दाङका दुई वटै उपमहागरपालिकाले आइतबार वार्षिक बजेट प्रस्तुत गरेका छन्। घोराहीभन्दा तुलसीपुरको बजेट भोल्यूम केही ठूलो देखिएको छ।
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि एक अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ भने घोराहीले १ अर्ब ४९ करोड २६ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
तुलसीपुरमा पुर्वाधार विकासका लागि सबैभन्दा धेरै १ अर्ब ४२ करोड ९२ लाख ७३ हजार २ सय ७ रुपैँया र चालु खर्च अन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालन गर्न १४ करोड १९ लाख १८ हजारको बजेट उपप्रमुख माया आचार्यले प्रस्तुत गरेकी हुन्।
विकासे बजेट ९०.८ प्रतिशत र चालुखर्च तर्फ तलब भत्ताको रकम कुल बजेटको ९.२ प्रतिशत विनियोजन गरिएको छ।
तुलसीपुर उपमहानगरपालिकाले नगर र वडामा भौतिक पूर्वाधार निमार्णका लागि ३० करोड, तुलसीपुर नगरस्तरीय पुस्तकालय सञ्चालनका ५० लाख, आधुनिक अटो भिलेज निर्माण गर्न थप १ करोड बजेट विनियोजन गरिएको छ।
त्यस्तै निमार्णधिन तुलसीपुर वसपार्कलाई सुविधा सम्पन्न र प्रविधियुक्त निर्माण गर्न थप १० करोड बजेट विनियोजन गरिएको छ ।
उच्च शिक्षा अध्ययन गर्न चाहने विपन्न समुदायका विद्यार्थी र अपागंता भएका बालबालिकाको लागि २५ लाख, पर्यटकीयस्थलको विकासको लागि १ करोड, श्रीमणि मार्ग कालो पत्रे गर्न ५० लाख, चमेरे गुफा जाने सडक स्तरोन्नती गर्न २० लाख, बहु सांस्कृतिक संग्राहालय निमार्णका लागि ५० लाख, मेयरकपका लागि ५० लाख, तुलसीपुरमा चक्रपथ निमार्णका ५ करोड, आधुनिक बधशाला र स्मार्ट सिटी निर्माण गर्न ४ करोड, तरकारी र फलफुल बजार व्यवस्थित गर्न ४ करोड, शित भण्डार, कृषि तथा पशुपालन विकास, व्यवसायीक बगैचा र व्यवसायिक किसान पोशाक तथा परिचय पत्रका लागि ६ करोड, छिल्लीकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ५० लाख, तुलसीपुर ८ मा रहेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि १ करोड, डेरी उद्योग सञ्चालन गर्न १ करोड बजेट विनियोजन गरिएको छ।
त्यसैगरी बेरोजगार युवालाई लक्षित गरेर मेयर उद्यमशिलता कार्यक्रमका लागि २ करोड, ठूला गौरवका पुर्वाधार विकास र निर्माणका लागि १० करोड, विकट र दुर्गम वडा विकासका लागि ४ करोड, मातृ शिशु तथा प्रोत्साहन भत्ताका लागि ७५ लाख, खरको छानो हटाएर टिनको छानो हाल्नका लागि २ करोड, संस्थागत भवन निमार्ण गर्न ५० लाख, लक्षित वर्गका लागि १ करोड, योग भवनका निमार्ण गर्न ५० लाख, सरकारी र सार्वजनिक जग्गा सरक्षंणका लागि २५ लाख, सञ्चार कोष स्थापना र जनताको सूचनाको हक स्थापीत गर्न ७५ लाख, मेट्रो कलेजका लागि १ करोड, सामुदायिक विद्यालयका किशोरीलाई स्यानेटरी प्याड वितरणका लागि ३ लाख बजेट विनियोजन गरिएको छ।
त्यसैगरी आमाको माया कार्यक्रमका लागि ६ लाख ५० हजार, तुलसीपुर मेडिकल कलेजको सम्भाव्यता अध्ययन गर्न १० लाख, ठूला पुर्वाधार निमार्ण योजनका लागि ५ करोड, सडक बत्ति, सिसीटिभी जडानका लागि ५० लाख, बगर खेती कार्यक्रमका लागि ५ लाख, पशु अस्पताल र एनिमल एम्वुलेन्स सञ्चालन गर्न ५० लाख, टोबाको फ्री टोल विकास सस्था घोषणाको लागि ३ लाख, खानेपानी र सरसफाई कार्यक्रमका लागि २ करोड बजेट विनीयोजन गरिएको छ।
त्यस्तै बालमैत्री सुशासन कार्यक्रमका लागि ४० लाख, महिला पहिला अभियान कार्यक्रमका लागि ५ लाख, एकीकृत बस्ती तथा स्मार्ट सिटी सहर निमार्ण गर्न २५ लाख, तुलसीपुर आइटी पार्क निमार्ण गर्न ५० लाख, वातावरण संरक्षण गर्न ५० लाख,अश्वारामा भ्यू टावर निमार्ण गर्न २५ लाख र ‘हाँसेर काम गरौ सोधेर सेवा गरौँ’ भन्ने संस्कृति विकासका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।
