रोल्पाको थवाङमा पहिरो बाट ६ जनाको मृत्यु भएको छ ।
थवाङ गाउँपालिका वडा नं २ मा शुक्रबार बिहान १ बजेतिर गएको पहिरोले एउटा घर पुरिदा दाजु भाईका दुई परिवारका ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन बालबालिका र उनीहरूका तीन जना अभिभावक छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी चित्रबहादुर गुरुङका अनुसार स्थानीय कमल बुढाको घर बिहान १ बजेतिर पहिरोलो पुर्दा उनकी २८ बर्षीया पत्नि थिरकुमारी बुढा र ४ बर्षीय छोरा असल बुढाको बिहानै शव फेला परेको थियो ।
शुक्रवार दिउँसो २ बजेतिर खोजी गर्ने क्रममा ३८ वर्षीय जय बुढा, उनकी ३६ बर्षीया पत्नि मुलज्वती बुढा, उनीहरुका दुई छोरीहरु ९ वर्षीया बेवस्ती बुढा र २ वर्षीया करिस्मा बुढाको शव फेला परेको डिएसी गुरुङले बताए ।
जय बुढाको परिवार पनि भाईको घरमा बस्दै आएका थिए । उनीहरु भाई भाईका छोराहरु रहेको डिएसी गुरुङले सेतोपाटीलाई बताए । थिरकुमारीका पति कमल बुढाने रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले बताएको छ ।
‘जय बुढाको घर नजिकै रहेपनि सानो र असुरक्षित स्थानमा रहेको हुँदा उनीहरु पनि रातमा सँधै भाई कमलको घरमा बास बस्न जाँदो रहेछन्,’ डिएसपी गुरुङले भने ‘तर,दुर्भाग्य घरमाथिबाट झरेको पहिरोले सबैको मृत्यु भयो।’
माथिल्लो तल्लामा घरधनि थिरकुमारीको परिवार र तल्लो तलामा उनका जेठाजुको परिवार बस्दै आएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।
पहिरोका कारण बेपत्ता रहेका ४ जनाको शव प्रहरी र स्थानीयले खोजी गरेर फेला पारेका थिए ।