नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले केपी ओली नेतृत्वको सरकार पूरै अलमलिएको बताएका छन्।
नेपाल प्रेस युनियन दाङले बिहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत रहेका नेता गिरीले ओली नेतृत्वको सरकारले कुनै कुरा पनि ठीक ढंगले सम्हाल्न नसकेको बताएका हुन्।
वर्तमान दुई तिहाइ बहुमतको सरकार काण्डै काण्डले भरिएको उनले बताए।
‘बालुवाटार काण्ड भन्ने हो कि वाइड बडी काण्ड, ३३ केजी सुन काण्ड भन्ने कि निर्मला हत्या काण्ड सबै काण्ड काण्डले यो सरकार भरिएको छ,’ नेता गिरीले भने।
सरकारले राष्ट्रले के खोजिरहेको कुरा निर्धारण गर्न नसकेको तथा कसैलाई पनि राम्रोसँग सम्हाल्न नसकेर सरकार अलमलिएको नेता गिरीको तर्क गरे।
‘पहिला राष्ट्रिय आवश्यकता निर्धारण गर्न सक्नु पर्यो,जनजीविकाको सवालमा सरकार गम्भीर बन्नु पर्यो अनि बल्ल पानी जहाज र रेलका कुरा गर्नु ठीक हुन्छ,’ नेता गिरीले भने ।
उनले यस्तै अवस्था कायमै रहे बाध्य भएर प्रतिपक्षले औंला ठड्याउनु पर्ने अवस्था सृजना भएको बताए।
बालुवाटा जग्गा काण्डमा प्रधानमन्त्री ओली स्वयमले नेकपाका महासचिव विष्णु पौडेलाई चोख्याउन र जोगाउन खोज्नु गलत भएको नेता गिरीले बताए।
एकातिर पौडेल निर्दोष रहेको र पौडेललाई फसाइएको भन्ने प्रधानमन्त्री ओलीले अर्कोतर्फ बालुवाटारको जग्गा रोक्का गर्नुले प्रधानमन्त्रीको चरित्र उदांगो भएको काँग्रेस नेता गिरीको धारणा थियो।
निर्मला हत्या काण्ड कहाँ र किन हरायो भन्ने प्रश्न गरेका नेता गिरीले अब सरकार कै निर्देशनमा निर्मला हत्या काण्ड ओझेलमा पारिएको आरोप लगाए।
नेता गिरीले अहिलेको सरकारले विकास निर्माणको सवालमा केही गर्न नसकेको दाबी गरे।
‘हाल जिल्लामा जति विकास भइरहेका छन् ती सबै हामीले ल्याएका योजना हुन् त्यो बाहेक अहिलेको सरकारले ल्याएको योजना खै त,’ प्रश्न गर्दै गिरीले भने, ‘सरकाले जिल्लाका निर्माणाधीन सडकका योजना प्रदेश मातहतमा राख्दा सबै काम ठप्प भएको छ।’
उनले नेकपाका महासचिव विष्णु पौडेलले घोराहीस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवल भैरवालमा लैजान खोजको भन्दै कुनै पनि हालतमा दाङको अधिकार खोस्न नदिने दृढता व्यक्त गरे ।
फरक प्रसंगका कांग्रेस नेता गिरीले ५ नं. प्रदेशको स्थायी राजधानी दाङको लमही र भालुवाङको बीचमा हुनुपर्ने बताए।
संघीयताको मर्मविपरीत एउटा कुनोमा अस्थायी राजधानी तोकिएको भए पनि अब प्रदेशसभाले तत्काल स्थायी राजधानी तोक्न ढिला गर्न नहुने उनको भनाइ थियो।
‘अनुमति नपाएको विमानले उडान गर्दै आएका छन्’
उनले घोराही १० मा निर्माण हुने भनेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न र टरिगाउँ एयरपोर्टलाई स्तरीय एयरपोर्टको रूपमा विकास गरेर देखाउन आग्रह गर्दै त्यसमा आफूले सघाउने धारणा राखे ।
कांग्रेस केन्द्रीय सदस्य गिरीले विश्वमा असुरक्षित रहेको चिनियाँ विमानलाई दाङमा उडान भर्न दिनु गलत भएको बताएका छन्।
हवाइ उडानबारे हेर्ने अन्तर्राष्ट्रिय संस्थाले चीनसँग नेपालले किनेको चिनियाँ विमानहरू असुरक्षित भएको दाबी गर्दै ती विमानलाई अन्तर्राष्ट्रिय संस्थाले उडानको अधिकार नदिएको बताए।
‘चिनियाँ विमान उडाएकै कारण नेपाल कालोसूचीमा परेको छ,’ नेता गिरीले भने ती विमानहरू दुर्घटना भएमा त्यसको जिम्मा लिने भन्ने चिन्ता जाहेर गरे।