परराष्ट्र तथा सीमा क्षेत्रका जानकार साध्य बहादुर भण्डारीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।
सो प्रतिवेदनमा नेपालको पश्चिम सिमाना लिम्पियाधुरासम्म रहेको उल्लेख गरिएकोले सार्वजनिक गर्न सरकारलाई आग्रह गरे।
दुवै देशका प्रवुद्ध व्यक्ति समूहको बैठकले नेपाल र भारतको सीमासम्बन्धी विस्तृत सुझाव सहितको प्रतिवेदन तयार गरे पनि भारतले उक्त प्रतिवेदन नबुझेको भन्दै उनले नेपालले प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा जोड दिए।
रिपोटर्स क्लबले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले इपिजीको प्रतिवेदन, सीमा क्षेत्रका स्थानीयले मालपोत र कुतमा बुझाउँदै आएको तिरो तथा नेपालको नक्सा समेत लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको जमिन हो भन्ने प्रमाण र तथ्यको रुपमा रहेको बताए।
‘भारतको हेपाहा र मिचाहा प्रवृत्तिका अगाडि नेपाल सरकारले यो जमिन हाम्रो हो भन्न नसक्नु दुःखद हो’ उनले भने। नागरिकसँग रहेका तथ्य र प्रमाणलाई लिएर भए पनि भारतबाट अतिक्रमित जमिन फिर्ता गराउन कुटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले सरकारको कुटनीतिक पहलबाट समस्या समाधान हुन नसके अन्तर्राष्ट्रिय स्तरमा जानुपर्नेमा जोड दिए।
उनले भारतीय एसएसबीले हालसम्म सीमाक्षेत्रका १३ जनाको गोली हानी हत्या गरेको भन्दै भारतले जहिले पनि नेपाल र नेपालीको अस्तित्वमाथि धावा बोलिरहेको बताए। उनले सीमा क्षेत्रमा १ लाख बढी एसएसबी फौज राखिएको कार्यप्रति पनि भत्सर्ना गरे। लेखक दिल साहनीले नेपालको मिचिएको जग्गाको लागि जनदवाव र अन्तर्राष्ट्रियकरण जरुरी रहेको बताए।
सो अवसरमा अधिवक्ता महेन्द्र पाण्डेले सीमाको विषय सधैलाई निको बनाउने गरी सरकारले कुटनीतिक क्षमता प्रदर्शन गर्नुपर्ने बताए। सीमाको विषय कुनै दल र सरकारको मात्र नभई राष्ट्रको भएकोले सबै दल एकजुट भएर सीमा रक्षाको लागि उभिनुपर्ने बताए।
अर्का लेखक ऋषि आजादले भारतीय दादागिरीको सामु नडराई १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हटाउनुपर्ने बताए। कालापानीको विषयमा सीमाविद बुद्धिनारायण श्रेष्ठको भनाई उदृत गर्दै आजादले भारतले नेपालको ११ लाख ७९ हजार रोपनी जमिन मिचेको दावी गरे।
श्रेष्ठका अनुसार कालापानी, लिम्पियाधुरा क्षेत्र नेपाल र भारतबाट चीनको स्वसासित तिब्बतको ताक्लाकोट व्यापारिक केन्द्रतर्फ जाने प्रमुख मार्ग हो।
भारत-चीन युद्ध हुँदा भारतीय फौज लिपुलेक भञ्याङ्गबाट चीनको भूभाग तर्फ बढेको थियो।
तर चिनियाँ सेनाले एकाएक लखेटेपछि भारतीय फौज पछि हटेर नेपालको कालापानी, गुँजी, कुटी जस्ता ठाउँमा क्याम्प बनाई बसेकोमा हालसम्म पनि नेपाली जमिन ओगटेर बसिरहेको छ। यसरी मिचिएको नेपालको जमिन करिव ७ लाख ४४ हजार रोपनी रहेको सीमाविद्हरु बताउँछन्।
यस्तै कन्चनपुर, कैलाली, वर्दिया, बाँके, दाङ्ग, कपिलवस्तु, रूपन्देही, नवलपरासी, चितवन, पर्सा, रौतहट, सर्लाही, सिराहा, सप्तरी, सुनसरी, मोरङ्ग, झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग लगायत भारतसँग सिमा जोडिएका २६ जिल्लामध्ये २१ जिल्लाका ५३ ठाउँमा नेपाली भूभाग मिचिएको छ।
पुर्वदेखि पश्चिमसम्म मिचिएको भूभागको क्षेत्रफल ११ लाख ७९ हजार रोपनी भएको अनुमान गरिएको छ। यसमध्ये कालापानी लिम्पियाधुरा क्षेत्रको मात्रै ७ लाख ४४ हजार रोपनी, झापा जिल्लाको करिव ३२ हजार रोपनी र बाँकी अन्य विभिन्न जिल्लाका करीव ४ लाख ३ हजार रोपनी रहेको सीमाविदहरु बताउँछन्।