दाङको राजपुर गाउँपालिका-३ करंगा निवासी मीना बिकले बेपत्ता भएका आफ्ना श्रीमानको खोजी र जीवन रक्षा माग गर्दै निवेदन दिएकी छन्।
उनका ३१ वर्षीय पति वीरबहादुर बिक गत असोज ३० गतेदेखि सम्पर्कविहीन छन्।
पतिको जीवन रक्षाको पहल गरिदिन मीनाले अधिकारकर्मी, प्रहरी, प्रशासन, पत्रकार महासंघ, बार एसोसिएसनलगायत संस्थामा निवेदन दिएकी छन्।
मीनाको निवेदनमा आफ्ना पति सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमा लागेको उल्लेख छ।
असोज ३० गते राजपुर ४ बाट विप्लवका दाजु ‘वीरजंग’ सहित राप्ती ब्युरोका २१ नेता पक्राउ परेको थिए। वीरबहादुर सोही दिनदेखि बेपत्ता भएको मीनाले बताएकी छन्।
जिल्ला प्रहरी कार्यालय दाङको मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक राजन गौतमका अनुसार निवेदक बिकले आफ्ना पतिलाई पार्टीकै मान्छेले सुराकी गरेको आरोपमा बेपत्ता पारेको हुन सक्ने शंका व्यक्त गरेको जानकारी दिए।
‘असोज २९ गते बेलुका ४ जना मानिससँग घरमा आए केहीबेरमा उनीहरूसँगै गएका रहेछन्। उनी ३० गते बिहान साढे ५ बजेतिर फेरि घर आए। आधा घन्टा नबित्दै फोन आएपछि फेरि पार्टीका साथीले बोलाए भनेर ६ बजेतिर घरबाट गएदेखि सम्पर्कविहीन भएको निवेदनमा उल्लेख छ,’ प्रहरी निरिक्षक गौतमले भने।
अघिपछि वीरले पार्टीको काममा रहँदा पनि बेलाबेला घरमा फोन गर्ने गर्थे।
पछिल्लो समय उनले प्रयोग गर्ने मोबाइल नम्बर ९८०९८९५५९७ स्वीच अफ छ।
विप्लवले आफ्नै कार्यकर्तालाई सुराकीको आरोपमा बन्धक बनाएको तथा कारबाही गरेको भन्ने हल्ला चलेको हुँदा आफू निवेदन दिन आएको मीनाले प्रहरीलाई भनेकी छन्।
नेपाल र भारतको सीमा राजपुरबाट विप्लवका उच्च तहका नेता कार्यकर्ता पक्राउ परेलगत्तै सुराकी गरेको आशंकामा आफ्नै चार जना कार्यकर्तालाई उक्त समूहले कारबाही स्वरूप बन्धक बनाएको सूचना सेतोपाटीलाई प्राप्त भएको थियो।
बेपत्ता पारिएका भनिएकामध्ये बाँकी तीन जनाका परिवार अझै प्रहरीको सम्पर्कमा आएका छैनन्।
भएको के थियो?
प्रहरीलाई सूचना दिएर दाङको राजापुरबाट पार्टीका २१ जना नेता पक्राउ गराएको आरोपमा उक्त पार्टीले चार जना आफ्नै कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो।
पार्टी अनुसन्धानबाट ती कार्यकर्ताले ‘गद्दारी’ गरेको पुष्टि भइसकेको एक केन्द्रीय नेताले सेतोपाटीलाई बताए।
‘अब उनीहरूलाई के-कस्तो कारबाही गर्ने पार्टीले तय गर्छ,’ उनले भने।
ती नेताले दाङको राजापुरमा भएको पार्टी बैठकका लागि सुरक्षामा खटिएका केही कार्यकर्ताले नै प्रहरीका लागि सुराकीको काम गरेपछि नेताहरू पक्राउ परेको जनाए।
राजापुरबाट असोज ३० गते विप्लवका दाजु ‘वीरजंग’ सहित राप्ती ब्युरोका २१ जना माथिल्लो तहका नेता पक्राउ परेका थिए। उनीहरूलाई राजपुरको जंगल क्षेत्रमा एकान्त पर्ने घरमा राति सुतिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।
विप्लव समूहका ती नेताका अनुसार सुरक्षामा खटिएका केही कार्यकर्ताले नै प्रहरीलाई नेताहरू सुतिरहेको ठाँउसम्म पुर्याउन सहयोग गरेका थिए।
‘नेताहरू सुतिरहेको ठाउँको सुरक्षामा एक किलोमिटर टाढासम्म कार्यकर्ता खटिएका थिए,’ ती नेताले भने, ‘सबैभन्दा टाढाको सेन्ट्रीमा बसेको कार्यकर्ता नै प्रहरीको सुराकी परेछ, उसलै नेताहरू सम्म पुग्न अर्कै बाटो देखाइदियो।’
विप्लवका कार्यकर्ता कसरी प्रहरीको सुराकी बन्न पुगे भन्ने प्रश्नमा उनले प्रहरीले सुरूदेखि नै घुसपेठ गरेको आशंका गरे।
‘उनीहरू प्रहरीकै योजनाअनुसार हाम्रो पार्टीमा घुसेको हाम्रो विश्लेषण छ,’ उनले भने।
ती कार्यकर्ता सुरूमा बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा सरसामान तथा लागुपदार्थ ओसारपसार गर्ने गरेको पनि उनले आरोप लगाए।
ती युवालाई पक्रिएर नेकपा विप्लवको सुराकी गर्ने शर्तमा प्रहरीले छाडेको आशंका उनले गरे।
‘उनीहरू लामो समयदेखि हाम्रो सम्पर्कमा थिए। पार्टीले पनि स-सानो जिम्मेवारी दिँदै गयो। उनीहरूले पूरा गर्दै गए,’ उनले भने, ‘पार्टीका आन्तरिक बैठकमा पनि उनीहरूलाई आउजाउको समस्या थिएन।’
त्यसैले तीमध्ये केही युवा असोज ३० गते राजापुरमा राप्ती ब्युरोको बैठक चलिरहँदा नेताहरूको सुरक्षामा खटिएको उनले बताए।
‘सेन्ट्री बसेकै युवाले प्रहरीलाई बैठकस्थल र त्यहाँ कमरेड वीरजंग समेत रहेको भन्ने सूचना दिएका थिए भन्ने अनुसन्धानले पुष्टि भइसकेको छ,’ ती नेताले भने।
प्रहरीले चन्द सुतेकै घरलाई लक्षित गरेर घेरा हालेपछि वरपरको घरमा सुतेका अन्य नेताहरू भाग्न सफल भएको उनले बताए। प्यूठान, रोल्पा, सल्यान र रूकुम जिल्लाका इञ्चार्ज र सेक्रेटरी भाग्न सफल भएको उनको दाबी छ।
ती चार युवाले आफूले सुराकी गरेको स्वीकार गरिसकेको पनि उनले बताए। पार्टीमाथि गद्दारी गर्नेहरूलाई रिपोर्टसहित हेडक्वार्टरमा बुझाइसकेको उनले जानकारी दिए।
‘उनीहरुलाई कस्तो कारबाही गर्ने हेडक्वार्टरले टुंगो लगाउँछ,’ उनले भने।