नेपालगञ्जको मुख्यबजार सदरलाइनस्थित त्रिभुवन चोकको पिलर भत्काउन खोज्दा स्थानीयले विरोध गरेपछि काम रोकिएको छ। सोमबार राति डोजर चलाएर पिलर भत्काउन खोज्दा स्थानीय विरोधमा उत्रिएपछि काम रोकिएको हो।
राप्रपा निकटका स्थानीय कार्यकर्ता तथा सर्वसाधरण नागरिकले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल समशेर राणा, शालिक भत्काउन पठाउने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, वडा अध्यक्षलगाएका विरुद्ध नारावाजी गरेका थिए।
इतिहास मेट्न खोजेको भन्दै रातिमा नाराबाजी भएपछि काम रोकिएको थियो। बाणिज्य संघका अध्यक्ष वैश्यले मेयर राणाको आदेश र पत्रचारको आधारमा शालिक विनाको पिलर भत्काउन खोज्दा विरोध भएपछि काम रोक्नुपरेको सेतोपाटीलाई प्रतिक्रिया दिए।
राजा त्रिभुवनको शालिक २०६२/२०६३ मा माओवादी कार्यकर्ताले आन्दोलनका क्रममा तोडफोड गरेका थिए।
‘हामीले २० प्रतिशत जति पनि पिलर भत्काउन पाएनौं, त्यहाँ कडा सिमेन्ट प्रयोग भएको रहेछ,’ वाणिज्य अध्यक्ष वैश्यले भने, ‘त्यसमाथि स्थानीय विरोधमा उत्रिए र भत्काउने काम रोकेका हौं।’
पुरानो तथा जिर्ण भइसकेको त्रिभुवन चोकलाई सुन्दर र आकर्षक बनाउने उद्धेश्यका साथ पिलर भत्काउन खोजेको अध्यक्ष वैश्यले बताए। टुटेफुटेको कुरूप अवस्थाको पिलरलाई हटाएर मूर्ति राख्ने ठाउँ खालि छोडेर नेपालको झन्डा राख्ने गरि आकर्षक चोक निर्माण गर्ने अधिकार उपमहानगरपालिकाले वाणिज्य संघलाई दिएको वैश्यले जानकारी दिए।
वाणिज्य संघले यसअघि राजाको शालिक उक्त चोकलाई आकर्षक चोक बनाइदिने बेहोरा उपमहानगरपालिकामा पेश गरेको थियो।
‘इतिहासलाई मेट्ने हैन अझैं राम्रो बनाउनको लागि हो,’ अध्यक्ष वैश्यले भने, ‘त्यहाँ कसको मूर्ति राख्ने त्यो काम सरकारको हो। हामीलाई कसैको मूर्ती राख्ने अधिकार छैन। हामी त्यहाँ नेपालको झन्डा मात्रै राख्ने छौं।’
तर स्थानीयले राजा त्रिभुवनको शालिक रहेको पिलर रातारात भत्काएर इतिहास मेटाउन खोजेको हुँदा विरोधमा उत्रनु परेको बताएका छन्। यो सवालमा जान्न खोज्दा मेयर डा. धवल समशेर राणा सम्पर्कमा आउन चाहेनन्।
उनका पिए विकाश गौतमले पनि यस बारेमा आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए। नेपालगञ्जकी उपमेयर उमा थापाले भने उद्योग वाणिज्य संघले आधुनिक चोक निर्माण गर्ने प्रस्ताव पेश गरेको हुँदा त्यही अनुरुप पिलर भत्काउन खोजिएको हुनसक्ने अनुमान गरिन्।
आफू सुर्खेतमा रहेको बताएकी उपमेयर थापाले घन्टाघर निर्माण गर्ने प्रस्ताव उद्योग वाणिज्य संघले पेश गरेको जस्तो अनुमान लगाइन्। ‘तर म यो कुरा यकिनका साथ भन्न सक्दिनँ, कार्यालय पुगेपछि मात्रै के सहमति भएको छ त्यो भन्न सक्छु,’ थापाले भनिन्। जे जस्तो भएपनि राति राति भत्काउने काम गर्नु सही नभएको उनको कथन थियो।
उद्योग वाणिज्य संघका अध्यक्षले एक हप्ता अगाडि नगरबाट भत्काउने आदेश सहितको पत्राचार भएको भन्ने कुरा गरेको भए पनि त्यसवारेमा केही पनि आफूलाई जानकारी नभएको थापाले बताइन्। ‘मलाई केही जानकारी थिएन। स्थानीयले मलाई रातिमा फोन गरेर तनाव दिए अनि मैले पनि काम रोक्न भनेकी हुँ,’ उपमेयर थापाले भनिन्।
त्यसवारेमा विवाद भएपछि मंगलबार नै बोर्ड मिटिङ बस्न लागेको भन्ने खबर आफूलाई आएको उपमेयर थापाले बताइन्।