प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रदेश ५ को नामाकरण र राजधानी तोक्न ढिलाई नगर्न आग्रह गरेका छन्।
विभिन्न बहानामा राजधानी तोक्ने विषयलाई अल्झाएर अन्यत्र लैजाने चलखेल भइरहेको भन्दै नेता खाणले राजधानी बुटवलबाट अन्यत्र तोकिए त्यसको परिणाम थेग्न नसकिने बताए।
बुटवलमा बुधवारदेखि शुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै नेता खाणले भने ‘कतिपयलाई बुटवल राजधानी चित्त बुझेको छैन, यहाँबाट राजधानी सार्न पर्दा पछाडिबाट गतिविधि भएका छन्, त्यस्तो गतिविधि भयो भने त्यसको परिणाम थेग्न सक्नुहुन्न।’
उनले राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, व्यापारिक र ऐतिहासिक महत्वसँगै उद्योग, व्यवसाय, यातायात लगायत क्षेत्रको सुगमतालाई हेरेर बुटवललाई अस्थायी राजधानी तोकिएको बताए। अब यसलाई स्थायी घोषणा गर्न प्रदेशसभालाई उनले आग्रह गरे।
‘बेलहिया भन्सार नाका, अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धजन्मस्थल लुम्बिनीको नजिकमा रहेकोले पनि प्रदेश राजधानीका लागि सबैभन्दा उपयुक्त छ’ उनले भने।
नेता खाणले सरकारले व्यवसायीको लगानी सुरक्षित गर्न नसक्दा लगानीकर्तामा निराशा आएको बताए। उनले लगानी, व्यवसाय र जनताको सम्पत्तिको सुरक्षाको सुनिश्चितता सबैको प्रतिवद्धता रहेको भन्दै सोही अनुसार अगाडि बढ्न सरकारलाई आग्रह गरे।
बुटवलमा संचालित औद्योगिक व्यापार मेलाले उद्योगी व्यवसायीलाई लगानीको लागि उत्प्रेरित गर्न सघाउ पुर्याउने उनको भनाइ छ। व्यापार मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले मुलुकको अर्थतन्त्र सुधारका लागि औद्योगिक विकास, रोजगारी प्रवद्र्धन, उद्यमशिलता, कृषिमा आधुनिकीकरण, प्रविधिको प्रयोग र व्यवसायिक विकास तथा पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको बताए।
लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने नाराका साथ यही पुसको २३ गतेसम्म सञ्चालन हुने मेलामा तराईदेखि हिमालसम्मका कृषि, गार्मेन्ट, होटल, इलेक्ट्रोनिक्स, प्रविधी तथा परामर्श, हस्तकला, अटो, महिला उद्यमी, पर्यटन लगायतका ५ सय स्टल सहभागी छन्।
मेलामा ५ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १५ करोडको आर्थिक कारोवार हुने आयोजकको लक्ष्य छ। बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा शुरु भएको मेलामा पानीबाट चल्ने गाडीसहितको प्रविधि प्रदर्शन गरिएको छ। लुम्बिनीदेखि रेसुङगासम्मको आकर्षक नमूना प्रदर्शन गरिएको छ।
यसअघिका व्यापार मेला बुटवल १० बुटवल मण्डपमा संचालन हुँदै आएकोमा मण्डपमा स्थायी प्रदर्शनी केन्द्र निर्माणको काम चलिरहेकोले यसवर्ष देविनगरमा व्यापार मेला संचालन गरिएको हो।
व्यापार मेला उद्घाटनको अवसरमा विभिन्न समुहले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।