तिहारमा स्थापना गरिएको लक्ष्मीपूजाको मुर्ति विसर्जन गर्ने विषयमा उत्पन्न विवाद पछि कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा अहिले कर्फ्यू लगाइएको छ।
हिन्दु र मुस्लिम समुदायबीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक सुरज पाण्डेको मृत्यु भएको छ।
पाण्डे भारतीय नागरिक भए पनि लामो समयदेखि नेपालमा बसोबास गर्दै आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले बताए। उनी ठेलामा चिया पसल चलाउँथे।
प्रहरीको गोली लागेर पाण्डेको मृत्यु भएपछि स्थिति नियन्त्रण बाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कर्फ्यु जारी गरेको जनाएको छ।
स्थानीय हिन्दु समुदायले लक्ष्मीपूजाको लागि स्थापना गरेको लक्ष्मीमुर्ति बुधबार साँझ विसर्जन गर्न लैजाँदा मुश्लिम समुदायसँग विवाद भएको थियो।
प्रजिअ श्रेष्ठले दशैंको दुर्गा मुर्ति विसर्जन गर्दा तय गरिएको बाटोबाट लक्ष्मीको मुर्ति पनि विसर्जन गर्न लैजाँदै गर्दा दुई समुदायबीच झडपको अवस्था भएको बताए।
बडादशैं र तिहारको लागि हिन्दु समुदायले स्थापना गरेको दुर्गा र लक्ष्मीका मुर्तिहरू दशैं र तिहार सकिएपछि स्थानीय नदी तथा तलाउमा विसर्जन गरिन्छ।
गत वर्ष पनि बडादशैंमा स्थापना गरिएको दुर्गामुर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच विवाद हुँदा झडप भएको थियो। विवादले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाइ फायर र लाठीचार्ज गर्नु परेको थियो।
गत वर्षजस्तो नहोस् भनेर यस वर्ष दुर्गा मुर्ति विसर्जन गर्दा स्थानीय प्रशासन, विभिन्न राजनितिक दल तथा हिन्दु तथा मुश्लिम समुदायका अगुवाबीच छलफल र सहमति गरी रूट तय गरिएको थियो। त्यसैले दुर्गामुर्तिविसर्जनको क्रममा विवाद भएन।
बुधवार पनि मुर्ति विर्सजनको लागि सहमति गरिएको बाटोबाटै स्थानीयले राजमार्गनजिकै रहेको बढैया पोखरीमा लक्ष्मीमुर्ति विसर्जन गर्न लैजाँदै थिए।
बाजागाजासहित मुर्ति विसर्जनको लागि गएको टोली उक्त बाटो भएर पार गर्न नसकेपछि बाजागाजासहितको भीड अर्को बाटो भएर जाँदै गर्दा स्थानीय मुश्लिम समुदायले अवरोध गरी विवाद सुरू गरेको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए।
शाहका अनुसार पहिले तय गरिएको बाटो साँघुरो भएको कारण लक्ष्मीमुर्तिलाई सोही बाटो पठाएर डिजेसहितको अर्को समूह खतिजा मदरसा रहेको झण्डानगरको बाटो हुँदै बढैया पोखरीतर्फ आउँदै थियो।
डिजेसहितको जुलुस रहे पनि बाजागाजा र नाचगान नगरी आएको जुलुसलाई स्थानीय केही मुस्लिम युवाले अवरोध गरी विवाद सुरु गरेको शाहले दाबी गरे। नगरप्रमुख शाहले सार्वजनिक सडक सबैका साझा र सरकारी रहेकोले यसमा कसैले कसैलाई पनि रोकतोक गर्न नपाइने बताए।
यता अल नेपाल मुस्लिम संगठनका केन्द्रीय अध्यक्ष सेराज फारुकीले भने स्थानीय प्रशासन र समुदायबीचमा सहमति गरी रूट तय गरिए पनि फरक रूटबाट मुर्ति विसर्जनको लागि लैजान खोज्दा विवाद उत्पन्न भएको बताए।
उनले मदरसा तथा मस्जिद रहेको स्थानबाट दुर्गा तथा लक्ष्मीका मुर्ति विसर्जन गर्ने बहानामा चर्को आवाजमा गीत बजाउँदै र अविर छर्दै स्थानीयलाई उत्तेजित बनाउने गरिएको आरोप लगाए।
अध्यक्ष फारुकीले भारतीय सीमा क्षेत्रबाट आएका व्यक्तिहरूले दुई समुदायबीचको विवादमा फाइदा उठाउँदै आएको बताए। उनले प्रहरी प्रशासनले घटनालाई साम्य बनाउनुको साटो गोली चलाएर झनै उक्साउने काम गरेको बताए। उक्त झडपमा परी केही स्थानीय र प्रहरी समेत घाइते भएका छन्।
विषय सामान्य भए पनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको बुझाइ छ। प्रहरीले झडपलाई नियन्त्रण गर्न बुधबारमात्र ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।
बिहीबार बिहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय, पश्चिमतर्फ ७ सय, पूर्वतर्फ ३ सय मिटरमा कर्फ्यू लगाइएको जनाएको छ।