अपहरण गरि व्यक्ति हत्या गर्ने र सरकारी जग्गा किर्ते कार्यमा संलग्न १६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्। तीन जना भने धेरौटीम रिहा भएका छन्।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ निवासी खैरूल हसन अन्सारीले भारतको जयसपुर घर भई नेपालगञ्ज १६ जयसपुरमा डेरा गरि बस्ने जुनेद अन्सारीलाई गत माघ २२ गते नेपालगञ्जको चार बाहिनी चोकबाट अपहरण गरेका थिए।
खैरूलले फोन गरेर जुनेदलाई डाकेर अपहरण पछि भारतको बाबगञ्ज लगेर हत्या गरेका थिए। जुनेदको एउटा हात, एउटा खुट्टा काटिएको र जल्दै गरेको अवस्थामा शव फेला परेको थियो। अपहरण पछि हत्या गरिएका जुनेदकी पत्नी गौरी मल्ल अन्सारीले फागुन २३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पतिको अपहरण पछि भएको हत्या बारे अनुसन्धान गर्न भन्दै जाहेरी दिएकी थिईन्।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता टिकाबहादुर कार्कीका अनुसार खैरूल र जुनेद पार्टनसिपमा जग्गाको कारोबारी गर्दे आएका थिए। त्यसपछि बाँके प्रहरीले अपहरण र हत्या काण्डवारे अनुसन्धान गर्दै जाँदा खैरूलसहित नेपाल र भारतका ५ जना मिलेर जुनेदको हत्या गरेको रहस्य पत्ता लगाउन सफल भएको थियो ।
प्रवक्ता कार्कीका अनुसार बाँके प्रहरीले अनुसन्धान गर्दै जाँदा घटनाबारे थप तथ्यहरु फेला परे। प्रहरीले अनुसन्धानका क्रममा खैरूल र जुनेदले मालपोत कार्यालय बाँकेका कर्मचारीसँगको सेटिङ र मिलेमतोमा सरकारी जग्गाको सक्कल कागजात आफ्नो नियन्त्रणमा लिएर गैरकानुनी रूपमा सरकारी जग्गा आफन्तको नाममा नामसारी गराउने जस्ता गलत कार्य गर्दै आएको तथ्य उजागर हुन गएको हो।
खैरूल र जुनेदले यो बीचमा धेरै सरकारी जग्गा गैरकानुनी रूपमा आफन्तको नाममा नामसारी गरिसकेका थिए। प्रदेश प्रहरी प्रवक्ता टिकाबहादुर कार्कीका अनुसार बाँकेको खास कारकाँदो वडा नं. ७ को कित्ता नं. २१० को ५ कठ्ठा १३ धुर, सिक्टा सिँचाई आयोजनाको कम्पाउण्ड भित्रको जग्गा समेत ९ महिना पहिले खैरूलले सरकारी जग्गा किर्ते गरि आफ्नी आमा हसरतुन निसा अन्सारीको नाममा जग्गा धनी श्रेस्ता कायम गरिसकेका थिए।
त्यसैगरी ८ महिना पहिले मात्रै जुनेदले पनि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ स्थित कित्ता नं. १४ को ५ कठ्ठा १३ धुर सरकारी जग्गा किर्ते कागज गरि आफ्नी सासु लाली मल्लको नाममा जग्गा श्रेस्ता कायम गरेका थिए।
त्यसैगरी खैरूलले बर्दिया जिल्लाको साविक नेउलापुर गाविस वडा नं. ७ स्थित कित्ता नं. १९१ ९ (ख) ७, ८, ५०, ६१, र ६३ समेत गरेर ६ विगाहा ३ कठ्ठा १४ धुर सरकारी जग्गा ७ महिना पहिले मात्रै आफ्नी आमा हसरतुनको नाममा नामसारी गरेका प्रमाण प्रहरीले फेला पारेको छ।
खैरूललले सुरुमा उक्त जग्गा आफ्ना बाबुको नाममा दर्ता श्रेस्ता कायम गरि गत पुस १२ गते मात्रै आफ्नी आमाको नाममा नामसारी गराएको प्रहरी अनुसन्धानको तथ्यले देखाउँछ।
