प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको विस्तारका लागि सटरहरु भत्काउने काममा भएको अवरोधप्रति आक्रोश व्यक्त गरेका छन्।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको वार्षिकोत्सव तथा सातौं स्थापना दिवसका अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रादेशिक अस्पतालको विकासको काममा व्यवसायिक संघसंस्थाहरुले समेत असहयोग गरेको गुनासो गरे।
अस्पताल सुधार र विस्तारका लागि सरकारले योजना ल्याउँदा संघसंस्थाहरुले व्यवसायीलाई बोकेर जिल्ला अदालत जाने गरेको तर सार्वजनिक समारोहमा ठूला ठूला भाषण गर्ने भन्दै आलोचना गरे। ‘सरकारले योजना ल्याउँदा व्यवसायीलाई बोकेर अदालत जाने, विकासको काममा अवरोध गर्ने, भाषण गर्दा भने समृद्धिको नारा लगाउने ?’ उनको आक्रोस थियो।
मुख्यमन्त्री पोखरेलले प्रदेश ५ का मात्र नभई पश्चिम क्षेत्रका अधिकांश जिल्लाहरुबाट समेत दैनिक सयौं विरामी आउने अस्पतालको अवस्था देख्दा आफुलाई विरक्त लागेको बताए। अस्पतालको संरचनागत प्रबन्ध र व्यस्थापकीय कमजोरीका कारण अव्यवस्थित हाटबजार जस्तै बनेको उनले बताए।
चिकित्सकले अस्पतालमा आएका विरामीहरुलाई कमिसनको लोभमा निजी अस्पतालमा पठाउने गरेको भन्दै अब त्यस्तो परिपाटीको अन्त्य गरिने बताए। ‘अस्पतालभित्रको सेवा कसरी चलेको छ भन्ने कुरा सबैले देख्न र जान्न पाउनुपर्छ, त्यसो हुन सकेमात्र अस्पतालभित्र बसेर निजी अस्पतालमा सुटुक्क विरामी पठाउने काम बन्द हुन्छ’ उनले भने।
मुख्यमन्त्री पोखरेलले मेडिकल कलेजहरु विधि र प्रकृयाबाट नचलेको आरोप लगाए। ‘प्रदेश ५ मा तीन वटा मेडिकल कलेज छन्, विधि र प्रकृयाबाट चलेको भए यो प्रदेश स्वास्थ्यको हव बन्ने थियो, तर स्वास्थ्यमा यो प्रदेश पछाडि छ’ उनले भने।
उनले विद्यार्थी पढाएर अस्पताल संचालन गर्छु भन्ने सपना नदेख्न पनि आग्रह गरे। ‘पहिले अस्पताल राम्रोसँग चलाउनुस्, त्यसपछि मात्र विद्यार्थी पढाउने कुरा गर्नुस्, विद्यार्थी पढाएर अस्पताल चलाउने सपना नदेख्नुस्।’
उनले कतिपय निजी अस्पतालले एम्बुलेन्स चालकलाई कमिसन दिएर विरामी किन्ने गरेका कारण बुटवल बदनाम हुंदै गएको आरोप लगाए। ‘बिरामी ल्याउने एम्बुलेन्स र व्यक्तिलाई कमिसन दिने अस्पतालले बिरामीलाई कस्तो सेवा गर्छ होला?’ उनले प्रश्न गरे। ‘कमिसन दिएर विरामी किन्नेमा पहिले चितवन बदनाम थियो, अहिले बुटवल बदनाम हुँदैछ’ उनले भने।
प्रदेशभित्रै विशेषज्ञ सेवा सहित सुविधा सम्पन्न अस्पताल संचालन गर्न सम्भव रहेको भन्दै मुख्यमन्त्री पोखरेलले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्तरोउन्नतिका लागि प्रदेश सरकारले सहकार्य र सहयोग गर्ने बताए।
कार्यक्रममा अस्पतालका अध्यक्ष एजाज आलमले विरामीको चापको कारण अहिले रहेको अस्पतालको भवन सांघुरो भएको भन्दै तिलोत्तमा नगरपालिकामा प्रस्तावित जग्गा प्राप्ती हुनासाथ भवन निर्माणको काम सुरु गर्ने बताए।
उनले डायलाईसिसका विरामीहरुको असुविधालाई मध्यनजर गर्दै स्याङजाको वालिङ, पाल्पा, र दाङको लमहीमा डायलाईसिस सेन्टर संचालन गर्न लागिएको जानकारी दिए।
कार्यक्रममा प्रदेशसभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, अस्पतालका निर्देशक डा. समिर गौतम, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्की लगायतले विरामीहरुको चापको आधारमा अस्पताल सांघुरो भएकोले छिटो भन्दा छिटो अन्यत्र विस्तार गर्न आग्रह गरे।