प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदै हिँडेका पाँच जना पक्राउ परेका छन्।
गाउँ र शहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार घोराहीको एक होटलबाट दुई विदेशी नागरिकसहित ५ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले छन्।
पक्राउ परेकामध्ये अमेरिकी नागरिकलाई देश निकाला गर्न आग्रहसहित अध्यागमन विभागलाई पत्राचार गरिएको एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
‘हामीले अमेरिकी नागरिकलाई उनको नेपाल भ्रमणको अनुमति पत्र रद्द गर्दै देश निकाला गर्न आग्रहसहित पत्राचार गरेको केही दिन बितिसकेको छ,’ एसपी पाण्डेले भने, ‘अध्यागमन विभागले के गरिरहेको छ त्यो भने हाम्रो जानकारीमा छैन।’
उनीहरूको साथबाट बा १३ च ३१९६ स्कर्पियो गाडी, एक कार्टुन बाइबल, पैसा राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरु एउटा उद्देश्यले नेपाल आउने र नेपालका गाउँगाउँमा छिरेर अर्कै गतिविधि सञ्चालन गर्ने गरेको तथ्य उजागर भएको प्रहरीले बताएको छ।
सर्वसाधारणको गुनासको आधारमा अनुसन्धान गर्दै जाँदा पक्राउ परेका व्यक्तिहरुले धर्मान्तरण गराउन विभिन्न प्रलोभन दिनुका साथै पैसासमेत वितरण गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।
यसरी प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदै हिँडेका पाँच जना क्रिश्चियनलाई पक्राउ गरेपछि उनीहरूलाई छाड्न भन्दै प्रहरीमाथि ठूलो दबाब आएको प्रहरी स्रोतले बताएको छ।
एसपी पाण्डेले भने ‘ कल्पनै नगरेको ठाउँवाट पनि फोन आए । जिल्लावाट निर्वाचित जनप्रतिनिधि र राज्यको महत्वपूर्ण जिम्मेवारीमा आसिन व्यक्तिहरुबाट समेत दबाब आयो ।’
पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता दफा १५८ को उप दफा २ बमोजिम जवरजस्ती धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाइएको छ।
अमेरीकी महिलाको हकमा भने उनको भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई चिठी लेखेको एसपी पाण्डेले बताए । भिसा रद्द गरेर पठाएमा फेरि कुनैपनि विदेशी नेपाल आउन नपाउने व्यवस्था छ।
‘होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसरूलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको प्रमाण फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो,’ एसपी पाण्डेले भने ।
यो पनि हेर्नुहोस्
क्रिश्चियनले शव गाड्ने जमिन माग्दा गाउँमा तनाव