उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लुम्बिनी विकास कोषको पदाधिकारीमा नियुक्ति हुनेले लुम्बिनीको विकासमा बेवास्ता गर्ने गरेको आरोप लगाएका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा निर्माण गरिएको प्रज्ञास्तुपको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले लुम्बिनी विकास कोषको पदाधिकारीमा नियुक्ति पाउनका लागि लुछाचुँडी गर्ने तर नियुक्ति पछि वेवास्ता गर्दा लुम्बिनीको विकास हुन नसकेको आरोप लगाए।
‘लुम्बिनीको रुपरंग फेरिन सकेको छैन, नियुक्ति पाउनको लागि लुछाचुँडी गर्ने तर नियुक्ति बुझेपछि वेवास्ता गर्ने परिपाटी अब बन्द हुनुपर्छ’ उनले भने।
रक्षामन्त्री पोखरेलले लुम्बिनीको विकास सबैको साझा एजेन्डा बन्नुपर्ने बताए। विगतका कमिकमजोरी देखाएर बस्नुको साटो आगामी दिन कस्तो बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा अब छलफल हुनुपर्ने उनको भनाइ छ।
बुद्धको दर्शन र बुद्धको ज्ञानलाई जनताको जीवनसँग गास्नुपर्ने भन्दै मन्त्री पोखरेलले संस्कृति, परम्परा, ज्ञान र विज्ञानका कुरालाई जनताको आवश्यकतासँग जोड्नुपर्ने बताए। ‘पर्यटनको विकास गरिरहँदा हामी निर्माण भएका संरचनामा रमाएका छौँ, त्यसलाई अहिलेको आवश्यकता र स्थानीय जनताको जीवनसँग जोड्न सकेका छैनौँ,’ उनले भने।
उनले स्थानीय र प्रदेश सरकारको तहबाट हुन सक्ने कामका लागि केन्द्रसँग मुख ताकेर बस्ने प्रवृत्ति रोक्नुपर्ने बताए। बौद्ध विश्वाविद्यालयका रजिष्ट्रार डाक्टर तिलकराम आचार्यले बुद्ध दर्शनका विद्यार्थीलाई प्रज्ञाबारे जानकारी दिन आवश्यक रहेकोले प्रज्ञा स्तुपा निर्माण गरिएको जानकारी दिए। म्यानमारबाट ७ करोडको लागतमा बुद्धको अस्तुधातु ल्याई प्रज्ञा स्तुपा निर्माण गरिएको उनले बताए।
बौद्ध विश्वविद्यालयले पिएचडीबाट सुरुवात गरी स्नातकोत्तर हुँदै स्नातकका ७ वटा कक्षाको सम्वन्धन प्राप्त गरेको उनले जानकारी दिए।
एक हजार विद्यार्थी अध्ययनरत रहेको बौद्ध विश्वविद्यालयमा बौद्व दर्शनसँगै पर्यटन व्यवस्थापन विषयको अध्ययन अनुसन्धान हुन्छ। विश्वविद्यालयको लागि लुम्बिनीमा लुम्बिनी विकास कोषले ४ बिघा र नेपाल सरकारले ५ बिघा जग्गा उपलब्ध गराएको छ। त्यस्तै देवदहमा १ सय बिघा जग्गा लिने प्रकृृया अगाडि बढेको आचार्यले जानकारी दिए।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले स्थापना गरिएको प्रज्ञा स्तुपा र त्यहाँ राखिएको अस्तु धातुले लुम्बिनीको सान बढाएको बताए। ‘अहिले जताततै बुद्ध शिक्षाको भोक जागेको छ, त्यसलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले पूरा गर्नुपर्छ’ उनले भने।
प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनीको गुरुयोजना तत्काल सम्पन्न गर्नेगरी योजना बनाउन र स्थानीय समुदायलाई स्वामित्व बोध गराउन लुम्बिनी विकास कोषलाई आग्रह गरे। संघीय सरकार मातहतमा रहेको विकासकोष मर्म अनुसार प्रदेशमा हस्तान्तरण हुनुपर्ने उनले बताए।
राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराईले स्थानीयको खुसी विना लुम्बिनीको विकास हुन नसक्ने भन्दै लुम्बिनीको पर्खाल बाहिर पनि लुम्बिनी छ भन्ने आभास दिलाउनुपर्ने बताए।
प्रदेशसभा सदस्य फकुरुद्दिन खानले लुम्बिनी आफैमा शान्तिको केन्द्र भएपनि प्रज्ञा स्तुपाको निर्माणले लुम्बिनीको सौन्दर्य बढाएको बताए। उनले शान्ति र समृद्धि एक आपसका परिपुरक भएको उल्लेख गर्दै शान्ति र समृद्धिको लागि साझा पहल थाल्न आग्रह गरे।
लुम्विनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी पर्यटनको केन्द्र मात्रै नभई बौद्व दर्शनको अध्ययन अध्यापनको केन्द्र बन्नुपर्नेमा जोड दिए। कार्यक्रममा म्यानमारकी प्रोफेसर सटट स्यान्डरले लुम्बिनी विश्वविद्यालयको विकासका लागि ९० हजार डलर हस्तान्तरण गरेकी थिइन्।