यही गलत कार्यकै कारण आफ्नो गैरकानुनी कार्यको राज छिपाउन खैरूलले जुनेदलाई अपहरण तथा हत्या गरेको खुल्न आएको ५ नं. प्रदेश प्रहरी प्रवक्ता एवं डिएसपी टिकाबहादुर कार्कीले सेतोपाटीलाई बताए।
बाँके र बर्दियाका मालपोत कार्यालयका सरकारी जग्गाको श्रेस्ता (सक्कल कागजात) खैरलबाट लगेर जुनेदले आफ्नो कोठामा राखेपछि ती दुई जना भूमाफियाका बीचमा तिकक्ता बढ्दै जाँदा अपहरण र हत्या गरेको पुष्टि भएको प्रवक्ता कार्कीले बताए। ‘खैरूलले जुनेदसँग ती जग्गाका कागजहरु पटक/पटक नष्ट गर्नको लागि माग गर्दा पनि जुनेदले नदिएपछि अपहरण तथा हत्याको योजना खैरूलले बुनेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ,’ प्रदेश प्रहरी प्रबक्ता कार्कीले भने।
बाँके प्रहरीले जुनेको कोठाबाट ती सबै सरकारी जग्गा किर्ते गरि व्यक्तिको नाममा नामसारी गरिएका सक्कल प्रमाणहरु फेला पारेको प्रवक्ता कार्कीले जानकारी दिए ।
यसैबीच अपहरणपछि व्यक्ति हत्या गर्ने र सरकारी जग्गामा किर्ते कागज गर्ने कार्यमा संलग्न १६ जनालाई जेल चलान गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कार्कीले प्रहरीले अनुसन्धान पुरा गरेपछि सरकारी वकिल कार्यालय बाँकेमार्फत उक्त मुद्दामा जिल्ला अदालत बाँकेले यही वैशाख १२ गतेको निर्णय अनुसार जुनेद अन्सारीको अपहरण र हत्यामा संलग्न अभियुक्तहरु खैरूल हसन अन्सारी, सज्जन सैयाद र सरकारी कागज किर्ते गरि सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संलग्न बाँकेका मालपोत अधिकृतलगायत कर्मचारी, लेखनदाससमेत गरि १६ जनालाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ। तर, त्यसमध्ये घटनामा संलग्न एक जना भारतीय नागरिकसहित १२ जना फरार रहेकाले उनीहरुको खोजी तीव्र पारिएको प्रदेश प्रहरी प्रवक्ता कार्कीले बताए।
प्रहरीका अनुसार पक्राउ परेका १९ जना मध्ये २ जना कार्यालय प्रमुखसहित १२ जना कर्मचारी, २ जना लेखनदास र २ जना सर्वसाधारण पूर्पक्षका लागि थुनामा रहेका छन् भने थप ३ जना कर्मचारी जनही १/१ लाख धरौटी राखेर तारेखमा छुटेका छन्।
व्यक्ति अपरहणपछि हत्यादेखि जग्गा किर्ते कार्यमा संलग्न १ जना भारतीय नागरिकसहित १२ जना भने फरार रहेका छन् ।
प्रदेश प्रहरी प्रवक्ता कार्कीका अनुसार पूर्पपक्षका लागि थुनामा गएका १६ जनाको नाम यसप्रकार छ ।
- खैरूल हसन अंसारी – नेपालगञ्ज ३ निवासी (भूमाफिया)
- सज्जन सैयाद – नेपालगञ्ज १७ (अपहरणमा संलग्न)
- लेखनदास – बिरु भन्ने बृहस्पति खड्का – नेपालगञ्ज ९ (कागज किर्ते भर्ने)
- लेखनदास – पुप्पु धोवी, बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. ७ (कागज किर्ते भर्ने)
- मालपोत अधिकृत – पुष्पा श्रेष्ठ – बाँकेका तत्कालिन अधिकृत र हाल जिल्ला हुलाक कार्यालय बाँके (दृष्टिबन्धक पारित गर्ने)
- मालपोत अधिकृत – रामकुमार रोका – भूमिसुधार तथा मालपोत कार्यालय बर्दिया (श्रेस्ता नक्कल दिने र दृष्ट्रिवन्धक पारित गर्ने)
