नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणले सरकारले विप्लवसँग गम्भीर भएर वार्ता गर्न नचाहेको बताएका छन्।
विप्लवले वार्ताको कुरा गर्दागर्दै सरकारले त्यसमा गम्भीरता नदेखाएर प्राचरबाजी गरेको हुँदा अब तत्काल उत्पन्न समस्या समाधानका लागि गम्भीर भएर वार्ता थाल्नु पर्ने उनको सुझाव छ।
बुधबार दाङको टरिगाउँ एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले विप्लव राजनीतिक समूह भएको भन्दै उसमाथि प्रतिबन्ध लगाउनु गलत भएको तर्क गरे।
विप्लवसँग आफूहरूको राजनीतिक लाइनसँग असहमति रहेको स्पष्ट पार्दै तर पनि उसमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय एकदमै गलत भएको उनले टिप्पणी गरे।
‘दमन गरेर, याताना दिएर धरपकड गरेर समस्याको समाधान हुँदैन,’ वैद्यले भने ‘विप्लवमाथि प्रतिबन्ध लगाउनु संविधान विपरीतको कार्य हो।’
सरकारले नै अत्यन्तै हाइलाइट गरेर विप्लवले फेरि सशस्त्र युद्ध गर्न थालेको भन्ने प्रचारबाजी आफैं सुरू गरेको वैद्यले बताए।
‘विप्लवले भन्दै आएको त्यसो हैन। उहाँले सशस्त्र संघर्ष गर्दैनौं भन्दै आउनु भएको छ। प्रहरी र सेनामाथिको आक्रमण हैन भन्दा भन्दै राज्यले नै त्यसको गलत प्रचार गर्दै आएको छ,’ वैद्यले भने।
राष्ट्रियताको सवालमा गम्भीर सवाल उठाइरहेका सिके राउतसँग वार्ता गर्ने सरकारले विप्लवसँग गम्भीर रूपमा वार्ताको प्रयास नगरेको उनले आरोप लगाए।
वार्ताको कुरा विप्लवहरूले गर्दा सरकारले एउटा वार्ता समिति गठन गरे पनि गम्भीर रूपमा सरकार वार्ता गर्न नलागेको उनको दोषारोपन थियो।
उनले सिके राउतले उठाएको कुरा राष्ट्रियताको सवालमा गम्भीर सवाल हुँदाहुँदै सरकारले त्यसबारेमा जनतालाई समेत थाहा नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
त्यस्तै उनले कैलाली टीकापुरको घटनालाई आन्दोलनको दौरानमा भएको असहज घटना भन्दै त्यसमा रेशम चौधरी लगाएत ११ जनाविरूद्ध आजीवन कारावासको सजाय तोकेकोप्रति असन्तुष्टि जनाए। सरकारले त्यसबारेमा सोच्नुपर्ने भन्दै त्यसो गर्न हुँदैन थियो भन्ने उनको मत छ।
ओली र प्रचण्ड दक्षिण पन्थी
फरक प्रसंगमा उनले नेपालमा दुई खालका कम्युनिस्ट ध्रुवहरू रहेको र प्रचण्डले दक्षिण पन्थीको नेतृत्व गरेको वैद्यले आरोप लगाए। त्यसैले उनीहरूले कम्युनिस्ट एकताको कुरा गरेता पनि ओली र प्रचण्डसँगको एकता असंभव रहेको उनले स्पष्ट पारे।
‘उहाँहरूले कम्युनिस्ट भन्ने नाम नराख्या भए हुने थियो अलि भ्रम पर्ने भयो, उहाँहरू कम्युनिस्ट नै हैन,’ वैद्यले भने।
त्यस्तै अर्को ध्रुव क्रान्तिकारी कम्युनिस्टहरू रहेको भन्दै त्यो समाजवाद हुँदै साम्यवादतिर जाने सच्चा कम्युनिस्ट भएको उनले जिकिर गरे। त्यस्ता कम्युनिस्टसँग भविष्यमा पार्टी एकताको प्रयास खुला रहने उनले बताए।
वैद्य राप्ती साहित्य परिषदको कार्यक्रमलाई सम्वोधन गर्न दाङ आएका हुन्।