मंसिर १४ गते हुने उपनिर्वाचनको लागि दाङमा दलहरु यतिबेला घर दैलोमा व्यस्त छन्। घरघरमा पुगेर दलहरुले मतदातासँग आ–आफ्नो पक्षमा भोट माग्दै हिँडेका छन्। दाङमा विभिन्न १२ दल र दुई स्वतन्त्र गरी १४ जना प्रदेशसभा सदस्य पदका लागि निर्वाचनमा होमिएका छन्।
आइतबार दिउँसोसम्म उम्मेदवारी फिर्ता लिन सक्ने सुविधा प्रदान गरिए पनि निर्धारित समयसम्म कोही पनि आफ्नो उम्मेदवारी फिर्ताको लागि नआएको जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
उम्मेदवारको घरदेखि पार्टी कार्यालयसम्म सुरक्षा व्यवस्था
मंसिर १४ गते जिल्लाको निर्वाचन क्षेत्र नं ३ (२) मा प्रदेशसभा सदस्यका लागि र घोराही उपमहानगरपालिका वडा नं १६ मा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ। जिल्लाका यी दुई वटा क्षेत्रको निर्वाचनमा ३४ वटा निर्वाचन स्थल छन्। स्थानीय सुरक्षा समितिले तिमध्ये ६ वटा निर्वाचनस्थललाई अति संवेदनशील क्षेत्रमा राखेको छ।
यातायातको राम्रो पहुँच नभएका, सञ्चार माध्यमको राम्रो पहुँच नभएका, भौगोलिक कठिनाई रहेका तथा सघन जनसंख्या भएको र विगतको निर्वाचनमा भएका घटनाका आधारमा ती क्षेत्रलाई स्थानीय सुरक्षा समितिले अति संवेदनशील क्षेत्रको रुपमा वर्गीकृत गरेको छ।
जिल्ला सुरक्षा समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ती स्थानहरुमा अनुगमन गर्नुको साथै सुरक्षा प्रवन्ध मिलाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए।
स्थानीय प्रशासनले प्रमुख सुरक्षा थ्रेटका रुपमा सरकारद्वारा प्रतिवन्धित विक्रमचन्द (विप्लव) समूहलाई लिएको छ। उम्मेदवारी दर्तासँगै निर्वाचनको चहलपहल बढे पनि स्थानीय प्रशासनले सुरक्षा रणनीति र सुरक्षाकर्मी परिचालनको रणनीति निर्माण गरेर काम सुरु गरेको प्रजिअ रिजालले बताए।
उनले निर्वाचनमा तीन तहको सुरक्षाव्यवस्था गरिएको जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना अन्तिम घेरामा रहेर निर्वाचनको सुरक्षा गर्नेगरी सुरक्षा प्रवन्ध मिलाइएको प्रमुख जिल्लाअधिकारी रिजालले बताए।
निर्वाचन अवधिभर पार्टीका कार्यालयहरु, उम्मेदवारको घर, उम्मेदवारको प्रचार प्रसारको सम्पर्क कार्यालय, उनीहरुका प्रचार अभियान सञ्चालन हुने ठाउँहरुमा आवश्यकताअनुसार र मागको आधारमा सुरक्षाकर्मी परिचालन हुने जिल्ला सुरक्षा समिति संयोजक रिजालले बताए। उनले आवश्यकता महसुस भएको खण्डमा बाहिरी जिल्लाबाट समेत सहयोगका लागि सुरक्षाकर्मी माग हुने बताए।
जिल्लाको घोराही वडा नं १६ र निर्वाचन क्षेत्र नं ३ (२) मा गरी ३४ मतदान स्थल र ८२ मतदान केन्द्रहरु तोकिएको छ। जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले दाङको निर्वाचन क्षेत्र नं ३ (२) मा ३२ मतदान स्थल र घोराही वडा नं १६ मा २ वटा निर्वाचन स्थल रहेको बताए।
त्यस्तै निर्वाचन क्षेत्र नं ३ (२) मा ७७ वटा मतदान केन्द्र र घोराही १६ मा ५ वटा मतदान केन्द्र रहेको जानकारी दिए।
दाङमा को को छन् उम्मेदवार ?
