अहिले राजनीतिक माहोल प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूका ट्वीटले तरंगित छ।
असार १० गते प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले फेसबुकमा एउटा लामो र अर्थपूर्ण स्टाटस लेखे- बढ्दो जनअपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणालीबाट उत्पन्न जनअसन्तुष्टिका माध्यमबाट सक्दा वर्तमान व्यवस्था र संविधान उल्टाउने नभए वर्तमान सरकारविरूद्ध प्रयोग गर्ने। यसका लागी कुनकुन व्यक्ति र शक्तिहरूलाई एकठाउँमा ल्याएर मुलुकमा अस्थिरता र अन्यौलता सिर्जना गर्न सकिन्छ त्यो गर्ने। यसका लागि भित्र र बाहिरका केही शक्तिहरू सक्रिय हुँदै गरेको अवस्था। अर्थात् इतिहास पुनरावृत्ति गर्ने दुस्प्रयास। समयमै सचेत भै जनमतको कदर गर्दै जनअपेक्षा पूरा गर्न तर्फ सबै केन्द्रित होऔं।
यो स्टाटस कुनै अमुक नेता वा कार्यकर्ताको हुन्थ्यो भने उतिधेरै चर्चा हुँदैनथ्यो।
आजका दिनमा भट्टराई प्रधानमन्त्री ओलीका सल्लाहकार मात्र होइनन्। उनको ‘कोर’ टिमका मानिस हुन्। त्यसैले उनको ट्वीटमा कहीँ न कहीँ प्रधानमन्त्रीको मनस्थिति प्रतिबिम्वित हुने कुरा स्वभाविक हो।
त्यसले एक किसिमको राजनीतिक तरगं नै पैदा गर्यो।
स्टाटस स्वयं पनि तरंग पैदा गर्ने खालकै थियो। लामो स्टाटसको छोटो अर्थ हुन्थ्यो-सरकारविरूद्ध मानिसहरू परिचालित भएका छन्।
नेकपा वृत्त, सरकारभित्र र बाहिर पनि भट्टराईको यो अभिव्यक्तिको अर्थ के हो? उनले सार्वजनिक रूपमै त्यो किन लेखे भन्ने चर्चा जारी नै थियो।
आइतबार बिहान प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि राजनीतिक तलाउमा अर्को ट्वीट फाले- भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दु:ख दिन्छन्। यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका?
रिमालको ट्विटले उसैगरी तरंग ल्यायो।
भट्टराई र रिमालका शब्दचयनमा आकास-पातालको फरक छ। अर्थ भने उही नै हो- सरकारमाथि अहिले चौतर्फी दबाब छ। बालुवाटार घेराबन्दीमा छ।
भट्टराईको ट्वीट पार्टीभित्र र बाहिर दुबैप्रति लक्षित देखिन्छ भने रिमालको ट्वीट पार्टीभित्रै धेरै लक्षित भएको धेरैको अनुमान छ।
बालुवाटार आखिर किन यति धेरै सशंकित छ?
पार्टीभित्र बढ्दै गएको शक्ति सन्तुलनको रस्साकस्सी, संसद र सार्वजनिक मञ्चहरूमा पार्टीकै नेता र सांसदले गरिरहेको सरकारको आलोचनाले बालुवाटार आफ्नैसँग संशकित छ भन्ने देखाउँछ।
पछिल्लो एक वर्ष प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विश्वासको उत्कर्षको समय थियो।
केही समय दुई जनाबीचको सम्बन्ध खुब मजबुद् देखियो, उनीहरूबीचमा कोही पनि आउन सकेनन्। अध्यक्षद्वयको आत्मविश्वास दम्भमा परिणत भयो। धेरै निर्णय उनीहरूकै तजबीजमा हुन थाले। नियुक्ति र जिम्मेवारी उनीहरूले आफूखुसी बाँडे।
यहाँसम्म कि पार्टीका अर्का प्रभावशाली नेता माधवकुमार नेपाल अफ्रिका भ्रमणमा गएका बेला यता दुई अध्यक्षले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरूको जिम्मेवारी बाँडफाँट गरिदिए। सो निर्णयमा नेपालसँग ‘नोट अफ डिसेन्ट’ लेख्नेबाहेक अर्को विकल्प भएन।
समय बित्दै जाँदा अध्यक्षद्वयबीच त्यो विश्वास चिसिन थाल्यो। सम्बन्धमा विस्तारै फाटो देखिन थाल्यो। त्यसको मूल कारण थियो- प्रचण्डले दल र सरकारमा आफ्नो उपस्थिति खोज्न थाले, ओलीले टार्दै गए।
अन्ततः प्रचण्ड ओलीसँग टाढिन र नेपालसँग नजिकिन थाले। पछिल्ला दिनमा नेपालसँग प्रचण्डको हार्दिकता झांगिन सुरू भयो। बालुवाटारसँग दूरी बढ्यो। कोटेश्वर र खुमलटारबीच आउजाउ बाक्लिन थाल्यो।