- नायव सुव्वा – टंकप्रशाद शर्मा – मालपोत कार्यालय बाँके (जग्गा साविक गर्ने)
- नासु – रामबहादुर खड्का – मालपोत कार्यालय बाँके ( श्रेस्ताको प्रतिलिपी प्रमाणित गर्ने र दृष्ट्रिवन्धकको लागि पेश गर्ने)
- नासु – रुद्रबहादुर देवकोटा – मालपोत कार्यालय बाँके (तीनपुस्ते कायम गर्ने)
- नासु – कष्णलाल शर्मा – मालपोत कार्यालय बाँके – नामसारी निर्णय पर्चा खडा गर्ने)
- नासु – मानबहादुर केसी – मालपोत कार्यालय बाँके (श्रेस्ताको प्रतिलिपी दिने)
- खरिदार – यज्ञश्वर वली – मालपोत कार्यालय बाँके – कम्प्यूटरमा इन्ट्रि सदर गर्ने)
- खरिदार – भुमिराज पोखरेल – मालपोत कार्यालय बर्दिया (मोठ भिडाउने, आफै दृष्ट्रि बन्धक लिने)
- खरिदार – सुशील रिजाल – मालपोत कार्यालय बाँके ( मोठ भिराउने)
- क . अ . (करार) – लक्ष्मी मल्ल – मालपोत कार्यालय बर्दिया (कम्प्यूटर मोठ भिडाउने)
- का.स. अन्तराम चौधरी – मालपोत कार्यालय बाँके ( रातिको समयमा कार्यालयमा खैरुल हसन अन्सारी र जुनेद अन्सारीलाई मोठ देखाउने)
एक लाख धरौटीमा छुटेका तीन जना
- खरिदार – तुल्सारानी थारु – मालपोत कार्यालय बर्दिया (भिडी सकेको मोठलाई पुनः रोक्का भिडाउने)
- खरिदार – संजय कुमार ठाकुर – मालपोत कार्यालय बाँके ( राजश्व रसिद काट्ने)
- स.क.अ. (करार) – प्रेमबहादुर चन्द – मालपोत कार्यालय बाँके (कम्प्यूटरमा जग्गा ईन्ट्रिगर्ने )
फरार प्रतिवादीहरु
- प्रमुख मा.अ – कृष्णप्रशाद ज्ञवाली – भुसंरक्षण तथा मालपोत कार्यालय बर्दिया (तोक लगाई जग्गाको नामसारी निर्णय सरद गर्ने)
- प्रमुख मा. अ. दिर्घबहादुर पोखरेल – मालपोत कार्यालय कैलाली (खैरुल हसन अन्सारीको वयान वाट निजको समेत संलग्ना रहेको भन्ने खुल्न आएको)
- मा.अ – हेमराज शर्मा – मालपोत कार्यालय बाँके (तीन पुस्ते निर्णय कायम तथा निर्णय सदर गर्ने)
- मा.अ. – अशोक कुमार भट्टराई – मालपोत कार्यालय कावासोती (साविक प्रक्रियामा संलग्न)
- खरिदार – कुलानन्द राउत – मालपोत कार्यालय महोत्तरी (मोठ भिडाउने)
- खरिदार – रविन्द्र थापा – ना.न.पा. २ दैलेख – कर्मचारीले नै राखेको दृष्ट्रिबन्धक लिखतको रजिष्ट्रेशन फाँटको काम गर्ने)
- खरिदार – किशोर कुमार रिजाल – मालपोत कार्यालय बर्दिया (कर्मचारीले नै राखेको दृष्ट्रिबन्धक मोठमा भिडाउने)
- का.स. सुर्यप्रशाद उपाध्याय – मालपोत कार्यालय बर्दिया (श्रेस्ता उतार गर्ने)
- सर्वसाधारण – बच्छराज लोनिया – बाँके डुडुवा गा.पा ४ (अपहरण गरि कतव्र्य गर्ने)
- सर्वसाधारण – सब्बिर अली सिद्धिकी – नेपालगञ्ज ७ (अपहरण गरि कतव्र्य गर्ने)
- सर्वसाधारण – अकवर अली खाँ – नेपालगञ्ज २१ (अपहरण गरि कतव्र्य गर्ने)
- सर्वसाधारण – अवधेस ठाकुर – भारत बाबागंज (अपहरण गरि कतव्र्य गरेको कसुर)
कर्मचारीको किर्ते कारोवार सम्वन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान जारी राखेको ५ नं. प्रदेश प्रहरी प्रबक्ता टिकाबहादुर कार्कीले जानकारी दिए।