आगामी मंसिर १४ हुने दाङ क्षेत्र नं।३ को ९ख० मा प्रदेशसभा सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आइताबार उम्मेदवारी फिर्ता लिने समय तोकिएपनि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिएनन्। नेकपा, नेपाली कांग्रेस लगायतका दलहरुले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसका तर्फबाट केशवकुमार शर्मा आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। उनले नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीको प्रस्तावक र क्षेत्र नं। ३ का सभापति जगतबहादुर खड्काको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै नेकपाबाट क्षेत्र नं ३ (२) प्रदेशसभा सदस्यमा विमला कुमारी खत्री (वली)ले उम्मेदवारी दर्ता गराएकी छिन्। उनले नेकपाका पुराना नेता शोभाराम बस्नेतको प्रस्तावक तथा मेघनाथ शाह समर्थकमा उम्मेदवारी दर्ता गराएकी हुन्।
साना पार्टी मध्य राप्रपाको तर्फबाट भुपाल रावत, साझा पार्टीबाट शिबकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फवाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, नेपाली कांग्रेस (बिपी)बाट दीपककुमार धिताल चुनावी प्रतिस्पर्धामा उत्रिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
७३ हजार १ सय ७२ मतदाता
जिल्लाको दुई स्थानमा हुन गइरहेको उपनिर्वाचनमा कुल मतदाता संख्या ७३ हजार १ सय ७२ रहेका छन्।
तिमध्ये दाङको निर्वाचन क्षेत्र नं ३ (२) मा ६८ हजार ७ सय १९ जना मतदाता छन्। यो निर्वाचन क्षेत्रमा १ हजार ८२ जना नयाँ मतदाता थपिएका छन्। २०७४ सालमा भएको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा ६७ हजार ६ सय ३७ जना थिए।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार पुरुष मतदाताको संख्या ३३ हजार ७ सय ७८ छ भने महिला मतदाताको संख्या ३४ हजार ९ सय ४० छ। एक तेस्रो लिङ्गी मतदाता छ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १६ मा पुरुष मतदाताको संख्या २ हजार ८८ छ भने महिला मतदाताको संख्या २ हजार ३ सय ६५ छ। वडा नं १६ मा जम्मा ४ हजार ४ सय ५३ मतदाता रहेको सूचना अधिकारी कुँवरले जानकारी दिए।
अघिल्लो निर्वाचनमा यो वडामा २ हजार २ सय ८३ जना महिला मतदाता र २ हजार ७१ जना पुरुष मतदाता थिए। यो वडामा उपनिर्वाचनमा ९९ जना नयाँ मतदाता थपिएका छन्।
गत निर्वाचनमा जिल्लामा प्रदेशसभा सदस्यपदका लागि विभिन्न ६ राजनीतिक दल र एकजना स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।
अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने यो निर्वाचनमा पनि मुख्यप्रतिस्पर्धी भने सत्तासीन दल नेकपा र प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसकै बीचमा हुने आँकलन गरिएको छ।
गत माघमा सवारी दुर्घटनामा मृत्यु भएका उत्तरकुमार वलीले तत्कालीन नेकपा एमालेबाट निर्वाचन जितेका थिए। वलीले २३ हजार ९ सय ७० मत प्राप्त गरी विजय हासिल गरेका थिए।
नेपाली काँग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत प्राप्त गरेका थिए। स्वर्गीय वली र उनका निकटतम प्रतिद्वन्दी भण्डारी बीचको मतान्तर ६ हजार ४ सय ३५ रहेको थियो। तेस्रो स्थानमा रहेको नेकपा मालेका टोपबहादुर डाँगीले ९ सय १० मत मात्रै प्राप्त गरेका थिए। अन्य प्रतिस्पर्धीले १०० मत पनि पाएका थिएनन्।
यसपटक नेकपाले सवारी दुर्घटना पछि मृत्यु भएका उत्तरकुमार वलीकी पत्नी विमला वलीलाई चुनावी प्रतिपर्धामा उतारेको छ।
नेपाली काँग्रेसले नेता केशवराज आचार्यलाई उम्मेदवारको रुपमा खडा गरेको छ। आचार्यकी पत्नीको पनि झन्डै ३ वर्ष अगाडि निधन भएको थियो।