मालपोत कार्यालय तुलसीपुर दाङमा बुधबारदेखि अनलाईन सेवा सुरु भएको छ। मालपोत कार्यालयमा अनलाईन सेवा सुरु भएपछि लेखापढी व्यवसायीहरु भने विरोधमा उत्रिएका छन्।
विरोध स्वरूप बुधबारदेखि नै लेखापढी व्यवसायीले अनिश्चित कालिन ‘पेन डाउन’ सुरु गरेका छन्। नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन ईलाका समिति तुलसीपुरका अध्यक्ष हरिलाल पौडेलले कार्यालयमा कुनै पनि तयारी नगरी, पूर्वाधार विकास नगरी, सेवाग्राहीलाई कुनै सूचना नगरी कर्मचारी कम भएको अवस्थामा अनलाईन सेवा सुरु गरेको हुँदा विरोध गर्नुपरेको बताए।
आन्दोलनरत लेखापढी व्यवसायीले नयाँ प्रविधिको प्रयोग गर्ने तथा अनलाईन सेवा सुरू गर्ने वाहानामा जनतालाई अझ धेरै दुःख दिने, एक दिनमा हुने काम सात दिनमा पनि पुरा नहुने विधि मालपोतले अवलम्वन गर्नु गलत भएको दाबी गरे।
लेखापढी व्यवसायीको आन्दोलनलाई भने धेरैले अब सेवाग्राहीलाई मनपरी ठग्न पाइन भन्ने चिन्ता र छटपटीको उपज मात्रै त्यसलाई मान्नु पर्ने टिप्पणी गरेका छन् ।
छिटो र भरपर्दो सेवाको लागि अनलाईन – महानिर्देशक दवाडी
भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्थापन विभागका महानिर्देशक गोकर्णमणि दवाडीले छिटो छरितो र भरपर्दो सेवाको लागि मातपोत कार्यालयमा अनलाईन सेवा विस्तार गरिएको बताए।
मालपोत कार्यालय तुलसीपुरमा बुधबार अनलाईन सेवाको उद्घाटन पछि बोल्दै महानिर्देशक दवाडीले मालपोतको सेवालाई समयसापेक्ष रूपमा प्रभावकारी बनाउने उद्धेश्यले अनलाईन सेवा सुरु गरिएको बताए।
उनले अनलाईन सेवा सुरू भएपछि अब सेवाग्राहीले घरमै बसेर सेवा लिनसक्ने भएकाले यो समयको माग भएको बताए। यसले हरेक सेवाग्राहीको सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गर्ने उनले दाबी गरे।
‘अब तुलसीपुरमा कुनै पनि सेवाग्राहीले अनलाईन सेवा लिएमा त्यो सिधै सिंहदरवारमा अध्यावधिक हुने हुँदा कथम कदाचित भौतिक क्षति भएमा त्यो केन्द्रमा सुरक्षित हुने हुँदा अनलाईन सेवा समयको माग भएको उनको तर्क थियो। त्यस्तै उनले अनलाइन सेवाले भावि दिनमा के कति राजश्व उठ्छ भन्ने प्रक्ष्यपन गर्न सहज हुने बताए ।
मालपोतमा कुनै पनि कारोबार गर्दा सेवाग्राहीको मोवाईल नम्वरमा सुरूमै म्यासेज जाने हुँदा कसैले गलत काम गरिरहेको भएमा सम्वन्धित जग्गा धनीले तुरुन्तै कार्यालयमा गएर त्यो रोक्ने सक्ने दवाडीले जानकारी दिए।
महानिर्देशक दवाडीले भने, ‘अहिलेसम्म एउटाको जग्गा अर्कैले बेचेको धेरैले भोगेका सुनेका छौं र अब अनलाईन सेवा सुरु भएपछि त्यो पुरै रोकिन्छ।’
अनलाईन सेवाले राजश्वको यर्थात एकिन गर्ने हुँदा बाहिर लेखापढी व्यवसायीसंFग सेवाग्राही ठगिनुनपर्ने दवाडीले बताए। दवाडीले लेखापढी व्यवसायीलाई अनलाईन सेवा सुरु" हुँदा कुनै पनि दृष्टिकोणले अप्ठेरोमा नपार्ने हुँदा आन्दोलन गर्नु गलत भएको धारणा राखे।
कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्र;fद रिजालले सहज र सरल किसिमले सेवाग्राहीलाई सेवा दिन ग्राहकको बढी चाप हुने कार्यालयहरुमा अनलाईन सेवा सुरु गर्ने सरकारी नीति अनुरुप सेवा सुरु गरिएकाले विरोध गर्नु सही नभएको तर्क गरे। यातायात कार्यालय, लोक सेवा आयोग जस्ता कार्यालयमा अनलाईन सेवा सुरु हुँदा धेरै सुधार र सजिलो भएको उनको कथन थियो ।
सेवाग्राहीलाई सन्तुष्ट पार्नु नै सरकारी कार्यालयको कर्तब्य भएको हुँदा अरू कार्यालयहरुमा पनि सरकारले अनलाईन सेवा थप्दै जानुपर्ने उनको भनाइ छ। ‘हिजो हातले लेखेर सेवा गर्ने लेखापढी व्यवसायी अव कम्यूटरको प्रयोग गर्न लाग्नुस्,’ प्रजिअ रिजालले भने, ‘यो अनलाईन सेवा समयको माग हो। योसँग तपाँईहरु तर्सनु पर्दैन।’
कार्यक्रमलाई सम्वोधन गर्दै भूअभिलेख महाशाखाका कम्प्यूटर अधिकृत हरिशरण थापाले अनलाईन सेवाले लेखापढी व्यवसायीको सेवालाई कही कतै असर नपार्ने हुँदा नतर्सन आग्रह गरे।
सेवाग्राहीले आफ्नो घरमै बसेर पनि सेवा प्राप्त गर्न सकोस भन्ने उदेश्यले अनलाईन सेवा सुरु गरिएको उनले जानकारी दिए ।
मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले अनलाईन सेवा सुरु भएसँगै मलापोत कार्यालयमा हुने ढिलासुस्ति र अनियमिततामा कमि आउने आशा व्यक्त गरे। तुलसीपुरमा मालपोत कार्यालय २०७१ सालमा स्थापना भएको थियो ।