सेतो फूलको माला उज्यालो फोटोमा पहिर्याउँदै गर्दा उनको अनुहारको चमक बिस्तारै हराउँदै गयो।
एकैछिन उभिए, दह्रो मुठी कसे र झुकेको झुक्यै अभिवादन गरे फोटोलाई।
मंगलबार काठमाडौंमा प्रकाश दाहाल स्मृति प्रतिष्ठानले गरेको त्यो पहिलो कार्यक्रम आफ्ना दिवंगत छोरा सम्झेर टोलाइहरने अर्को ‘बहाना’ थियो, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि।
उनको सार्वजनिक जिन्दगीको हरहिसाब गर्ने हो भने यति धेरै मान्छेहरूको भीडमा प्रचण्डलाई छोरा सम्झिएर टोलाइरहने छुट नहुन पनि सक्छ तर त्यो कार्यक्रमको उद्देश्य प्रकाशलाई नै सम्झिने थियो।
१० वर्ष लामो सशस्त्र युद्धको कठिन यात्रादेखि दुई-दुईपटक सत्तारोहण गर्दासम्म आँखैवरिपरि घुमिरहने छोरालाई अल्पआयुमै गुमाउँदा मनमा खेल्ने हुण्डरी बारम्बार उनको अनुहारसम्म आइपुथ्यो।
त्यसैले सचेत देखिन्थे प्रचण्डको दायाँ र बायाँ बसेका नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र स्थायी समिति सदस्य वर्षमान पुन।
किनभने यी दुवै नेतालाई थाहा छ- प्रचण्ड हाँस्दाहाँस्दै रुने एक भावुक पात्र हुन्। तर कुनै-कुनैबेला अलिकति मुस्कुराउनेबाहेक प्रचण्ड हाँस्न सकेका थिएनन, न त रून नै।
अधिकाशंका लागि बा–छोराको सम्बन्ध केबल बा–छोराकोमात्रै हुन्छ। प्रकाश बाचुन्जेल उनी बा प्रचण्डका लागि छोराभन्दा केही बढी थिए।
त्यसैले त कार्यक्रममा आएका नेकपा नेता माधवकमुार नेपालले भने, ‘प्रकाश दाहालको निधन भएपछि प्रचण्डको दाहिने हात भाँचिएको छ।’
देख्नेहरूका लागि त्यतिनै काफी छ, उनको भरथेग गुमेको छ। भरथेगका लागि पार्टीका नेता कार्यकर्ता, परिवारका अरु सदस्य पनि छन्, तर आफ्नै वरिपरि घुमिरहने ‘मुटु’ अचानक धड्किन छोडेपछि जुन सकस हुन्छ त्यो भोग्ने त उनले मात्रै न हो। त्यसैले छोरा सम्झिएर गरिएको सो कार्यक्रमको झन्डै डेढ घन्टा बेचैनीमै बिताए प्रचण्डले।
जब छोराबारे मनमा खेलेका कुरा सुनाउनु पर्ने अभिभारासहित मञ्चमा पुगे। दरिलो बन्न खोजे। धेरै बोल्दिनँ भन्दाभन्दै पनि केही बोले छोराबारे।
उनले जम्माजम्मी १२ मिनेटमात्रै बोल्न सके। र भने ‘३६ वर्षमै छोडेर गए पनि प्रकाशले सम्पूर्ण जिन्दगी बाँचेको छ।’
यो पनि :
छोराको जन्मजयन्तीमा भावुक प्रचण्ड ( तस्बिरहरू)
प्रचण्डका नजरमा छोरा प्रकाश- ३६ वर्षमै पूर्ण जीवन बाँचे
उनले भन्न खोजेको सम्पूर्ण त्यही हो कि प्रकाशले दु:ख, अभाव र असुरक्षाको गहिराइ र सुख, खुसी र सन्तुष्टिको उचाइ सरोबरी नै नापेका छन्। प्रेम र युद्धको अुनभव छ, शान्ति र द्वन्द्व भोगेका छन्।
औसत जिन्दगीभन्दा फरक त्यतिमात्रै हो कि उनले सम्पूर्ण जिन्दगी छोटो आयुमै भोगे।
कार्यक्रममा प्रकाश दाहाल स्मृति प्रतिष्ठानका संयोजक तथा उनकी श्रीमती, खानेपानी मन्त्री विना मगरले सगरमाथा आरोहणका क्रममा प्रकाश दाहालसँग भएका कुराकानी स्मरण गरिन्।
२०६९ साल जेठमा सगरमाथा आरोहणकै क्रममा दाहालसँग प्रेमपरेपछि उनीसँगै वैवाहिक यात्रा थालेकी मगरले लक्ष्यप्रतिको प्रकाशको लगाव सम्झिँदै भनिन् ‘उहाँसँग फर्किने हिसाब थिएन।’
नेपाली राजनीतिको उतारचढाव र हर हिसाबमा सधैं बुवाको साथमा बसेर भूमिका खेलेका प्रकाश दाहालको २०७४ मंसिर ३ गते निधन भएको थियो। मंगलबार उनको ३८ औं जन्मजयन्ती हो।