नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७९ को चुनाव जितेका ठाउँमा कांग्रेसले घोषणा पत्र नभई काम गरेको परिणाम पत्र लिएर जाने बताएका छन्।
२०८४ को चुनावका बेला घोषणा पत्रका सट्टा परिणाम पत्र लिएर जाने उनले बताए।
‘जहाँ कांग्रेसको वडाध्यक्ष र मेयर जितेको छ, त्यहाँ कांग्रेसले प्रतिबद्धता पत्र वा घोषणा पत्र लिएर जाने होइन,’ कीर्तिपुरमा बिहीबार भएको चुनावी सभामा महामन्त्री थापाले भने, ‘त्यहाँ कांग्रेसले पाँच वर्ष गरेको कामको परिणाम पत्र लिएर जाने हो। यो काम गरेर आएँ भनेर जाने हो।’
चुनाव जितेका ठाउँमा के-के काम गरेँ भनेर भन्न सक्नुपर्ने पनि थापाले बताए।
उनले मिसन ०८४ को कुनै अर्थ नभएको पनि बताएका छन्। एउटा चुनाव जितेर अर्को चुनावको मात्रै सपना देखाउने काम गर्न नहुने पनि उनले बताए।
‘२०८१, ०८२, ०८३ र ०८४ को जिम्मा कसले लिन्छ, मलाई त डर लाग्छ कसैले लिँदैन। किनकी २०७९ देखि २०८४ सम्म जाँदै गर्दा सरकारमा नबसेको र प्रतिपक्षमा नबसेको कुनै पार्टी हुने छैन। अनि ०८४ को चुनावमा जाँदै गर्दा सबैले के भन्छन् भने राम्रो जति मैले गरेको नराम्रो जति अर्को पार्टीले गरेको, आफूले गरेको गल्ती स्वीकार गर्दै सच्याउँदै कांग्रेस जिम्मा लिन चाहन्छ,’ महामन्त्री थापाले भने।
विगतको चुनावमा ३३२ पालिका र २६६८ वडाध्यक्ष कांग्रेसले जितेको उल्लेख गर्दै थापाले आउँदो पुसमा कांग्रेसले जितेका स्थानीय तहका प्रमुखलाई काठमाडौं बोलाएर कामको अवस्थाबारे जानकारी लिइने बताए।
अर्को चुनावमा काम गरेका आधारमा परिणाम पत्र लिएर भोट माग्न जाने पनि उनले बताएका छन्। उनले परिणाम दिने गरी काम गर्न कांग्रेसले चाहेको पनि उल्लेख गरेका छन्।
कीर्तिपुरको दुइटा वडा र प्रमुख पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।