राप्ती बबई क्याम्पस तुलसीपुर स्ववियु र नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस ईकाइ समितिले सोमबार क्याम्पसमा तालाबन्दी गरेका छन्।
एकाएक आफूहरूसँग सल्लाह नै नगरी क्याम्पसले ६० प्रतिशत शुल्क बढाएको हुँदा त्यसको विरोधमा क्याम्पस प्रमुख र व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको जारी वक्तव्यमा उल्लेख छ।
स्ववियु सभापति अनिल कार्की र नेविसंघ ईकाइका किरण केसी, रोहित न्यौपाने, नेविसंघ क्षेत्र नं. ४ का सभापति एकराज खड्का लगायतका विद्यार्थी नेताहरूले विद्यार्थी संगठन र स्ववियुसँग सरसल्लाह नै नगरी आफूखुसी ६० प्रतिशत गरिएको शुल्कवृद्धि स्वीकार्न नसकिने बताएका छन्।
उनीहरूले अवैज्ञानिक शुल्कवृद्धि फिर्ता नगरे आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । सोमबार नै नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूले पनि चर्को शुल्कवृद्धिको विरोधमा क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो ।