प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामस्थित जानकी मन्दिर अबको केही समयपछि स्वच्छ एवम् सुन्दर देखिने भएको छ।
मुख्यमन्त्री लालबाबु राउतले बिहीबार वैदिक मन्त्रोचारद्वारा ‘मुख्यमन्त्री स्वच्छता अभियान’ शिलान्यास गरेपछि अबको केही समयमा जानकी मन्दिर परिसर सुन्दर हुने अपेक्षा गरिएको हो।
शिलान्यासका लागि मिथिलानी महिलाले जनकपुरधामको पवित्र गंगासागर पोखरीबाट माटो ल्याएका थिए भने पण्डितहरुले स्वस्ती वाचनसमेत गरेका थिए।
प्रदेश सरकारको महत्वाकांक्षी योजनामध्येकै एक ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत जानकी मन्दिर सुन्दरता कार्यक्रम अगाडि बढाइएको हो। कार्यक्रम शिलान्यास गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले विकासको कामको थालनी माता जानकीको मन्दिरबाट गरेको बताए।
उनले अर्बौ हिन्दुहरूको आस्थाको केन्द्र रहेको जानकी मन्दिरबाट विकासका कार्यको शुरुवात गरिएको भन्दै प्रदेश विकासको गतिलाई कुनै शक्तिले रोक्न नसक्ने दाबी गरे।
जानकी मन्दिरलाई स्वच्छ एवम् सुन्दर बनाउन सक्यौं भने जनकपुरधाम मात्र नभई प्रदेश दुई र पूरै नेपाल त्यसबाट लाभान्वित हुनसक्ने मुख्यमन्त्री राउतको भनाई थियो।
प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मुख्यमन्त्री स्वच्छता अभियानलाई बडो महत्वका साथ समावेश गरेको थियो। यसका लागि प्रदेश सरकारले ७ करोड ७५ लाख रुपैया बजेट विनियोजन गरेको छ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारको यो पहिलो विकासको कार्यक्रम रहेको भन्दै यसलाई पुरा गर्न अपुग हुने रकम प्रदेश सरकारले नै व्यहोर्ने प्रतिबद्धता व्यक्त गरे।
यस अन्तर्गत जानकी मन्दिरको प्राङ्गणमा मार्बल ओछ्याइनेछ भने मन्दिरको तीन वटै प्रवेशद्वार पुनर्निर्माण गरिनेछ।
जानकी मन्दिरको इतिहास
माता जानकीको विशाल मन्दिरको निर्माण सन् १९११ मा गरिए पनि मध्य भारत लोहागढका सन्त शुरकिशोर दासले १५औँ शताब्दिमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएका थिए।
शुरकिशोर दास माता जानकीको अनन्य भक्त थिए। त्यसैले मिथिलाधाम दर्शन गर्ने उनको मनमा उत्कण्ठा जाग्यो तर मिथिलाधाम कुन ठाउँमा छ भन्ने विषयमा उनलाई केही थाहा थिएन। भनिन्छ मााता जानकीले नै उनको सपनामा आएर जनकपुरधामको बाटो देखाएकी थिइन्।
वि.सं. १४१७ मा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेला पारेको बताइन्छ।
पछि निसन्तान टिकमगढकी रानी वृषभानु कुमारीले माता जानकी समक्ष पुत्र प्राप्तीको ईच्छा व्यक्त गरिन्। उनलाई पुत्र प्राप्ति भएपछि विशाल मन्दिरको निर्माण गरेको बताइन्छ। त्यो समयमा ९ लाख असर्फी खर्चेर मन्दिरको निर्माण गरिएकोले जानकी मन्दिरलाई नौलाखा मन्दिर समेत भन्ने गरिन्छ।
सन् १८९४ मा शिलान्यास गरिएको मन्दिरको सन् १९११ मा मन्दिर निर्माण सम्पन्न भएको मानिन्छ।
मन्दिरका महन्थ रामतपेश्वर दासको कक्षमा सन्त शुरकिशोर दासको हार अंकित तस्बिर र महारानी वृषभानु कुमारीको पनि तस्विर छ।
महारानी छोरा लिएर प्रसन्न मुद्रामा बसेकी छन् भने साथमा राजा प्रताप सिंह पनि तस्बिरमा छन्।
मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे दुई पटक आरती हुन्छ। दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन। गर्भगृह पछाडि सांस्कृतिक संग्रहालय छ। त्यसले हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएसम्मको झझल्को दिलाउँछ।
जनकपुरधामको मध्य भागमा रहेको सो मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमूना मानिन्छ। मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेका छन्। सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको छ।
सो मन्दिर वास्तु कलाकारिताको विलक्षण रहेको छ। मन्दिर परिसरमा ६० वटा कोठाहरू छन्।