सडक डिभिजन कार्यालय दाङले समयमै काम नसक्ने तीन वटा निर्माण कम्पनीलाई झन्डै डेढ करोड हर्जना (जरिवाना) तिराएको छ।
कार्यालयले हापुर खोलामा पुल निर्माणको जिम्मा लिएको रसुवा कन्स्ट्रक्सन प्रालीलाई ४०लाख र घोराहीस्थित कटुवा खोला पुल निर्माणमा ढिलाई गर्ने शंखरमाली निर्माण सेवा प्रालीलाई ३५ लाख जरिवाना तिराएको छ। त्यसैगरी, घोराही बजारमा सडक विस्ताको जिम्मा लिएर समयमै काम पुरा नगर्ने काठमाडौंको शंखरमाली कान्छाराम जेभीलाई ७० लाख बढी जरिवाना तोकेको कार्यालयका ईञ्जिनियर लिलाबहादुर भण्डारीले बताए ।
तुलसीपुरको हापुर खोलामा पुल बनाउँदा लापरवाही गरेको रसुवा कन्स्ट्रक्सनलाई आरोप छ। उसले तिर्नुपर्ने ४० लाख जरिवाना असार मसान्तसम्म कम्पनीबाट असुल हुने भण्डारीले बताए।
शंखरमाली निर्माण सेवाले भने कटुवा खोला पुल निर्माण पुरा गरेपनि ग्याविन लगायत थुप्रै कामहरु गर्न अझैं बाँकी रहेको कार्यालयले जनाएको छ।
कटुवा खोलाको पुल निर्माणमा ढिलाई गर्ने शंखरमालीको ३५ लाख जरिवाना सडकले काटिसकेको छ।
शंखरमालीको ३५ लाख रुपैयाँ काटेर कार्यालयको खातामा होल्ड गरिएको र उक्त रकम असार मसान्त सम्म राजश्व कार्यालयको खातामा राखिने सडक डिभिजन कार्यालय दाङका ईञ्जिनियर, लिलाबहादुरले भण्डारीले सेतोपाटीलाई बताए । त्यस्तै तुलसीपुरस्थित पत्रेखोलामा सम्झौंता भएको पाँच वर्षको अवधि गुजार्दा समेत पुल निर्माणको काम अपुरै राखेको हुँदा त्यसमा पनि शंखरमाली प्राली कारबाहीमा पर्ने सतप्रतिसत निश्चित रहेको ईञ्जिनियर भण्डारीले जानकारी दिए ।
‘पत्रे खोलाको विषयमा शंखरमालीलाई हर्जना हुने सय प्रतिसत निश्चित छ,’ भण्डारीले भने ‘ तर, हामीले अब असार मसान्त कुरेका छौं।’ संझौता अनुसार असार मसान्त सम्मपनि काम पुरा नगर्ने अन्य केही निर्माण कम्पनी पनि कारवाही पर्ने निश्चित जस्तै रहेको भण्डारीले जानकारी दिए ।
हर्जनामा पर्ने डरले काममा तीव्रता
आर्थिक वर्षको शुरुवातमै काम समयमा पुरा नगर्ने निर्माण कम्पनीलाई सडक डिभिजनले धमाधम कारबाही गर्न थालेपछि आफुहरुपनि कारबाहीमा पर्ने त्रासले निर्माण व्यवसायीहरुले काम तीव्र रुपमा गर्न थालेका छन् ।
सडक डिभिजन कार्यालय दाङका ईञ्जिनियर लिलाबहादुर भण्डारीले कारबाहीमा पर्ने त्रासले व्यवसायीले आफ्नो काम धमाधम गर्न थालेको जानकारी दिए ।
अहिलेको जस्तै स्पिरिटमा धमाधम काम भइरहे चालु आर्थिक वर्ष भित्रै तुलसीपुर–घोराही–लमही सडक खण्डमा निर्माणाधिन चारवटा पुलको निर्माण कार्य पुरा हुने आशा गरिएको सडकका ईञ्जिनियर भण्डारीले बताए ।
सडक डिभिजन कार्यालयका अनुसार हाल जिल्लामा १३ वटा पुलहरु निर्माणाधीन अवस्थामा छन् । ती पुलहरु निर्माण गर्न ४८ करोड ३५ लाख रकम छुट्याइएको छ । सम्झौता अनुसार छुट्याइएको रकममा निर्धारित मिति मै काम नभए अन्य कम्पनीलाई पनि हर्जना हुन सक्ने चेतावनी दिइसकेको ईञ्जिनियर भण्डारीले सेतोपाटीलाई बताए ।
ठेक्का सम्झौता गर्दा अब शुरुमा तोकिएको अवधिको ५० प्रतिशतभन्दा बढी समय लम्ब्याउन नपाउने व्यवस्था गरिएको छ। त्यसै अनुरुप काम नभए कुनैपनि निर्माण कम्पनी कारबाहीमा पर्ने भण्डारीले जानकारी दिए । तर त्यसो गर्दा सरकारले पनि चालु अवस्थाका आयोजना समयमै निर्माण पुरा गर्न आवश्यक बजेट समयमै विनियोजन गर्नुपर्ने प्रावधान छ । त्यस्तै बिल भुक्तानी भइसक्दा व्यवसायीले काममा आलटाल गरे त्यस्ता निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्ने ईञ्जिनियर भण्डारीले बताए ।
सरकारले समयमै काम पुरा नगर्ने निर्माण कम्पनीहरुलाई काम नदिने, कालु सूचीमा राख्ने,हर्जना तिराउने जस्ता निर्णय गरेपनि सबैतिर त्यो लागु गर्न सम्बन्धित कार्यालयले तदारुकता भने देखाउन सकेका छैनन् । यदी माथि उल्लेखित प्रावधानहरु कार्यान्वय हुँदै गएमा निर्माणाधीन कुनैपनि आयोजनाहरु समयमै पुरा हुने जानकारहरु बताउँछन् ।
दुर्घटना बढ्न थालेपछि पानी मुनी निर्माण गरिएका पुल (कजवे) विस्थापित गरेर जिल्लाका खहरे खोलामा धमाधम पुल निर्माण भइरहेका थिए। निर्माण सुरु भएको ४/५ बर्ष वितिसक्दा पनि कतिपय पुलहरुको काम अझ अधुरै छ।
पुल समयमै निर्माण नहुँदा सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ। उपयुक्त डाईभर्सन अभावमा पुल निर्माणधीन क्षेत्रहरु धुलाम्मे र हिलाम्मे छन्। त्यसले पनि यात्रा निकै कष्टकर बन्दै गएको छ। । त्यस्तै पुल निर्माणधीन खोलाहरुमा बाढीले बर्षेनी सवारीसाधन बगाउने गरेको छ। बाढी आउँदा आवत जावतमा अवरोध सृजना हुँदै आएको छ ।
जिल्लाका प्रमुख सहरहरु जोड्ने तुलसीपुरदेखि घोराही हुँदै लमही सडक खण्डमा निर्माणाधीन १३ वटा पुलहरु निर्माण कार्य पुरा भएमा सर्वसाधारण नागरिकले यात्राका क्रममा खोलाहरुमा खेप्दै आएको सास्ती र जोखिम समाप्त हुने छ।