नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको दुई केन्द्रीय सदस्यसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने केन्द्रीय सदस्यहरुमा सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ बथेला निवासी ४२ वर्षीय चन्द्रबहादुर खड्का (असल) र रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ४ झ्याम निवासी अन्दाजी ५३ बर्षीय चुडामणि वली (आदर्ष) छन्।
स्रोतले सेतोपाटीलाई दिएको जानकारी अनुसार पक्राउ परेकामध्ये खड्का पूर्व माओवादी लडाकुका विग्रेड कमाण्डर हुन्। दाङको तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानस्थित घर तर्फ स्कार्पियोमा जाँदै गरेका उनीहरुलाई प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्री क्षेत्रवाट पक्राउ गरेको हो।
स्कार्पियो प्रहरीको चेक पोष्टमासमेत कतै नरोकिएर जवरजस्ती अगाडि बढेपछि प्रहरीले पिछा गर्दै जाँदा राम्री क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो। ‘गाडी कतै पनि नरोकेर जवरजस्ती अगाडि बढेपछि हामी पिछा गर्दै गयौं र मुस्किलले राम्री क्षेत्रबाट पक्राउ गर्न सफल भयौं,’ एक जना ट्राफिक प्रहरीका जवानले सेतोपाटीलाई भने।
पक्राउ पर्ने अर्का रोल्पा जिल्ला कमिटीका सदस्य हुन्। नाम थाहाँ नभए पनि रोल्पा जिल्ला कमिटी सदस्य तथा रोल्पा निवासी केन्द्रीय सदस्य वलीका सहोद्र ४१ वर्षीय भाई रहेको स्रोतले जानकारी दिएको छ।
त्यसैगरी प्रहरीले स्कार्पियो चालक लगायत अन्य केही व्यक्तिहरु समेत गरि आधा दर्जन जतिलाई पक्राउ गरेको छ।
यो विषयमा बुझ्न खोज्दा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाही र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले अनभिज्ञता प्रकट गरे।
स्रोतका अनुसार पक्राउ शुक्रवार बेलुका ४ बजेतिर पक्राउ गरे लगतै उनीहरुलाई ईप्रका तुलसीपुर नराखेर सोझै जिल्ला प्रहरी कार्यालय घोराहीमा लगिएको छ ।