प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सहरी क्षेत्रमा हुने सवारी जामको नियन्त्रणका लागि साना सवारीको व्यवस्थापन र नियन्त्रण गर्न निर्देशन दिएका छन्।
साना सवारी साधनको अनियन्त्रित आयात यातायात व्यवस्थापनको समस्या मात्र नभई सडक दुर्घटनाको कारण समेत भएको भन्दै उनले अनुमति नभई संचालनमा आउने सवारी साधनलाई कार्वाहीको दायरामा ल्याउन आग्रह गरे।
आन्तरीक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीसहित आइतबार बसेको सडक सुरक्षा सम्वन्धी बैठकमा प्रदेश ५ का प्रमुख सचिव, प्रदेश प्रहरी प्रमुख, यातायात व्यवसायी, सुरक्षित यात्रा अभियान नेपालका प्रतिनिधी समेत सहभागी थिए।
पोखरेलले आफूलाई प्राप्त जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिए। ‘प्रदेश भित्र प्रवेश गर्ने सवारी साधनको चेकजाँचलाई कडाई गर्नुस्, सवारी साधनको प्राविधिक अवस्था र चालकको स्वास्थ्य अवस्थाबारे समयसमयमा परीक्षण गर्नुस्’ उनले भने।
सडकमा क्षमता भन्दा बढी भार बोकेका सवारी साधनहरु गुडिरहेको भन्दै उनले चेकजाँच गर्न आग्रह गरे। यात्रुहरुलाई प्रस्थान बिन्दु वा बसपार्कबाट सडकको अवस्थासँगै यात्रामा अपनाउनु पर्ने सावधानीबारे जानकारी गराएर मात्र यात्रा सुरु गर्ने ब्यवस्था मिलाउन यातायात व्यवसायीलाई आग्रह गरे।
‘यात्रा सुरु गर्नुपुर्व प्रस्थान बिन्दुमै यात्रुहरुलाई यात्रामा अपनाउनु पर्ने सावधानी र यात्राको अवधिबारे जानकारी दिनुस्’ उनले भने । मुख्यमन्त्री पोखरेलले दुर्घटनाका सम्भावित स्थानहरुको पहिचान गरी संकेत राख्न र प्रयोगमा रहेका सिसिटिभी क्यामराहरुको उपयोग गर्न पनि निर्देशन दिए।
‘हामीसँग रहेका सिसिटिभी क्यामराको सदुपयोग गरौं, सडकमा गल्ती गरेको पाईए घर पुगेर भएपनि जरिवाना गरौं कसैले उम्किन नपाओस, यसले एउटा सन्देश प्रवाह गर्छ’ उनले भने।
मुख्यमन्त्री पोखरेलले ट्राफिक प्रहरीको पारदर्शिता प्रति जनगुनासो र आशंका बढेको बताउँदै सवारी साधनको चेकजाँच गर्ने स्थानमा सिसिटिभी क्यामरा जडान गरेर पारदर्शी हुन समेत निर्देशन दिए।