नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको बलियो सरकार बरालिएको बताएका छन्।
दाङको दंगिशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँमा शनिबार प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका कांग्रेस नेता थापाले देशलाई प्राप्त ठूलो अवसर कम्युनिस्ट सरकार कै कारण गुम्ने खतरा आउन थालेको बताएका हुन्।
नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण संघीयता खतरामा परेको आरोप लगाए।
उनले चित्रबहादुर केसीभन्दा प्रधानमन्त्री ओलीलाई संघीयता मन नपरेको दोषारोपन गरे।
‘चित्रबहादुर केसी भन्दा पनि नेपालमा संघीयता चल्दैन भन्ने कोही मान्छे छ भने दुःखका साथ भन्नुपर्छ प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ,’ नेता थापाले भने।
ड्राइभिङ सिटमा बसको चालकले नै यो गाडी अगाडि बढ्दै बढ्दैन, यसको इञ्जिनै खराब छ भने जस्तै गरी प्रधानमन्त्री ओलीले संघीयता चल्दैन र खराब छ भन्दै आएको कांग्रेस नेता थापाले दाबी गरे। प्रधानमन्त्रीकै कारण संघीयता रुपी गाडी अगाडि बढ्न नसकेको उनको कथन थियो।
त्यस्तै, उनले प्रदेश सरकारले आफैंले केही पनि काम गर्न नसकेको बताए।
उनले ५ नं. प्रदेशको मुख्य मन्त्रीको फुर्सद देखेर आफू छक्क पर्ने गरेको बताए।
‘हामी जस्ता भुराहरूलाई भ्याइनभ्याइ छ, वडा अध्यक्षहरूलाई भ्याइ नभ्याइ छ,तर तपाईंका मुख्यमन्त्रीलाई म हेर्छु, कहिले दुई तीन घन्टा सामाजिक सञ्जाल चलाएर बस्ने फुर्सछ हुन्छ,’ नेता थापाले भने ‘ काठमाडौंको संघको संसदको बारेमा कहिले कविता लेख्नु हुन्छ र कहिले गीत लेख्नु हुन्छ, मलाई अचम्म लाग्छ।’
केन्द्रको सरकारले प्रदेश सरकारलाई एउटा विभागको जस्तो व्यवहार गरेको हुँदा प्रदेशको सरकार कामविहीन बनेको नेता थापाले तर्क गरे।