नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा मन्दिरको जग्गा कब्जा गरेको छ।
छत्रेश्वरी गाउँपालिका वडा नं. ६ लान्टीमा रहेको ६ रोपनी खैराबाङ मन्दिरको नामको जग्गालाई नेकपाको जिल्ला जनपरिषद् सल्यानले शनिबार आफ्नो नियन्त्रणमा लिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी महेन्द्र केसी (लोकपाल)ले जानकारी दिए ।
तत्कालीन ‘जनयुद्ध’को समयमा कब्जा गरिएका सामन्तका जग्गा फेरि कब्जा अभियान थालिएको जिल्ला सेक्रेटरी महेन्द्र केसी (लोकपाल) ले सेतोपाटीलाई बताए।
‘प्रचण्ड–बाबुरामले फिर्ता गरेका सामन्तका जग्गा कब्जा अभियान फेरि हामीले सुरू गर्छौं। त्यसैको संकेतका रूपमा हामीले खैरावाङ मन्दिरको जग्गा शनिबारमात्रै कब्जा गरेका हौं,’ सेक्रेटरी केसीले फोनमा भने।
जनयुद्वकालमा तत्कालीन माओवादीले कब्जा गरेको उक्त जग्गा शान्ति प्रक्रियापछि फेरि मन्दिरलाई फिर्ता भएको थियो।
‘गद्धार प्रचण्ड र बाबुरामले भ्रष्टाचारी तथा सामान्तको जुठो खाएर फिर्ता गरेका सबै जग्गा अब फेरि हामी कब्जा गर्नेछौं,’ सेक्रेटरी केसीले भने ‘जनसत्ताले सामन्तबाट खोसेर जनताको नाममा पास गरेका जग्गा उनीहरूलाई नै दिलाइने छ।’
कब्जा गरिएको भनिएको जग्गामा जनपरिषदको नाममा कालो ब्यानर टाँगेर जग्गा कब्जा गरिएको सूचना टाँसिएको छ।
‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भू–माफिया हाम्रो निशानी, जनयुद्धको क्रममा कब्जा गरिएका सबै जग्गा पुनः जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियान्त्रणमा लिएको जानकारी गराउदछौं,’ ब्यानरमा लेखिएको छ।
उक्त जग्गा कसैले बिक्री वितरण गरे जनपरिषदले कारबाही गर्ने चेतावनी पनि दिइएको छ।
कब्जा गरिएको भनिएको मन्दिरको उक्त जग्गा अहिले वार्षिक १३ हजार रुपैयाँ एक व्यक्तिले भाडामा लिएका छन्। त्यसमा उनले धान रोपेका छन्। खेती पनि गरेका छन् ।
‘५० मुरी धान फल्ने खेतलाई वार्षिक १३ हजारमा भाडा लगाउन मिल्छ,’ सक्रेटरी केसीले भने ‘मन्दिर समितिले आर्थिक चलखेल गरेर त्यति सस्तो जाग्गा भाडामा लगाएको तथ्य हामीसँग छ।’
रातमा लुकेर झण्डा गाड्दैमा कब्जा भन्न मिल्छ र ? – डिएसपी शाही
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख वीरेन्द्रबहादुर शाहीले भने एउटा झण्डा गाड्दैमा त्यसलाई जग्गा कब्जा गरे भन्नु गलत तर्क भएको बताए । सल्यानबाट सरुवा भइसकेका शाहीले रातको समयमा लुकेर जग्गामा कसैको जग्गामा झन्डा गाड्दैमा कब्जा भयो भन्ने भ्रम पाल्नु गलत बुझाई भएको उनको भनाइ छ।
‘त्यसलाई कसरी जग्गा कब्जा भन्ने त्यो झण्डा हामीले च्यातचुत पारेर फाल्दीसक्यौँ’ डिएसपी शाहीले भने। छत्रेश्वरी गाउँपालिका वडा नं। –६ मा उनीहरुले झण्डा गाडेको जग्गा मन्दिरको नभएको पनि प्रहरीले बताएको छ। सामान्य परिवारका गरिव किसान दुर्गाबहादुर बुढाको मकै बारी र खेतमा विप्लव समूहले झण्डा गाडेको प्रहरीले बताएको छ।
‘बुढाको जग्गा गुठीको जग्गासंगै सटेको छ,’ डिएसपी शाहीले भने ‘सायद उनीहरुले गुठीको जग्गा भनेर त्यसैमा झण्डा गाडेको हुनुपर्छ।’ बुढाको जग्गा संगै त्यहा ६ रोपनी जति जग्गा रहेको छ ।
नेपालको प्रचलित नियम कानुन भन्दा गलत तरिकाले हुने कुनैपनि गतिविधिलाई निस्तेज पारिने उनले बताए ।