बहुभाषा सञ्चालनका लागि ५० लाख, थारु जातिमा रहेको सिकलसेल रोगको सचेतनाको लागि १६ लाख, स्मार्ट छोरी कार्यक्रमको लागि १२ लाख, १९ वटै वडामा इ–गभर्नेन्स ल्याउन ५० लाख, होमस्टे सञ्चालन गर्न २५ लाख, प्रवेशद्धार निर्माण गर्न १५ लाख, लगानी सम्मलेन गर्न १० लाख, फोहर मोहरमा बदल्न १ करोड ७५ लाख, नगरवस सञ्चालन गर्न ५० लाख, सडक किनारमा बृक्षा रोप्न १० लाख, नगर प्रहरीको लागि ५० लाख, इन्टलिजेन्स व्यूरो परिचालनका लागि २५ लाख,अन्तराष्ट्रिय सम्वन्ध विस्तारका लागि १० लाख बजेट विनियोजन गरिएको छ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्व १८ करोड ३९ लाख १५ हजार ३ सय ९७ रुपैंयाको बजेट प्रस्तुत गरेको छ। यो बजेट चालु आर्थिक बर्षको तुलनामा ३९ करोड २७ लाख ५ हजार ८ सय १० रुपैंया बढी हो।
घोराहीमा झन्डै डेढ अर्वको बजेट
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि १ अर्ब ४९ करोड २६ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
आईतबार बसेको तेस्रो नगर सभामा उपमहानगरका उपप्रमुख सीता सिग्देल न्यौपानलेले उक्त बजेट प्रस्तुत गरेकी हुन ।
आगामी वर्षका लागि चालू तर्फ ९१ करोड ५७ लाख ५ हजार अर्थात बजेटको ६१ दशमलब ३५ प्रतिशत रकम बिनियोजन भएको छ भने पूँजीगत तर्फ ५७ करोड ६ लाख ९८ हजार अर्थात बजेटको ३८ दशमलब ६५ प्रतिशत बिनियोजन गरिएको उपप्रमुख न्यौपानेले बताइन ।
आगामी आर्थिक बर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्य संघीय सरकारबाट बित्तिय समानकिरण अनुदान ३२ करोड ४६ लाख रुपैंया , राजस्व बाँडफाँड २१ करोड ६९ लाख ८५ हजार, ससर्त अनुदान ४४ लाख करोड ८१ लाखको तोकिएको छ ।
त्यस्तै प्रदेश सरकारबाट बित्तिय समानीकरण अनुदानमा ७३ लाख १३ हजार, राजस्व वाँडफाँडमा २ करोड ८९ लाख ८५ हजार र ससर्त अनुदानमा १ करोड ३३ लाख रुपैंया आएको उपप्रमुख न्यौपानेले सभामा जानकारी दिइन्।
त्यस्तै आन्तरीक राजस्वमा १९ करोड, लागत सहभागिता ५ करोडको अनुमान गरिएको छ भने सामाजिक सुरक्षा कार्यक्रम, सडक बोर्ड र अन्य शिर्षकहरुका लागि २१ करोड ३४ लाख आयको अनुमान गरिएको उपप्रमुख न्यौपानेले बताइन्।
घोराहीका प्रत्येक वडामा ९० लाख विनियोजन
घोराही उपमहानगरपालिकाले सडक पूर्वाधारमा करिब १४ करोड बजेट विनियोजन गरेको छ । नगर क्षेत्रको सडक पूर्वाधारलाई बलियो बनाउन १३ करोड ९० लाख रुपैंया विनियोजन गरिएको छ ।
त्यसैगरी, शिक्षा तर्फ ससर्त र निसर्त गरि ३९ करोड ७ लाख ९ हजार बजेट विनियोजन भएको छ । स्वास्थ्य तर्फ ६ करोड ३ लाख १२ हजार, खानेपानी तर्फ १ करोड २४ लाख, संस्कृती प्रर्बद्धनमा २३ लाख, सहकारी तर्फ ३५ लाख, पर्यटनमा ५६ लाख रुपैयाँ विनियोजन भएको छ ।
उद्योग तथा व्यवसायमा ५ लाख, कृषि तथा पशु सेवा क्षेत्रमा १ करोड ५२ लाख ५६ हजार रुपैयाँ, खेलकुदका लागि १४ लाख ६० हजार, लैङगिक समानता र सामाजिक समाबेशीकरण तर्फ १ करोड १ लाख ४८ हजार, सिचाई तर्फ २० लाख, भवन तथा शहरी विकासमा ३ करोड २५ लाख, उर्जा तर्फ १३ लाख ४५ हजार, सञ्चार तर्फ १० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
साथै जालाधार संरक्षणमा १ करोड ८५ लाख, बाताबरण संरक्षणमा ५० लाख, फोहोर मैला व्यवस्थापनमा ६३ लाख, जलउत्पन्न प्रकोप नियन्त्रणमा ५० लाख, विपद व्यवस्थापनमा ५० लाख, सूचना प्रविधिमा २४ लाख, अनुसन्धान तथा विकास ६० लाख र वडागत पूँजीगत अनुदानमा ९० लाखका दरले १७ करोड १० लाख रुपैंया बिनियोजन गरेको उपप्रमुख न्यौपानेले नगरसभामा जानकारी दिएकी हुन्।
लमही नगरद्धारा नीति तथा कार्यक्रम प्रस्तुत
आइतवार नै लमही नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। तेस्रो नगर सभा अबिधेशनको आयोजना गरि उस्ले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। नगर प्रमुख कुलबहादुर केसीले नगर सफा राख्न प्लाष्टिक जन्य कप, गिलास र प्लेटको पूर्ण प्रतिवन्ध लगाउने योजना सुनाएका छन् । उनले चालु आर्थिक वर्षमा ३ करोड राजश्व संकलन भएको जनकारी दिएका छन् ।
लमही नगरलाई ‘हाम्रो नगर, राम्रो नगरः खुसी नगरबासी, शुन्दर नगर’ निर्माण गर्न भौतिक पूर्वाधार निर्माणमा जोड दिने बताएका छन् । उनले नगरलाई इमेल इन्टरनेटको पहुँच विस्तार गरि सबै वडाहरुमा समान रुपमा विकास गरिने बताएका छन् ।