नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अप्रजातान्त्रिक ढंगले चल्न खोजेको आरोप लगाएका छन्।
दाङको लमहीमा बुधबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै अगाडि बढेको बताएका हुन्।
‘लुट कान्छा लुट गीतमाथि प्रतिबन्ध लगाउने,मिडियामाथि पनि त्यस्तै व्यवहार गर्ने यो सरकार अप्रजातान्त्रिक ढंगले अगाडि बढ्न खोज्दै छ,’ देउवाले भने।
मुलुकमा हत्या हिंसा बढेको, निर्मला पन्तका हत्यारालाई कारबाही नभएकोप्रति देउवाले रोष प्रकट गरे।
सरकारले कर अत्यधिक बढाएको,अत्यधिक महँगी बढाएको हुँदा सरकारकै कारण गरिबी बढेको देउवाको आरोप लगाए।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले केही पनि उल्लेखनीय काम नगरेर एक वर्ष कटाएको दाबी गरे।
‘सरकारले वर्ष दिनमा केही गरेन, तर गफ मात्रै गर्यो,’ देउवाले भने।
सरकारले सिके राउतसँग गरेको सहमतिले भ्रम सृजना गरेको देउवाले बताए।
सरकारसँगको सहमतिपछि पनि सिके राउतका कार्यकर्ताले ‘नयाँ देशमा स्वागत छ’ भन्ने जस्ता व्यानर लेख्नु आपत्तिजनक रहेको देउवाले बताए। ‘सिकेले जनमत संग्रह भन्या हो भन्छन्,’ देउवाले भने ‘जनमत संग्रहको नाममा होस्, या कुनै पनि नाममा देशको भाग छुट्याउन पाइने छैन।’ उनले विप्लवसँगको सवालमा वार्तामार्फत् समाधान गर्नुपर्ने बताए। लगानी सम्मेलन गर्नु राम्रो पक्ष भए पनि सरकारले त्यसको वातावरण निर्माण गर्न नसक्दा सम्मेलनको औचित्य पुष्टि हुन नसकेको देउवाको तर्क छ।
त्यस्तै, कांग्रेस सभापति देउवाले प्रतिपक्षको भूमिका कमजोर नरहेको दाबी गरे।
‘रेलिङ भाँच्ने, तोडफोड गर्नुमात्रै प्रतिपक्षको काम होइन’, देउवाले भने,‘रेलिङ भाँच्ने, आगो लगाउने, तोडफोड गर्ने काम त गलत कुरा हो।’
कांग्रेस सभापति देउवाले आफूले आफ्नै साथीहरूबाट साथ नपाएको गुनासो गरे।
‘म ओली सरकारको खिलाफमा हुन्छु, तर मलाई मेरै साथी मेरो खिलाफ जान खोज्छन्,’ देउवा भने।
पत्रकारले प्रदेश राजधानीको विषयमा सोधेको प्रश्नको जवाफ दिँदै कांग्रेस सभापति देउवाले दाङमा आवश्यक भौतिक पूर्वाधार नभएको हुँदा तत्कालीन समयमा आफूले बुटवललाई अस्थायी राजधानी तोकेको बताए।
‘दाङमा सभाहल, भवन केही थिएन,तर तत्काललाई त्यो नभइ नहुने थियो, त्यही भएर काम चलाउन तत्कालका लागि बुटवललाई अस्थायी तोकिएको हो,’ देउवाले भने।
पूर्वप्रधानमन्त्री देउवाले तत्कालीन समयमा तोकिएका सबै राजधानी अस्थायी रहेको र प्रदेश सभाबाट स्थायी राजधानी तोकिने स्पष्ट पारे।