बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले गत मंसिर २ गते उम्मेदवारी दर्ता गरे पनि मंसिर ५ गते माओवादी केन्द्र र राप्रपाले उम्मेदवारी फिर्ता लिएको थियो।
माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले एमालेकी उम्मेदवार सुलोचना भण्डारीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद छ।
आफ्नो उम्मेदवारले एमाले उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादी बाजुरा जिल्ला संयोजक देवीचन्द्र बुढाले मंसिर ६ गते नै विज्ञप्ति निकालेर आपत्ति जनाएका थिए।
यसैबीच माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सुदूरपश्चिम प्रदेश ईन्चार्ज गिरिराजमणि पोखरेलले पत्र पठाएर एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई भोट हाल्न निर्देशन दिएका हुन्।
‘बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा हाम्रो पार्टीको गाउँपालिका समितिले एमालेको उम्मेदवारलाई भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएकी राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिइ एमालेको चुनाव प्रचारमा सहभागी भएको र संयोजन समितिका सचिवसहित केही जिम्मेवार कार्यकर्ता एमालेको उम्मेदवारलाई समर्थन गरी प्रचारमा हिड्नु पार्टीको केन्द्रीय नीति विपरीत छ,’ पोखरेलले लेखेको पत्रमा उल्लेख छ।
उनले समाजवादी मोर्चालाई बलियो बनाउने नीतिअनुसार समाजवादीका उम्मेदवारलाई भोट हाल्न निर्देशन दिएका हुन्।
माओवादीकी उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुअघि पार्टी गाउँपालिका कमिटी र एमाले गाउँपालिका कमिटीबीच छलफल गरेकी थिइन् भने गठबन्धन गरेर जाने सहमति बनेको थियो।
एमाले र माओवादीबीच भएको सहमतिमा २०८४ सालमा हुने स्थानीय तह चुनावमा उपाध्यक्ष, एक वडाध्यक्ष र केही वडा सदस्य पदमा माओवादीलाई एमालेले सहयोग गर्ने उल्लेख थियो।
स्वामीकार्तिकको उपाध्यक्षका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बीच प्रतिस्पर्धा हुँदैछ।
२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको २०८० माघ ४ गते निधन भएसँगै उपाध्यक्ष रिक्त छ।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा कांग्रेसकी जोशीले एक हजार ८ सय १० मत ल्याएर विजयी हुँदा एमालेकी उम्मेदवार सुलोचना भण्डारी बुढाले एक हजार ६ सय ३७ मत ल्याएकी थिइन्।
त्यसबेला कांग्रेसकी जोशीले एमालेकी बुढाभन्दा १७३ मत बढी ल्याएकी थिइन्।