ती भेटहरूलाई प्रचण्ड र नेपालले ओलीप्रतिको असन्तुष्टी पोख्ने अवसरको रूपमा मात्रै प्रयोग गरेनन्। आफूहरूबीच बढेको हार्दिकतालाई राजनीतिक आकार दिने दिशामा अघि बढे। सांगठनिक संरचनामा निर्माणमा आफूहरूको उपस्थिति बलियो बनाउने निधो पनि गरे।
नेकपाभित्रको गणित आफैंमा पनि त्रिकोणीय छ। दुई नेता एकातिर उभिँदा अर्का नेता अल्पमतमा पर्छ। राजनीतिक हिसाबकिताबमा माहिर खेलाडी ओली नेकपामा झाँगिदो यो नयाँ समिकरणबाट पनि दबाबमा परे।
ओलीका लागि एकातिर पार्टीभित्रको शक्ति सन्तुलन धरमराउन थाल्यो अर्कोतिर आफ्नो सरकारका निर्णयहरू एकपछि अर्का हुँदै विवादित बन्दै गए।
युनिभर्सल पिस फाउन्डेसनको सम्मेलन, विभिन्न विधेयक, नियुक्तीका निर्णय, आइफा अवार्ड र भारतीय तरकारीमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता गर्ने चरणसम्म आइपुग्दा ओली सरकार रक्षात्मक बनेको छ। लोकप्रियताको ग्राफ घटेको छ।
पार्टीभित्र र बाहिर बदलिएको यही राजनीतिक परिस्थिति हो जसले प्रधानमन्त्री र उनको कोर टिमको आत्मविश्वास हल्लाएको छ। उनीहरूलाई सशंकित बनाएको छ।
बालुवाटारको ‘शान्ति’ खलबलिएपछि उनीहरु सामाजिक सञ्जालमा पोखिन थालेका छन्।
सेतोपाटीसँग कुरा गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले आफूहरू सशंकित नभएको जिकिर गरे।
‘बालुवाटार केही सशंकित भएको छैन,’ उनले भने ‘बालुवाटारलाई के थाहा छ भने राम्रो काम गर्दा सरकार टिक्ने हो अहिले राम्रो काम गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ। हामी प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्छ भन्ने टिमका मान्छे हौं।’
भट्टराई सरकार अलोकप्रिय हुँदै गइरहेको स्वीकार्न तयार छैनन्।
‘कतिपय कुराहरू फरक ढंगले ल्याउन खोजेपछि प्रश्न उठ्छ। तर हामीले जनताको कुरा सुनेका छौं,’ भट्टराईले भने।
लोकतान्त्रिक विधिअनुसार विधेयक आएका र जनताले अस्वीकार गरेपछि लोकतान्त्रिक विधिअनुसार नै सरकार पछि हटेको जिकिर उनले गरे।
तर बालुटाटारले भोगेको सबैभन्दा ठूलो दबाब अहिले नेकपाभित्रै हो।
बालुवाटारभन्दा बाहिरको एउटा पंक्ति प्रधानमन्त्री तथा सरकारसँग पटक्कै सन्तुष्ट छैन। ती असन्तुष्टिहरू कहिले संसदमा, कहिले संसदीय दलमा, कहिले सामाजिक सञ्जालमा या मिडियामा निरन्तर आइनैरहेका छन्।
बालुवाटारले पार्टीभित्र परामर्श नगरेर आफैं एक्लिएको तर्क गर्ने पनि छन्।
‘लगभग सबैजसो निर्णय गर्दा पार्टीमा छलफल नै नगर्ने र विवादमा आइसकेपछि आफ्नै पार्टीपंक्तिबाट सहयोग भएन भन्ने निष्कर्ष बालुवाटारले निकालिसकेको छ, प्रधानमन्त्रीका सल्लाहकारहरूको पछिल्ला हुटहुटी त्यही निष्कर्षको परिणाम हो,’ नेकपाका एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने।
प्रधानमन्त्रीका सल्लाहकारहरूका पछिल्ला ट्वीटहरूको पनि पार्टीभित्रैबाट आलोचना भएको छ। प्रधानमन्त्रीको वरिपरि रहनेहरूले टिप्पणी नै गर्न नपाइने भन्ने त होइन तर मर्यादितचाहिँ हुनैपर्छ भन्ने तर्क उनीहरूले गरेका छन्।
माधवकुमार नेपाल प्रधामन्त्री हुँदा राजनीतिक सल्लाहकार भएर काम गरेका नेकपा स्थायी समिति सदस्य रघुजी पन्त पनि रिमालको ट्वीटलाई ‘अराजनीतिक र छुद्र’ भएको टिप्प्णी गर्छन्।
सेतोपाटीसँग कुरा गर्दै पन्तले भने,‘प्रधानमन्त्रीका सल्लाहकारले सुहाउने र मर्यादित कुरा गर्नुपर्छ। त्यो ठाउँमा बसेर यस्तो अराजनीतिक टिप्पणी नगरेकै राम्रो।’
यो पनि :
प्रधानमन्त्रीले प्रचण्डलाई भने- पाँच वर्ष म नै सरकार चलाउँछु, क्याबिनेट पनि हेरफेर गर्दिनँ