ने, हरेक नागरिकको बैंक खाता खोल्ने, सुनौलो हजार दिन कार्यक्रमलाई थप प्रभावकारी बनाउने, विपन्न र जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिको विमा रकम व्यहोर्ने र उपचारको सुनिश्चितता गर्ने, थारु जातिमा रहेको सिकलसेल, वर्थडिफेक्ट जस्ता समस्या समाधानको लागि विषेश कार्यक्रम सुरुवात गर्ने कुरा उल्लेख छ।
६० वर्ष उमेर नपुगेका निरक्षरलाई साक्षर बनाउन कक्षा ११ र १२ का विद्यार्थीलाई स्वयं सेवकको रुपमा परिचालन गर्ने, किशोरीहरुको क्षमता विकास र आत्मरक्षाको लागि विशेष प्रतिरक्षा तालिम तथा स्मार्ट छोरी कार्यक्रम सञ्चालन गर्ने, मेट्रोकलेज स्थापना गर्ने, आगामी आर्थिक वर्षवाट नगर वस सञ्चालन गर्ने, सुविधा सम्पन्न रंगशाला निर्माण, अरनिको मैदानमा मिनी रंगशाला निर्माण जस्ता कुराहरु नीति तथा कार्यक्रममा समावेश गरिएका छन्।
त्यस्तै टोलस्तरका सडक ८ मिटर, दुई भन्दा बढी टोल जोड्ने सडक १० मिटर, वडा जोड्ने सडक १२ मिटरको मापदण्ड अनुरुप निर्माण गर्नेलाई करमा छुटदिने बताइएको छ।
टारिगाउँ एयरपोर्टको स्तर उन्नती, धावनमार्ग विस्तार, इन्धन डिपो स्थापनामा विशेष पहल गरि नियमित विमान सञ्चालन गर्ने, बहुउदेश्य सभाहल निर्माण, घरनक्सा पासलाई अनलाईन सिस्टममा लगिने, तुलसीपुरको डिजिटल प्रोफाई निर्माण, डिजिटल नक्शा तयार, तुलसीपुरमा आइटी पार्क निर्माण, फ्रि वाईफाई सेवा, स्मार्ट डस्टविन, नगर प्रहरी, नगर विग्रेट र नगर विकास स्वएम सेवक निर्माण जस्ता कुराहरु समेत नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।
नीति तथा कार्यक्रममा सबै पक्षहरु सकारात्मक रहेतापनि तर यसमा विगतमा लगाउँदै आइएको करको दायरा बढाउने उल्लेख गरिएको भएपनि कतिले बढाउने भन्ने कुराभने स्पष्ट उल्लेख गरिएको छैन ।
नीति तथा कार्यक्रम नयाँ शब्दको प्रयोग गरि अतेन्तै आकर्षक ढंगवाट प्रस्तुत गरिएको भएपनि त्यो व्यवहारमा उतार्न संभव नहुने खालको भएको कतिपय वडा अध्यक्षहरुले प्रतिक्रिया दिएका छन् । ‘स्मार्ट नगरदेखि स्मार्ट छोरी’को कोरा कल्पना गर्नुभन्दा जनताका तत्कालका आवश्यकता पुरागर्न तर्फ लाग्ने गरि नीति तथा कार्यक्रम आउनु सकेको भए त्यसले नगरवासीमा विश्वास जागृत हुने ती वडा अध्यक्षले बताए । नगर प्रमुख घनश्याम पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रम १९५ बुँदामा समेटिएको छ । जसलाई धेरैले महत्वाकांक्षी र सपना देखाउने खालको भनि टिप्पणी गरेका छन् ।