५ नं. प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल रोल्पा जिल्ला जाँदै गर्दा नेत्र विक्रम चन्द (विप्लव)का कार्यकर्ताले बम पड्काएर प्रतिकात्मक विरोध जनाएका छन्।
नेपकाका प्रदेश इञ्चार्ज समेत रहेका मुख्य मन्त्री पोखरेल सोमवार दिउँसो रोल्पाको सदरमुकाम लिवाङमा आयोजित जनप्रतिनिधिसँग अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्न भन्दै प्रमुख बक्ताको रुपमा रोल्पा पुगेका थिए।
मुख्य मन्त्री पोखरेल लिवाङ पुग्दै गर्दा दिउँसो २ बजेतिर विप्लवका कार्यकर्ताले विरोध स्वरुप बम विस्फोट गराएका थिए। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख एवं डिएसपी दिपक खड्काले बनमा कतै बम विस्फोट भएको आवाज आएको जानकारी दिए। ‘जंगलमा कतै लुकिछिपी सानातिनो सुतलीबम विस्फोट गराएका रहेछन्,’ खड्काले भने ‘ मुख्य मन्त्रीलाई तर्साउँछौ भन्ने विप्लवको सोच होला । तर त्यस्ता पटका जस्ता बम पड्काउँदैमा कोही तर्सने कुरा आउँदैन।’
तर रोल्पाका एकजना पत्रकारले भने बम विस्फोटको आवाज सदरमुकाम लिवाङ सम्म जोडले सुनिदा सर्वसाधारण त्रसित बनेको जानकारी दिए। ‘बम विस्फोटको आवाज लिवाङ बजार सम्म स्पष्ट सुनिएको थियो । केही बेर सर्वसाधारण मानिसहरुमा अत्तालिएका देखिन्थे,’ उनले भने ।
डिएसपी खड्काका अनुसार सदरमुकाम लिबाङको वडा नं. ४ स्थित तित्रीकोट जंगलमा बम विस्फोट गराइएको थियो । प्रहरी घटनास्थल पुगेर आइ सकेको र त्यहाँ सामान्ने सुतली बम विस्फोट गराएको देखिएको प्रहरीले बताएको छ । मुख्य मन्त्री झन्डै ८/१० किलोमिटर टाढा रहेको समयमा बम विस्फोटको आवाज आएको प्रहरीले जानकारी दिएको छ। तर, सर्वसाधारण नागरिकले भने खोला वारी र खोला पारी भएपनि मुख्य मन्त्री यात्रारत रहँदा झन्डै १ देखि बढीमा डेढ किलोमिटरको दुरीमा बम विस्फोट भएको दाबी गरेका छन्।
‘मुख्य मन्त्री सदरमुकाम झर्दैगर्दा बम विस्फोटको आवाज आएको थियो, त्यो भनेको दुरीका हिसावले निजकै हो,’ एक जना सर्वसाधारणले भने । बम विस्फोट भएपछि रोल्पा सदरमुकाम क्षत्रमा थप सुरक्षा सर्तकता अपनाइएको छ । मुख्य मन्त्री पोखरेल सोमवार रोल्पामै बास बस्ने कार्यक्रम रहेको प्रहरीले जानकरी दिएको छ ।
हामीले मुख्य मन्त्रीलाई रोल्पामा स्वागत गरेका हौं – विप्लवका एक नेता
बम बिस्फोटको विषयमा बुझ्न खोज्दा एकजना विप्लवका स्थानीय नेताले भने आफुहरुले मुख्य मन्त्रीलाई स्वागत गरेको बताएका छन् । ‘हामीले मुख्य मन्त्रीलाई रोल्पामा आउँदा स्वागत गर्नु परेन?,’ उनले आक्रोशित हुँदै भने ‘कम्युनिष्टका खोल ओढेका यस्ता पाखण्डीहरुलाई रोल्पामा कुनै स्थान छैन।’
त्यसलाई आफुहरुको सांकेतिक विरोध र असन्तुष्टि प्रकट भएको रुपमा बुझ्न आग्रह गरेका उनले सरकार यही ढंगले पेलेरै चल्न खोजे परिनाम राम्रो नहुने चेतावनी दिए।
उनले केपी/पिके प्रशासनले आफ्ना साथीहरुको घर खान तलासी गर्दै परिवारलाई अनावश्यक दुःख र तनाव दिने गरेको, आफ्ना साथीहरुलाई झुट्टा मुद्दा लगाइए फसाउन खोजीएको तथा गैर न्यायिक हिरासतमा जवरजस्ती राखिएको बताए। तर पनि सरकारको ज्याजती विरुद्ध अधिकारकर्मी हौं भन्नेहरु मौन बसेको तथा संचारमाध्यमले पनि पछिल्लो समय वोल्न डराएको उनले टिप्पणी गरे ।